वडा सदस्यले बहिस्कार गरेपछि घोराहीको नगरसभा स्थगित
नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सेवा सुविधा अन्र्तगत तलव तोकिने र निर्वाचित नै भएका वडा सदस्यहरुको सेवा सुविधाहरु केही पनि नभएको भन्दै वडा सदस्यहरुले माग राख्दै आएका थिए । साथै नगर सभाले पास गर्नु पर्ने कार्यविधिहरु छलफल विना नै निर्माण भएको र आफुहरुले अध्ययन गर्ने समय नै नदिएर पास गर्न खोजेको भन्दै नगरसभाबाट बाहिरिएका थिए ।
‘सुविधाको विषय कि सबैलाई हुनु पर्छ । हैन भने कसैलाई हुनुहुन्न । कसैलाई काखा र कसैलाई पाखा गर्ने परिपाटीले भोलीका दिनहरुमा राम्रो गर्दैन ।’ वडा नम्बर १५ का वडा सदस्य दीपिल डिसीले भन्नुभयो, ‘नगर सभामा पास गर्न ल्याईएका कार्यविधिहरु जवरजस्ती पास गर्न खोजेपछि हामी बाहिर निस्केका हौँ ।’ कार्यविधि अध्ययन गर्न आफूहरुलाई एक साताका समय दिनु पर्ने उहाको भनाई छ । वडा नम्बर ४ का दलित महिला सदस्य लिला गोतामेले पनि आफुहरुले सेवा सुविधाको विषयलाई उठाउदै आएको भएपनि सुनुवाई नभएको बताउनुभयो ।
मेयर नरुलाल चौधरीले भने वडा सदस्यहरुले बहिस्कार नगरेको बताउनुभयो । आजको नगरसभामा एजेण्डा मात्रै प्रस्तुत गरेर स्थगित गरीएको जानकारी गराउनु भयो । उहाले अर्को सभा १६ गते बोलाईएको समेत जानकारी गराउनु भएको छ ।


Leave a comment