जरुरी महत्वका कानुन निर्माण प्राथमिकतामा–सभामुख महरा
दाङ, चैत । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताउनु भएको छ ।
घोराही उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख महराले भन्नुभयो, ‘मुलुकमा पहिलोपल्ट संघीय संरचना लागु भएकाले यसलाई व्यवस्थित गर्न विभिन्न नियम कानुन बनाउनुपर्ने छ । हाम्रो पहिलो काम भनेकै ऐन कानुन निर्माण गर्ने र लागु गर्ने हुनेछ ।’
स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माण आफूहरु जुट्ने भन्दै सभामुख महराले भन्नुभयो, ‘सरकारले यो वर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुनेछ ।’
जनप्रतिनिधिको भूमिकामा आफू कत्ति पनि पछाडि नहट्ने भन्दै दाङ क्षेत्रनम्वर २ बा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महराले भन्नुभयो, ‘मैले जनप्रतिनिधिको भूमिका कत्ति पनि कमी हुन दिने छैन । मेरो फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब म साझा व्यक्तित्व भएकाले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने प्रयास गर्नेछु ।’
राष्ट्रको हीत हुने काममा सधैँ लाग्ने प्रण गर्दै महराले कुनै दलको भूमिकामा आफू उपस्थित नहुने बताउनुभयो । ‘म हिजो कुनै दजल विशेषबाट निर्वाचनमा होमिएको थिएँ र विजयी भएको थिएँ । अब म साझा भूमिकामा छु’, सभामुख महराले भन्नुभयो, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दलविशेषका पक्षमा गतिविधि हुने छैनन् ।’
सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिबद्धताहरु पुरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । समग्र दाङको बिकासमा आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उहाँले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । यसैबीच मंगलबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमको आयोजना गरी सभामुख कृष्णबहादुर महरालाई स्वागत सम्मान गरेको छ ।
उक्त अवसरमा बोल्दै सभामुख महराले अबको दशकलाई विकास र समृद्धिको दशकका रुपमा लिनुपर्ने बताउनुभयो । मुलकमा अधिकारको लडाई समाप्त भइसकेकाले अब समृद्धिमा सबै लाग्नुपर्ने भन्दै महराले व्यवसायीहरुले सरकारको सहयोगीको भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘संविधान पूर्ण रुपमा कार्यान्वयनमा आइसकेकाले मुलुककमा अधिकार प्राप्तिको लडाई सकिएको छ ।
अब समृद्धि र विकासको यात्रा तय गर्नुपर्छ’, सभापति महराले भन्नुभयो, ‘मुलुकको परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका उद्योगी व्यवसायीहरुले समृद्धिको यात्रामा सरकारको सहयात्रीको भूमिका खेल्नुपर्छ ।’

Leave a comment