विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिन माग
दाङ, फागुन । दाङका विद्यार्थीहरुले सवारी साधनहरुबाट ४५ प्रतिशत छुट नपाएको गुनासो गरेका छन । सरकारले विद्यार्थीहरुलाई सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्दा ४५ प्रतिशत छुट दिने निर्णय गरेको भए पनि दाङका यातायात साधनहरुले विद्यार्थीहरुलाई छुट नदिने गरेको विद्यार्थीहरुले बताएका छन् ।
यातायातका साधनहरुमा यात्रा गर्दा विद्यार्थीहरुलाई छुट दिने निर्णयको तत्काल कार्यान्वयन गर्नका लागि जिल्लाका दुई विद्यार्थी संगठनहरुले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयलगायतका विभिन्न सम्बन्धित कार्यालयहरुमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले नेपाल सरकार, यातायात व्यवसायी र विद्यार्थी संगठनहरु बीचमा भएको सहमति कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै यस विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष विरवल खड्का र अखिल क्रान्तिकारीका जिल्ला संयोजक जंग रोकाले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बझाउनु भएको हो ।
‘दाङमा लामो समय भयो । यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने व्यवस्था अन्य जिल्लाहरुमा कार्यान्वयन भइरहेको छ । तर, दाङमा कार्यान्वयन हुन सकेको छैन’, अनेरास्ववियुका अध्यक्ष खड्काले भन्नुभयो । यो विषयमा पटक–पटक छलफल भएर सरकारले यातायात व्यवसायीहरुसँग समन्वय गरे निर्णय गरेको विषय भएको भन्दै जिल्लामा यातायात व्यवसायीहरुको ईमान्दारिता नदेखिएको अलिख क्रान्तिकारीका जिल्ला संयोजक रोकाले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष विरवल खड्का, अखिल क्रान्तिकारीका जिल्ला संयोजक जंग रोका, अनेरास्ववियुका प्रचार विभाग प्रमुख वर्षात भण्डारी, अनुशासन विभागका प्रमुख रविन्द्र डाँगी र राप्ती बबई क्याम्पसका ईकाई प्रमुख रविन वलीलगायतले ज्ञापनपत्र बझाउनु भएको थियो ।
ज्ञापनपत्रको बोदार्थमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, तुलसीपुर मिनी तथा माइक्रो बस व्यवसायी समिति, कालिका मालिका यातायात प्रालि, साहारा यातायात प्रालिलाई राखिएको छ ।

Leave a comment