ताजा अपडेट

पूर्ण प्रविधियुक्त बन्दै दाङका विद्यालयहरु

          |   175 Views   |   Published Date : 12th March 2018 |

aek दाङ, फागुन  । विद्यालयमा ई–शिक्षा कार्यक्रम लागु भएपछि माध्यमिक विद्यालय रझेनाकी शोभा विष्टको दैनिकी बदलिएको छ । गृहकार्य गर्दा लामो समय खर्चने शोभा हिजो आज सजिलैसँग गृहकार्य गर्न थाल्नुभएको छ ।


कक्षामा प्रोजेक्टरको माध्यमबाट पढाई हुन थालेपछि पाठ सजिलै बुझिने भएकाले गृहकार्य गर्न सजिलो भएको शोभाको भनाई छ । घोराही उपमहानगरपालिका वडानम्वर–१८ स्थित विद्यालयले यस वर्षदेखि विद्यालयलाई प्रविधियुक्त बनाएको छ । विद्यालयका प्रधानाध्यापक उद्दव न्यौपानेले यस शैक्षिक शत्रदेखि विद्यालयलाई प्रविधियुक्त बनाएको बताउनुभयो । ‘विद्यालयमा ई–शिक्षा कार्यक्रम लागु गरेका छौं । आगामी शैक्षिक शत्रदेखि विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाउने छौं ।’


विद्यालयलाई प्रविधियुक्त बनाउने कार्यमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालय धेरै अगाडि देखिएका छन् । जिल्लाको घोराही–१८ स्थित लिटल एञ्जल विद्यालयले सम्पूर्ण गतिविधि प्रविधियुक्त बनाएको छ । विद्यार्थी हाजिरी, गृहकार्य, रिजल्ट, लेखा प्रणाली र वसलाई प्रविधियुक्त बनाएको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिनुभयो । ‘हरेक कक्षा शिक्षकले मोवाइलमार्फत् विद्यार्थीको हाजिरी गर्नुहुन्छ । कक्षामा अनुपस्थित विद्यार्थीको अभिभावकलाई म्यासेज जान्छ । यस्तो हुँदा कक्षा छाड्ने विद्यार्थीको संख्या न्यून हुँदै गएको छ’, प्रिन्सिपल गिरीले भन्नुभयो, ‘गृहकार्य, रिजल्टलगायतका सम्पूर्ण शैक्षिक गतिविधिलाई पूर्ण प्रविधियुक्त बनाएका छौं ।’
विद्यालयको गतिविधिबाट आफूहरु अत्यन्तै हर्षित भएको कक्षा ८ की मनिषा कँवर बताउनुहुन्छ । विद्यालयको स्कूल अनलाइनमा हरेक विद्यार्थीलाई एडमिन बनाएर व्यक्तिगत पेज बनाइदिएको र यसैमा शिक्षकहरुले गृहकार्य फरवार्ड गरिदिने हुँदा गृहकार्य गर्न सजिलो हुने भन्दै विद्यार्थी मनिषाले आफूहरुले पेजमै गृहकार्य गरेर शिक्षकलाई फरवार्ड गर्ने गरेको बताउनुभयो ।
विद्यार्थी मात्र होइन अभिभावकहरु समेत विद्यालयको गतिविधिबाट लाभान्वित भएको घोराही–१८ की सीता पुनले जानकारी दिनुभयो । आफ्नी छोरीले कक्षा ७ मा अध्ययन गरिरहेको भन्दै अभिभावक सीताले भन्नुभयो, ‘मेरी छोरी कक्षा ७ मा पढ्दैछिन् । उनको होमवर्क, रिजल्ट, शूल्कबारे सम्पूर्ण जानकारी घरमै बसिबसी हेर्न पाएका छौं ।’
घोराहीको लिटल एञ्जल जस्तै तुलसीपुरको हिमाल एकाडेमी र हाम्रो पहुँच सेकेण्डरी विद्यालय पनि पूर्ण प्रविधियुक्त भएका छन् । विज वल्र्ड इन्टरनेशनल प्रालिसँग समन्वय गरेर चालु शैक्षिक शत्रदेखि विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाएको भन्दै हिमाल एमाडेमीका प्रिन्सिपल मधुसुदन केसीले विद्यार्थी, शिक्षक र अभिभावकलाई पूर्ण प्रविधियुक्त बनाउँदै गएको बताउनुभयो । ‘हरेक कक्षा शिक्षकहरुले विद्यार्थीको हाजिरी मोवाइलमार्फत् गर्नुहुन्छ । होमवर्क अनलाइनमार्फत् दिनुहुन्छ । अभिभावकहरुले अनलाइनमार्फत् होमवर्क, शूल्क विवरण, रिजल्ट, अतिरिक्त क्रियाकलाप हेर्नुहुन्छ’, प्रिन्सिपल केसीले भन्नुभयो ।
विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक जस्तै स्वयं शिक्षकहरु पनि प्रविधियुक्त विद्यालय भएपछि खुसी भएको शिक्षक भरत केसी बताउनुहुन्छ । ‘होमवर्क नदिएको भन्ने अभिभावकको गुनासो हराउँदै गएको छ ।’ यता विद्यार्थी संयक केसीले विद्यालय पूर्ण प्रविधियुक्त बनेसँगै आफूहरुको सिकाई प्रभावकारी बन्दै गएको बताउनुभयो ।
यता विज वर्ड इन्टरनेशनल प्रालिले विद्यालयलाई प्रविधियुक्त बनाउन आफूहरुले वेव स्कुल कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ । कम्पनीका प्रबन्धक यादव गिरीले मोफसलमा आफूहरुले पहिलो पटक यो सेवा सुरु गरेको दावी गर्दै दाङलगायत पश्चिम नेपालका ३ दर्जन बढी विद्यालयमा यो सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो । दाङमै केन्द्रीय कार्यालय खोलेर वेव स्कुल कार्यक्रम सञ्चालन गरिरहेको भन्दै प्रबन्धक गिरीले आगामी वर्षदेखि पश्चिम नेपालको सुर्खेतका १३, कैलालीको धनगढीका १७, कञ्चनपुरको महेन्द्रनगरमा ११ वटा र रुकुमका ४ वटा विद्यालयमा सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो
के हो वेव स्कुल ?
विद्यालयलाई पूर्ण डिजिटलाइट गर्ने प्रविधि नै वेव स्कुल हो । यसलाई अर्को शब्दमा ‘स्कुल म्यानेजमेण्ट एण्ड इन्फरमेशन’ पनि भनिन्छ । वेव स्कुल सेवा सञ्चालन गरेका विद्यालयलाई लगइन दिइन्छ । विद्यालयहरुले वेव स्कुल लगइन गरिसकेपछि विद्यार्थी, शिक्षक र अभिभावका लागि छुट्टाछुट्टै पेज दिइएको हुन्छ । वेव स्कुलमा निम्नानुसारका सेवा रहन्छन् ।
हाजिरी
् वेव स्कुल कार्यक्रम सञ्चालन गरेका विद्यालयका शिक्षकहरुले आ–आफ्नो मोवाइलमार्फत् विद्यार्थी हाजिरी गर्ने गर्दछन् । कुनै विद्यार्थी अनुपस्थित भएमा अभिभावकको मोवाइलमा अनलाइन र सिम म्यासेज जाने गर्दछ ।
होमवर्क
यो प्रविधिमा शिक्षकले आफूले पढाउने र गृहकार्य पेजमा अपलोड गर्दछन् र पढाई सकेपछि हरेक विद्यार्थीलाई होमवर्क फरवार्ड गर्दछन् । शिक्षकले दिएको होमवर्क अभिभावक र विद्यार्थीहरुले सजिलै हेर्न सक्छन् ।
रिजल्ट
शिक्षकले परीक्षाको कापी परिक्षण गरेर नम्वर अपडेट गर्ने गर्दछन् । परीक्षा संयोजकले नम्वर परिक्षण गरेपश्चात् रिजल्ट प्रकाशित गरिन्छ । विद्यार्थी र अभिभावकले रिजल्ट घरमै बसिबसी हेर्न सक्दछन् ।
जिपिएस
गाडी भएका विद्यालयका लागि यो सेवा उपलब्ध गराइएको हुन्छ । विद्यालयले आफ्नो स्टेशन अपलोड गरेको हुन्छ । गाडी अघिल्लो स्टेशनमा आएपछि पछिल्लो अभिभावकको मोवाइलमा म्यासेज जाने गर्दछ ।
लेखा
वेव स्कुलमा विद्यालयको पूर्ण लेखा प्रणाली उपलब्ध हुन्छ । अभिभावकले तिर्न बाँकी रकम घरबाटै हेर्न सक्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१