ताजा अपडेट

दाङमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या बढ्दै

          |   125 Views   |   Published Date : 2nd March 2018 |

devorse_z5d83n5OC0

दाङ | तुलसीपुर उप–महानगरपालिका–७ की सम्झना चौधरी (नाम परिवर्तन) ले १० कक्षा पढ्दापढ्दै दिनेश केसीसँग प्रेम विवाह गरिन् । ११ कक्षामा पढ्ने दिनेशसँग विवाह गरेकी चौधरीलाई घरमा जात नमिलेको भन्दै केसी परिवारले बुहारीको रूपमा स्वीकार गरेन । विवाहपछि चौधरीलाई माइतमै छाडेर केसी विदेश गए ।

विदेश गएको दुई वर्षपछि दिनेश घर फर्किए । उनी काठमाडौं ओर्लिएकै दिन चौधरीले अर्कैसँग विवाह गरिन् । घर आइपुगेपछि केसीले चौधरीलाई खोजेरै सम्बन्ध विच्छेद गरे ।

यस्तै, घोराहीकी सुनिता (नाम परिवर्तन) सरकारी जागिरे श्रीमान् पाउँदा निकै खुसी थिइन् । घरमा नयाँ सदस्यका रूपमा छोरी जन्मिँदा पनि परिवारमा कुनै समस्या थिएन । जब सुनिताले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा राम्रो जागिर पाइन् । उनको तलब श्रीमान्को भन्दा धेरै हुन्थ्यो । घरका सामान किन्दा पति–पत्नीबीच झगडा नै हुन थाल्यो । उनीहरूको झगडा सम्बन्ध विच्छेदमा गएर टुंगियो।

सम्झना र सुनिता त उदाहरणपात्र मात्रै हुन् । दाङमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेहरूको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको बितेको साढे सात महिनाको अवधिमा ४ सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतको कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्म सम्बन्ध विच्छेदका ५२७ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्षको १५ फागुनसम्मको तथ्यांक हेर्दा ४०७ वटा मुद्दा दर्ता भएको कार्यालयका स्रेस्तेदार गम्भीर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्षको साढे सात महिनाको अवधिमा उक्त संख्यामा मुद्दा दर्ता भएको हो । यही अनुपातको आधारमा गत वर्षको तुलना गर्दा यस वर्ष संख्यामा वृद्धि भई धेरै मुद्दा दर्ता हुने आँकलन गरिएको छ ।

साउनदेखि फागुनको दोस्रो सातासम्म कार्यालयमा दर्ता भएका तथ्यांकअनुसार सबैभन्दा बढी कात्तिक महिनामा ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । कार्यालयका स्रेस्तेदार रानाका अनुसार साउनमा ४०, भदौमा ३५, असोजमा ३०, कात्तिकमा ५१, मंसिरमा ३७, पुसमा ३९, माघमा ४६ र १५ फागुनसम्म २० वटा मुद्दा दर्ता भएका छन् ।

उनका अनुसार दर्ता भएका मुद्दामध्ये हालसम्म २३४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने १७३ वटा मुद्दा फछ्र्याैट प्रक्रियामा छन् । यस्तै, गत आर्थिक वर्षको मुद्दामध्ये २३९ वटा फछ्र्याैट भइसकेका छन् भने १०९ मुद्दा फछ्र्याैट प्रक्रियामा रहेको कार्यालयले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१