मधुमेह : नाम एक रोग पाँच
अर्थात्, यसमा गरिने उपचार पनि फरक हुने उनीहरूको भनाइ छ । हाल विश्वका हरेक ११ जना वयस्कमध्ये एक जना मधुमेहबाट प्रभावित छन् भने यसले हृदयघात, अन्धोपन, पक्षाघात, मिर्गौलाको खराबीजस्ता जोखीमलाई समेत बढाएको छ ।
पहिलो प्रकारको (टाइप वान) मधुमेह भनेको रोग प्रतिरोधात्मक प्रणालीको कमी हो । यसले शरीरको इन्सुलिन उत्पादन घटाइदिन्छ र रगतमा चिनीको मात्रा नियन्त्रित राख्न चाहिने हर्मोनको मात्रा कम गराउँछ । दोस्रो प्रकारको (टाइप २) मधुमेह भने खराब जीवनशैलीका कारण हुने गर्छ । शरीरमा भएको बोसोले इन्सुलिनको कार्यक्षमतामा असर गर्छ । स्वीडेनस्थित लुण्ड युनिभर्सिटी डायवेटिज सेण्टर र फिनल्याण्डस्थित इन्ष्टिच्युट फर मलेकुलर मेडिसिनका अनुसन्धानकर्ताहरूले १४ हजार ७ सय ७५ जना बिरामीको अवस्था हेरेर यो निष्कर्ष निकालेका हुन् । यसमा ती बिरामीको रगत परीक्षणको विस्तृत विवरण जाँच गरिएको थियो ।
द ल्यान्सेट डायबेजिटज एण्ड एण्डोक्रिनोलोजीमा छापिएको अध्ययनअनुसार मधुमेहका बिरामीहरूलाई पाँचओटा अलग समूहमा विभाजन गर्न सकिन्छ ।
समूह १– यो मधुमेह टाइप वान जस्तै हो । यसले युवाहरूलाई बढी प्रभावित गर्छ । उनीहरू स्वस्थ नै देखिन्छन्, तर उनीहरूको इन्सुलिन उत्पादन गर्ने क्षमता घट्दै जान्छ ।
समूह २– यसमा बिरामीमा इन्सुलिनको अत्यन्त कमी हुन्छ । शुरूमा यो पनि समूह १ को जस्तै हुन्छ । युवा अवस्थामा मान्छे स्वस्थ नै देखिन्छ, तौल पनि ठीक हुन्छ, तर इन्सुलिन बनाउन भने गाह्रो भइरहेको हुन्छ, यद्यपि रोग प्रतिरक्षा प्रणालीमा भने कुनै समस्या हुँदैन ।
समूह ३– यस प्रकारका बिरामीले इन्सुलिनलाई कडा प्रतिकार गर्छन् । उनीहरूको तौल बढी हुुन्छ र इन्सुलिनको उत्पादन पनि हुन्छ, शरीरले इन्सुलिन ग्रहण गर्दैन ।
समूह ४– यो मोटोपनसँग सम्बन्धित हल्का मधुमेह हो । अत्यन्तै मोटा मानिसमा यस्तो मधुमेह पाइयो । तर, समूह ३ का बिरामीको तुलनामा यस समूहका मानिसको अवस्था सामान्य मानिसको जस्तै हुन्छन् ।
समूह ५– यस प्रकारको मधुमेह उमेर ढल्दै गएपछि हुने गर्छ । अरू समूहको मधुमेहभन्दा यस्तो मधुमेह धेरै उमेर पुगेपछि हुन्छ ।
यस अध्ययनका अनुसन्धानकर्तामध्ये एक प्राध्यापक लिफ ग्रूपले यस अनुसन्धानले सटीक औषधोपचारतर्फ महत्त्वपूर्ण पाइला चालेको बताए ।
यी पाँचमध्ये चरम डायबेटिजका तीनओटा समूहको उपचार बढी आक्रामक तरीकाले गर्नुपर्नेमा उनले जोड दिएका छन् । समूह २ मा पर्नेहरूमा अन्धोपनको जोखीम बढी हुने र समूह ३ मा पर्नेहरूमा मिर्गौलाको समस्या बढी हुने बताइएको छ ।
तर, यो अध्ययन स्काण्डिनेशियाली देशहरूमा मात्रै भएकाले यसका निष्कर्षअनुसार तुरुन्तै उपचार प्रणालीमा भने परिवर्तन नआउने आँकलन छ । विज्ञहरू अरू देशमा अध्ययन गर्दै जाने हो भने थप किसिमका मधुमेह पनि पत्ता लाग्न सक्ने सम्भावना औंल्याउँछन् । तर, यो अनुसन्धान यसमा पहिलो महत्त्वपूर्ण पाइला हो भन्नेमा सबै सहमत छन् । एजेन्सी



Leave a comment