पक्राउ परेका आफ्ना नेताको रिहाई माग गर्दै विप्लवले गर्‍यो बन्द

नुवाकोट, चैत २० । पक्राउ परेका आफ्ना नेताको रिहाई माग गर्दै नुवाकोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलवार गरेको बन्दको आंशिक प्रभाव परेको छ । नुवाकोटका जननिर्वाचित जनप्रतिनिधिलाई तत्काल पदबाट राजीनामा दिन उर्दी जारी गरेपछि पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द गरेको हो । विप्लव नेतृत्वको नेकपाले चैत पहिलो साता निर्वाचित जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन उर्दी जारी गरेपछि प्रहरीले वुधबार दलका नुवाकोट प्रमुख विन्तोष सिलवाल अशोकलाई पक्राउ गरेको थियो । त्यसैको विरोधमा नुवाकोट बन्द गरिएको हो । बन्दका कारण नुवाकोटमा लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चलेनन् । स्थानीय बिदुर, बट्टार, त्रिशूली, देवीघाटलगायतका बजार खुले भने यात्रुवाहक गाडी नचले पनि स्थानीयबजारमा सामान बोेकेका गाडीहरु गुडेका थिए । बन्दका कारण लामो दुरीको पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ, त्रिशूली–धुन्चे, त्रिशूली–गल्छी तथा त्रिशूली–छहरे–शिवपुरी सडकमार्गमा यात्रुबाहक यातायात नगुडेपछि यात्रुहरुलाई समस्या परेको छ । बन्दका क्रममा अप्रिय घटना नभएपनि पासाङ ल्हामु सडकमार्ग अन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा शंकास्पद बस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली बिदुरबाट बेलकोट पुगेर शंकास्पद वस्तु डिस्पोजल गरेको नेपाली सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी अन्जनकुमार रुपाखेतिले जानकारी दिए । Facebook Comments