दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ

सुनसरी, फागुन २८ । प्रहरीले सुनसरीको इटहरीबाट दुई थान पेस्तोल र खुकुरीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई आइतबार हतियारसहित पक्राउ गरिएको हो । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई आइतबार अपरान्ह ३ बजे पक्राउ गरेको हो । प्रहरीले शेर्पाको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल दुई थान, गोली ४ राउण्ड, म्याग्जिन र १ थान खुकुरी, नगद एक लाख तीन हजार पाँच सय रुपैया, ६ थान एटिएम कार्ड र परिचयपत्र बरामद भएको जनाएको छ । शेर्पालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । Facebook Comments