ताजा अपडेट

सेनाका १९ जना नक्कली परीक्षार्थी पक्राउ

          |   112 Views   |   Published Date : 25th March 2018 |

a

महेन्द्रनगरः सैनिक जवान पदको लिखित परीक्षामा १९ जना नक्कली परीक्षार्थी फेला परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अरुको नाममा परीक्षामा सहभागी उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सञ्चालन भइरहेको परीक्षामा पक्राउ गरिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लोक सेवा आयोगले सैनिक पदको लागि लिखित परीक्षा सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेटीले सूचनाको आधारमा पक्राउ गरिएको बताए । ‘हामीलाई विशेष सूचना आयो’ उनले भने, ‘परीक्षा हलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो’ ।

डिएसपी सेटीले पक्राउ परेका नक्कली परीक्षार्थीहरुलाई कानुनी कारबाही अगाडी बढाइएको बताए । ‘हामीले लोकसेवा आयोगसँग छलफल गरेर थप प्रक्रिया अघि बढाउछौं’, उनले भने ।

नियमानुसार जसको नामबाट परीक्षा दिइएको हो, उक्त व्यक्तिले समेत ५ वर्षसम्म लोकसेवाका कुनैपनि परीक्षामा सहभागी हुन नपाउने प्रावधान छ । नक्कली परीक्षार्थी र सम्बन्धित परीक्षार्थी दुवैलाई उक्त कारवाही हुने प्रावधान रहेको लोकसेवा आयोगले जनाएको छ । शारीरिक परीक्षणमा उत्र्तीण भएकालाई शनिबार लिखित परीक्षामा सहभागी गराइएको हो ।

लोकसेवा आयोग महेन्द्रनगर कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार शनिबार ४ सय ८० जना परीक्षार्थी सहभागी थिए । बिहान १० बजेदेखि सुरु परीक्षामा केन्द्राध्यक्षले चेकजाँच गर्ने क्रममा १९ जना नक्कली भएको फेला परेको कार्यालयले जनाएको छ । परीक्षा दिन लगाउने र दिने दुवैको विवरण केन्द्रीय कार्यालयमा पठाएपछि केन्द्रले नै कारवाहीको निर्णय गर्ने महेन्द्रनगरस्थित कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१