ताजा अपडेट

‘माल्दिभ्समा आफ्नै दाजुभाइलाई लुट्दै छन् नेपालीले’

          |   135 Views   |   Published Date : 24th March 2018 |

Maldives-Nepali_fI5pL43LNR.jpg.1000x606_q70_crop-,0

चैत १० | स्वदेशमा रोजगारीको अवसर नहुँदा आज धेरै नेपाली कामको सिलसिलामा विभिन्न देश पुगेका छन्। युवायुवतीहरु खाडी मुलुकदेखि विकसित मुलुकसम्म जाने क्रम बढ्दो छ। नेपालीहरु रोजगारीका लागि जाने सबै मुलुकमा नेपाल सरकारले आफ्नो दूतावास राख्ने गरेको पाइन्छ। यसका साथै सरकार र उक्त देशबीच श्रम सम्झौता पनि गरिएको हुन्छ।

जसले गर्दा रोजगारीको लागि जाने नेपालीहरुलाई उक्त देशमा जान लाग्ने खर्च, उनीहरूको सुरक्षा, बसोबास आदिको लेखाजोखा सम्बन्धित देशमा रहेको नेपाली दूतावासले सजिलै गरिदिन्छ। यदि उक्त देशमा कामदारलाई केही गाह्रो-साह्रो परेमा नेपाली दूतावासले पहलकदमी लिन सक्छ।

तर, विडम्बना भन्नुपर्छ, जहाँ हजारौं नेपालीले रोजगारी गरिरहेको एक देशमा नेपाल सरकारको दूतावास छैन। त्यो देश हो, माल्दिभ्स। यहाँ करिब आठ/नौ हजार नेपालीले रोजगारी गरिरहेकोमा यो संख्या पछिल्लो समय बढ्दो क्रममा छ।

नेपाली कामदारले केही समस्या परेमा आफ्नो कुरा बताउन न दूतावास छ, न त नेपाल सरकारको कुनै समन्वयकर्ता नै। दूतावास नहुँदा धेरै नेपालीले विभिन्न बहानामा नेपालीलाई नै ठगिरहेको देख्न र सुन्न पाइन्छ।

यहाँ दलालको काम गर्ने कैयौं नेपाली छन्, जसले कामदारको एजेन्सीको काम गर्ने नाममा सोझासाझा नेपालीलाई अमेरिका जस्तै देश भन्दै डलरमा तलब थाप्न पाइने लोभ देखाएर सामान्य तीन सय डलर तलबको काममा लगाउन दुईदेखि तीन लाखसम्म असुल्ने गर्छन्। डलरमा तलब पाइने आश्वासन देखाएर यहाँबाट भीसा निकाली सोझासाझा युवालाई कम तलबमा काम गर्न बाध्य पारिएको धेरै देख्न पाइन्छ। त्यस्तो आश्वासन र प्रलोभनमा परी चर्को रकम तिरेर माल्दिभ्स आउने नेपालीमध्ये कतिपय त डिप्रेसनको सिकार भएका छन्।

दाङका एक युवा नेपालमा बोर्डिङ स्कुलको शिक्षकको जागिर छाडेर माल्दिभ्समा महिनाको ६/७ सय डलर कमाइ हुने भन्दै आएका थिए। तर, यहाँ आइसकेपछि मासिक तीन सय डलर मात्र हात पर्दा राति निद्रा पर्न छाडेको उनी सुनाउँछन्।

‘दलाललाई चर्को रकम बुझाएर आएँ। अहिलेकै कमाइले त यहाँ आउन लिएको ऋण तिर्नै दुई वर्ष लाग्नेभो’, चिन्तित मुद्रामा उनले भने।

जनकपुरका अर्का युवक एक महिनाअघि मात्र मासिक चार सय डलर तलब हुने दलालको आश्वासनमा परेर सेक्युरिटी गार्डको काम गर्न आए। दुई लाख पचास हजार खर्चेर माल्दिभ्स आउँदा कम्पनीले जम्मा साढे दुई सय डलर मात्र दिएको भन्दै उनले आक्रोश पोखे।

‘घरको आर्थिक अवस्था कमजोर भएकाले ऋण गरेर आएँ। तर, तलब भनेजति पाइएन’, उनले आँखा टिलपिल पारेर सुनाए, ‘दलालसँग कुरा गर्दा तैंले मलाई पैसा दिएको प्रमाण के छ भन्दै उल्टै हप्कायो। ऋण सम्झिएर साढे दुई सय डलर तलबमा दिनको बाह्र घन्टा काम गरिरहेको छु।’

यस्तो आपत् पर्दा पनि आफ्नो पीडा सुनाउने निकाय परदेशमा नभएको उनी बताउँछन्। नेपाली दूतावास नभएकाले यहाँ कति नेपाली दु:खमा काम गरिरहेका छन्, कति नेपालीलाई नेपालीले नै ठगिरहेका छन् भन्ने कुनै खोजखबर छैन।

विगत १२ वर्षदेखि माल्दिभ्समा काम गर्दै आएका नेपालगन्जका सन्तोष थापा भन्छन्, ‘यहाँ हाम्रो देशको दूताबास नभएकाले धेरै नेपाली नेपालीबाटै ठगिएका छन। थोरै तलबमा काम गर्न चर्को रकम तिरेर आउने धेरै नेपाली दाजुभाइ मैले देखेको छु।’

कामका लागि पैसा दिएको भनेर आफूसँग कुनै प्रमाण नहुँदा कम तलबमै खुरुखुर काम गर्नुपर्ने बाध्यता रहन्छ। दूतावास नहुँदा माल्दिभ्समा रहेका नेपालीहरुले स्वदेशबाट कलाकारहरु बोलाएर कार्यक्रम गर्न समेत समस्या रहेको उनले बताए।

माल्दिभ्समा दस वर्षदेखि ड्राइभिङ पेसा गर्दै आएका बर्दियाका केशव चालिसेको पनि उस्तै दुखेसो छ।

‘यहाँ दूतावास नहुँदा नेपालीहरुले भोगेका समस्याहरू हेरेर समाधानको पहल गरिदिने कुनै उपाय हुँदैन। ठगी र जालझेलमा पर्दा हाम्रा कैयौं दाजुभाइ डिप्रेसनबाट ग्रस्त हुँदै काम गर्न बाध्य छन्’, उनले भने।

माल्दिभ्समा कामदार पठाउन नेपालमा अझैसम्म मेनपावर एजेन्सी छैन। अन्य देशहरुको रोजगारीका लागि विज्ञापन निकालेर मात्र नेपाली युवालाई मेनपावर कम्पनीहरुले पठाउने गर्छन्। जसले गर्दा रोजगारीमा जानेहरुले सबै बुझेर, विचार गरेर जाने मौका पाउँछन्। तर, माल्दिभ्समा भने यहाँ काम गरिरहेका नेपालीले नै रोजगारदाता एजेन्सीसँग सम्पर्क गरेर नेपालबाट इच्छुक मानिसको खोजी गर्दै भीसा पठाएर चर्को रकम असुल्ने गर्छन्।

वैदेशिक रोजगारीबारे नेपालमा अरु देशको समाचार आउने गरे पनि माल्दिभ्समा रोजगारीको अवस्था कस्तो छ, नेपाली युवाले कस्तो अवस्थामा काम गरिरहेका छन् भनेर खासै चर्चा गरिएको पाइँदैन। यसै कारण एकपछि अर्को युवा महँगो रकम तिरेर माल्दिभ्स आइरहेका छन्। माल्दिभ्समा नेपाल सरकारले कहिले खोल्ने हो दूतावास? कहिले अन्त्य हुने हो ठगिने र बेखबर भइरहने अवस्था?

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१