ताजा अपडेट

प्रयोगात्मक शिक्षातर्फ विद्यालय

          |   191 Views   |   Published Date : 28th February 2018 |

28512402_555229254846063_2125587102_n

नवीन अभिलाषी दाङ, फागुन  । दाङका विद्यालयहरुले प्रयोगात्मक शिक्षामा जोड दिन थालेका छन् । बालबालिकाहरुको चौतर्फि विकासका लागि प्रयोगात्मक शिक्षा प्रणाली सुरु गर्न थालेको विद्यालयहरुले बताएका छन् । विद्यार्थीहरुको ईच्छा अनुसार विद्यालयहरुले विषयगत प्रयोगात्मक शिक्षामा आकर्षित गराउन थालेका छन् ।


सामुदायिक होस् या सरकारी विद्यालय, विभिन्न उत्सवको अवसरमा विद्यार्थीहरुको प्रदर्शनीले दाङका विद्यालयहरु अब प्रयोगात्मक शिक्षातर्फ अगाडि बढेको देखाउने गरेको घोराही उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख नारायण पौडेलले बताउनुभयो । ‘अब सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीहरुको विकास र आवश्यकता पुरा हुने अवस्था छैन । किनकी विकासले धेरै नै फड्को मारिसकेको छ’, शिक्षा शाखा प्रमुख पौडेलले भन्नुभयो, ‘अब विद्यार्थी आफैले प्रयोग गरेर हेर्न चाहन्छ ।’


विद्यालयको वार्षिकोत्सवदेखि विभिन्न दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका तथा आविस्कार गरेका उपकरणहरुलाई प्रदर्शनीमा राख्ने गरिएको छ । पछिल्लो समय विद्यालयहरुले विद्यार्थीको प्रदर्शनी गर्ने लहर नै चलेको छ । प्रदर्शनीको क्रममा कृषि, विज्ञान, भुगोल, गणित तथा नेपाली विषयसँग सम्बन्धित विषयमा निर्माण गरिएका उपकरण प्रदर्शनीमा राखेर हेर्न आउनेलाई विद्यार्थीहरुले बुझाउने समेत गर्छन् ।
केहि दिन अगाडि घोराहीको गुरुकुल अकाडेमीले विद्यालयमै प्रदर्शनीको आयोजना गरी विद्यार्थीहरुको क्षमता प्रदर्शन गरेको छ । किताबहरुमा पढ्नुपर्ने विषयलाई कलाको माध्यमबाट प्रस्तुत गरेको विद्यार्थीहरुले बताएका थिए । शब्दहरुको प्रयोग बुझाउनेदेखि नेपालका परम्परागत बाजाहरुको समेत विद्यार्थीहरुले स्टल निर्माण गरेर प्रदर्शनमा राखेका थिए । दिगो विकास, व्यवसायीक कृषि, नेपालको भौगोलिक बनावट, रासायनिक प्रतिक्रियाका कारण बस्तुमा पार्ने असरका बारेमा समेत विद्यार्थीहरुले विभिन्न सामग्रीहरु निर्माण गरेका थिए ।
यस्तै घोराहीका शान्ति निकेतन, भ्यालिटप, माउन्ट भ्यू, लिटिल एञ्जल, ज्योतीपुञ्जलगायतका सामुदायीक तथा निजी विद्यालयहरुले प्रयोगात्मक शिक्षालाई जोड दिने गरी प्रयोगात्मक सामग्रीहरुको प्रदर्शनी गर्दै आएका छन् । कक्षा ६ देखि १० कक्षासम्म विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने सिद्धान्तलाई बुझाउने गरी सामग्री निर्माण गर्ने गरेका छन् । ‘किताबको सैद्धान्तिक विषयलाई बुझाउन पहिले जस्तो रटाउने प्रचलन अब कम हुँदै गएको छ । विज्ञानका केहि सिद्धान्तहरुलाई सामग्री नै निर्माण गरेर विद्यार्थीहरुलाई शिक्षकले बुझाउने गरेका छन्’, प्याव्सन दाङका अध्यक्ष यादव गिरीले बताउनुभयो, ‘यसबाट किताबमा भएका कुराहरु दैनिक जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरामा विद्यार्थीहरुलाई गम्भीर बनाउँछ ।’
घोराहीका धेरैजसो विद्यालयहरुले मन्टेश्वरी कक्षा सञ्चालन गरेका छन् । ३ देखि ५ वर्ष उमेरसम्मका बालबालिकाहरुको व्यक्तित्व विकास गर्नका लागि मन्टेश्वरी कक्षामा राख्ने गरिन्छ । जहाँ बालबालिकाहरुले खेलको माध्यमबाट व्यक्तित्व विकास गर्छन् । गत श्रीपञ्चमीमा मन्टेश्वरी कक्षा उद्घाटन गरेको मावि रझेनामा खेलको प्रयोगात्मक शिक्षाबाट बालबालिकाहरुलाई अध्ययन गराइन्छ ।
घोराही सर्रामा रहेको ज्ञानमाला एक्याडेमीले प्रयोगात्मक शिक्षा विद्यालयमा सुरु नै गरिसकेको छ । विभिन्न प्रयोगहरुको माध्यमबाट बालबालिकाहरुलाई अध्ययन गराउन सुरु भइसकेको र त्यसका लागि शिक्षकलाई तालिम सुरु भएको विद्यालयका प्रबन्ध निर्देशक दुर्गालाल केसीले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१