ताजा अपडेट

रेशम चौधरी वीर अस्पतालको ‘स्पेशल क्याबिन’मा

          |   118 Views   |   Published Date : 11th March 2018 |

1980497151resham@bit

काठमाडौं- कैलाली जिल्ला कारागारमा ६ दिनदेखि आमरण अनसनमा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। धनगडीस्थित सेती अञ्चल अस्पतालले चौधरीलाई काठमाडौंमा रेफर गरेको हो।

धनगढीबाट रेफर भएका चौधरी वीर अस्पतालमा भर्ना भएका छन्। उनी वीरको स्पेशन क्याबिनमा भर्ना भएको अस्पतालका स्वास्थ्यकर्मी दीपक मुडभरीले जानकारी दिए।

अञ्चल अस्पतालमा थप उपचार सम्भव नभएको र सुविधासम्पन अस्पतालमा पठाउन आवश्यक रहेको व्यहोराको पत्र अस्पताले प्रशासनमा बुझाएपछि उनी सेती अञ्चलबाट काठमाडौं रेफर भएका हुन्।
शुक्रबार सेती अञ्चल अस्पतालमा आधा घन्टा उपचार गरेर पुनः कारागार फर्काइएका चौधरीको स्वास्थ्य अवस्थामा शनिबार पनि खराबी देखिएको थियो। शनिबार अस्पतालले उपचार सम्भव नभएको भन्दै रेफर लेखेर कागजपत्र थमाएको छ।

गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनमा बसेका थिए। टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले विभिन्न माग राख्दै अनसन जारी राखेका हुन्। अनसनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन्। उनीहरुले प्रतिनिधिसभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

यसअघि सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने प्रयास गरे पनि असफल भएपछि चौधरीले जिल्ला अदालत कैलालीमा फागुन १४ गते आत्मसमर्पण गरेका थिए।

२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

घटनालगत्तै फरार उनले मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभामा निर्वाचनमा राजपाको तर्फबाट कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिई भारी मतले विजयी भएका थिए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१