राप्ती समितिको अधिवेशन तयारी पुरा
तुलसीपुर, फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको ३७ आंै साधारणसभा तथा १७ आंै अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आज २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनको स्टेज निर्माण, प्रतिवेदन निर्माण, अतिथि आमन्त्रणलगायतका सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ ।
अधिवेशनको उद्घाटन शुक्रबार बिहान ८ वजे यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनका लागि प्रमुख अतिथि कर्माचार्यलगायतका अतिथिहरु दाङ आइसकेको समेत जनाइएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल भरका यातायात व्यवसायी समितिहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिएको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो ।
आज हुने उद्घाटनका क्रममा समितिमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी, चालक, सहचालक, हेल्पर र विभिन्न सहयोगी संस्थाहरु तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको समितिका प्रशासनिक सचिव नारायणप्रसाद न्यौपानेले बताउनुभयो ।
समितिको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दै २६ गते सम्पन्न हुने छ । अधिवेशनका लागि आज निर्वाचन समितिले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसका लागि आज २५ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
उम्मेदवारको मनोनयन दर्ता समेत हुने जनाइएको छ । जसका लागि मध्यान्ह १२ वजेदेखि दिउँसो ३ वजेसम्म समय तय गरिएको छ, भने मतदान २६ गते बिहान ९ वजेदेखि ४ वजेसम्म हुने निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका सार्वजिनक गरिए पनि सर्वसहमतिको प्रयास भने जारी रहेको बताइएको छ ।
सर्वसहमति गराउनका लागि सल्लाहकार खड्कबहादुर बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत बनेको छ । समितिले सर्वसहमतिको प्रयास पनि जारी राख्ने जनाएको छ । समितिका अध्यक्ष सुरेश हमाल र प्रशासनिक सचिव नारायण न्यौपानेले एक विज्ञप्ति जारी गरी अधिवेशन उद्घाटन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
बिहान ८ वजे समितिको प्रधान कार्यालयमा हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण व्यवसायी, पत्रकार, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, संघसंस्थाहरुलाई अनुरोध गरिएको छ ।

Leave a comment