जग्गा प्लटिङ रोक्छौँ- मन्त्री केसी
उनले पाँच वर्षभित्र पाँच नम्वर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरिएकाले खेतीयोग्य जग्गा प्लटिङ गरेर बस्ती बसाल्ने काम भइरहेको भन्दै त्यसबारे ठोस निर्णय लिइने बताए। ‘जग्गा प्लटिङ रोक्छौँ, तर मैले मात्रै भनेर हुँदैन, यसमा सबैलाई समेटेर निर्णयमा पुग्छौं’, उनले भने, ‘१५/२० वर्षपछि खेतीयोग्य जमिन भेट्न मुस्किल पर्छ।’
नेपाल पशुपक्षी व्यवसायी संघ प्रदेश ५ को प्रथम भेलालाई दाङको लमहीमा सम्बोधन गर्दै उनले प्रदेशमा पशुपक्षीको औषधालय स्थापना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुने बताए।
मन्त्री केसीले किसानहरुको जीवनस्तर सुधार गर्दै पशुपक्षीको उपचारमा सहज पहुँचका लागि ध्यान दिनुपर्ने बताए। ‘कृषि क्षेत्र नै हाम्रो प्रदेशको विकासको आधार हो, त्यसका लागि यही प्रदेशमा ठुलाठुला औषधालय उद्योगहरु खोल्नुपर्छ’, उनले भने, ‘तपाईँ व्यवसायीहरुले सेयर लगाउनुस्, त्यसमा सरकारले पनि सहयोग गर्छ र उद्योग खोलेर किसानलाई पशुपंक्षीको उपचारमा सहजता ल्याउनुपर्छ।’
प्रदेश ५ बाट विदेश गएकाहरुलाई आफ्नो क्षेत्रमा फर्कन मन्त्री केसीले अपिल गरे। ‘प्रदेश विकासको खाका बनाउँदै छौं, यो खाका बनाउन सहयोग गर्न डाक्टर, इञ्जिनियरहरु, प्राज्ञिक व्यक्तिहरुको खाँचो पर्छ। बाहिर गएकाहरुलाई फर्किन अपिल गर्दछु’, उनले भने, ‘स्वयमसेवी भावना सबैमा जाग्नुपर्छ र सरकारले यसमा ध्यान दिएको छ।’
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रीय सदस्य बाबुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङले व्यवसायिक मर्यादा कायम गर्न आफूहरुको पहल रहने बताए।


Leave a comment