सभामुख महरा र पूर्वसभामुख दमननाथ ढुङ्गानाबीच भेटवार्ता
काठमाडौं, २२ चैत । सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गर्नुभएको छ । सभामुख महराले आज (बिहीबार)बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो । भेटमा पूर्वसभामुख ढुङ्गानाले संघीय संसद प्रतिनिधि सभाको पहिलो सभामुखमा सर्वसम्मत भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रतिनिधि सभाले अहिले उपयुक्त नेतृत्व पाएको पूर्वसभामुख ढुङ्गानाले बताउनुभयो । ‘तपाईंको व्यक्तित्व अनुसार नै सुहाउने पद हो यो, पूर्वसभामुख ढुङ्गानाले भन्नुभयो, ‘तपाईंले सत्ता पक्ष र प्रतिपक्षलाई मिलाएर लिन सक्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ अब संसदलाई कस्तो बनाउने भन्ने कुरा सभामुखको हातमा रहेको भन्दै ढुङ्गानाले संसदलाई साँच्चिकै जनताको आवाज बोल्ने प्रतिनिधि संस्थाको रुपमा विकास हुनेमा आशा गरेको बताउनुभयो । सो अवसरमा सभामुख महराले पूर्व सभामुख ढुङ्गानालाई विगतको अनुभवसहित सल्लाह, सुझाव र सहयोग गर्न अनुरोध गर्नुभयो । २०४८ सालमा पहिलोपटक आफू सांसद हुँदाको स्मरण गर्दै सभामुख महराले भन्नुभयो, ‘मेरो पहिलो सभामुख नै तपाईं हो । तपाईंबाट मलाई धेरै सहयोग हुनेछ भन्ने आशा गरेको छु । तपाईंले विगतमा खेलेको भूमिका र अनुभवले मेरो जिम्मेवारी पूरा गर्न धेरै सजिलो हुन्छ भन्ने लागेको छ ।’ पूर्वसभामुख ढुङ्गानासँगको भेटघाटमा अधिकारकर्मीहरु पद्मरत्न तुलाधर, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक लगायतको पनि उपस्थिति रहेको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed