होलीलाई मर्यादित बनाउन प्रहरीको आग्रह
सोमबार बिज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालयले अमर्यादित गतिविधि गर्नेलाई कडा कारबाही गरिने जनाएको छ । मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, अपरिचित व्यक्तिलाई रंग नदल्न, होली खेल्दा कसैलाई पनि दुव्र्यवहार नगर्न, सडकमा हिड्ने व्यक्तिहरुलाई रंग तथा पानी नछ्याप्न प्रहरीले आग्रह गरेको छ । स्वास्थ्यमा गम्भीर असर गर्ने खालका कुनै पनि केमिकल युक्त पदार्थहरुलाई रंगमा मिसाएर पनि होली नखेल्न आग्रह गरेको छ ।
इच्छा बिपरित रंग दलिदिने, प्लाष्टिकका लोला प्रयोग गरी जनस्वास्थ्य र वातावरण प्रदुषित गर्ने फोहोर पानी र रंग बाहेकका अन्य सामग्री प्रयोग गर्नेलगायतका धार्मिक र सांस्कृतिक मान्यता बिपरितका उच्छृङ्खल एवं छाडा र गैर कानुनी गतिविधि गरेको पाइएमा दोषी उपर प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले बताउनुभयो ।
साथै प्रहरीले होली मनाउँदा ट्राफिक सचेतना अपनाउन समेत आग्रह गरेको छ । मोटरसाइकल चलाउँदा हेलमेट अनिबार्य लगाउन, एउटा मोटरसाइकलमा दुई जना भन्दा धेरै नबस्न जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले आग्रह गर्नुभयो । साथै प्रहरीले नियम बिपरित कुनै पनि उच्छृङ्खल गतिविधिहरु नगर्न र नगराउन आग्रह गरेको छ ।



Leave a comment