प्रदेश ५ः मन्त्रिपषिद् विस्तार
बुटवल, चैत । प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोख्रेलले तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शंकर पोख्रेलले सोही दिन नेकपा (माओवादी केन्द्र) का कुलप्रसाद केसी र नेकपा (एमाले) का वैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
मन्त्रीमा सोमबार नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीका सुदर्शन बराल (सामाजिक विकास) हुनुहन्छ । नवनियुक्त मन्त्रीलाई सोमबार प्रदेश नै प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गर्नुभयो ।
उत्पादकत्व वृद्धि गरिने
पदबहाली गर्दै उद्योगमन्त्री गिरीले औद्योगिकीकरण र पर्यटन प्रवद्र्धनसँगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ । उहाँले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्ययोजना बनाउने निर्णय गर्नुभएको छ ।
सो मन्त्रालयबाट सम्पादन हुने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकार भएकाहरुको संलग्नता र सहभागिता हुने गरी मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य शर्त भएकाले सोहीअनुरुप काम गर्न निर्देशन दिनुभयो । सामाजिक विकासमन्त्री बरालले पदवहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दैै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताउनुभयो ।
लघुवित्त तथा शिक्षा क्षेत्रमा सक्रिय
भूमि व्यवस्थापनमन्त्री पौडेल २०४१ सालदेखि त्रिभुवन उमावि कोहलपुर (बाँके) मा अनेरास्ववियूको संगठित भई वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएको हो । त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै एमालेको राजनीतिमा निरन्तर सक्रिय हुँदा उहाँले अखिल नेपाल महिला संघको क्षेत्रदेखि प्रदेशसम्मको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
लद्युवित्त तथा शिक्षा क्षेत्रमा आबद्ध भई यसको विकासमा सक्रिय मन्त्री पौडेलको बाँकेको कोहलपुर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका छ । उहाँ प्रदेशसभामा बाँके जिल्ला क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष चुनाव जित्ने एमालेतर्फबाट एक मात्र महिला हुनुहुन्छ ।

Leave a comment