ताजा अपडेट

राजधानीका कारण विकास हुँदैन भन्ने मानसिकताबाट मुक्त हुनुहोस्–मुख्यमन्त्री पोख्रेल

          |   179 Views   |   Published Date : 24th March 2018 |

29514162_871891132995959_1979021804_o दाङ, चैत  । प्रदेशनम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी नभएका कारण दाङको विकास हुँदैन भन्ने मानसिकताबाट मुक्त हुन दङालीहरु आग्रह गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘राजधानी नभएका कारण दाङको विकास हुँदैन भन्ने मानसिकताबाट दङालीहरु मुक्त हुन आवश्यक छ । दाङको विकासको जिम्मे हामीले लिएका छौं । यहाँको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकासका लागि हामी लागिपरेका छौं ।’


प्रदेशनम्वर पाँचको अस्थायी राजधानी बुटवल तोकिएपछि दङालीहरुमा देखिएको निरासालाई सम्बोधन गर्दै पोख्रेलले दाङमा अथेष्ट सम्भावनाहरु रहेकाले यहाँको विकासका लागि राजधानी नै हुनुपर्छ भन्ने विषय नभएको प्रष्ट पार्नुभयो । तर, उहाँले प्रदेशको राजधानीको विषय भने टुंगो नलागिसकेको बताउनुभयो । अस्थायी राजधानी बुटवल हुँदैमा नआत्तिन आग्रह गर्दै मुख्यमन्त्री पोख्रेलले त्यो विषयलाई टुंगो लगाउन प्रदेश सभा र प्रदेशसभाको दुई तिहाई बहुमतमा निर्भर हुने जानकारी दिनुभयो ।
मुलुकलाई समृद्ध बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘मुलुकमा अब समृद्धि र विकासको यात्रा सुरु भएको छ । जनताले चाहे अनुसारको विकास गर्नका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ ।’
व्यवस्था र संक्रमणको बीचबाट विगतमा व्यवस्थित विकास हुन नसकेको भन्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘व्यवस्था र संक्रमणकालिन परिस्थितिका कारण विगतमा जन आकांक्षा अनुसारको विकास हुन सकेको थिएन । अधिकार स्थानीय सरकारमा आइसकेकाले अब व्यवस्थित योजनाका साथ स्थानीय तहहरु अगाडि बढ्नुपर्छ । स्थानीय तहको क्रियाशीलतामा नै अबको विकास र समृद्धि भर पर्न हुँदा स्थानीय तहले आफ्नो क्रियाशीलता बढाउनुपर्छ ।’
संविधान कार्यान्वयनमा आउने क्रममा मुलुकमा सम्पूर्ण सरकारी संयन्त्र निर्माण भइसकेकाले अब कानुन निर्माणमा जोड दिनुपर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले तीन वटा सरकार र पाँच अधिकारको सूचिभित्र रहेर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । ‘संविधान कार्यान्वयनमा आइसकेको छ । अब कानुन निर्माणको क्रम सुरु भएको छ ।

यस्तो अवस्थामा स्थानीय तहले कानुन निर्माण गर्दा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई मध्यनजर गर्दै पाँच अधिकारका सूचिभित्र रहेर कानुन निर्माण गर्नुपर्छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘कानुन निर्माण गर्दा आर्थिक व्ययभार कम हुने, संघ, प्रदेश र स्थानीय तहका बीचमा अधिकार दोहोरिन नहुने र अन्तर्राष्ट्रिय स्तरमा रहेका कानुनी मान्यतालाई ख्याल गर्नुपर्छ । नत्र भने स्थानीय तहहरु असफल हुने सम्भावना बढेर जान्छ ।’
स्थानीय तहहरु विगतका गाविस र नगरपालिकाको जगमा उभिएकाले बदलिदो परिस्थितिमा अगाडि बढाउन कठिनाई भएको भन्दै मुख्यमन्त्री पोख्रेलले जनशक्ति र भौतिक पूर्वाधारको अभावमा स्थानीय तहहरुलाई व्यवस्थित गर्न नसकिएको बताउनुभयो । ‘बदलिदो परिस्थितिमा स्थानीयहरुलाई व्यवस्थित गर्न जनशक्ति र पूर्वाधारको अभाव खट्किएको छ । भरखरै सम्पन्न मुख्यमन्त्रीहरुको बैठकमा मैले सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु । यी दुवै समस्या छिट्टै समाधान हुने विश्वास गर्न सकिन्छ ।’
अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर स्थानीय तहहरु अगाडि बढ्नुपर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले आफ्नो पहिचान स्थापित गर्नतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । स्थानीय तहको कानुन निर्माण र कर्मचारी व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमा निहीत रहेकाले पाँचनम्वर प्रदेशमा यी दुवै कार्यलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नतर्फ आफू लागिपरेको पोख्रेलले बताउनुभयो ।

पाँचनम्वर प्रदेश मुलुककै विशेषता बोकेको प्रदेश भएकाले यसको समृद्धिका लागि प्रदेश सरकारले गुरुयोजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१