नेवार समुदायका प्रचलित बेल विवाह दाङमा पहिलो पटक
समाजले दाङ, सल्यान, रोल्पाका १८ जना नेवार समुदायका बालिकाको शनिबार बेल विवाह गराएको छ । साथै १० जना वटुकको सामुहिक व्रतबन्ध पनि तुलसीपुरमा गरिएको छ । नेवार समुदायको कला र संस्कृतिलाई जोगाउन पहिलो पटक जिल्लामा साुमहिक रुपमा बेल विवाह गर्न लागिएको नेवार समाज तुलसीपुरका अध्यक्ष नरेशराज राजभण्डारीले बताए ।
उनले नेवार समुदायको मौलिक पहिचानको प्रवद्र्धन गर्न पहिलो पटक अञ्चल स्तरीय सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको बताए । यसलाई अर्को वर्षदेखि प्रदेश स्तरीय बनाइने उनको भनाइ छ ।
परापूर्व कालदेखि चल्दै आएका प्रचलनको निरन्तरता र पुण्य आर्जनका लागि नेवार चेलीको बेलविवाह गरिने नेवार पुरोहित
हरिशरण गुभाजुले बताए । रजस्वला हुनु भन्दा पहिले नै बेल विवाह गर्नुपर्ने उनको भनाइ छ ।
नेवार समुदायमा सूर्य र बेलसँग विवाह नगरी मानिससँग वैवाहिक सम्बन्ध जोड्नु हुँदैन भन्ने मान्यता छ । सोही कारण रजश्वला नहुँदै कन्याको बेलसँग पहिलो विवाह गराउने गरिएको अनिता राज भण्डारीले बताइन् ।
व्रत बसेका बालिकाले भगवान शिवका पुत्र कुमारको स्वरूप मानेर बेलसहित कलश, बज्र र चक्रको पूजा गर्छन र बालिकाका बुवाले कन्यादान दिने प्रचलन छ ।
बेल विवाहपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेर सूर्यदर्शन गराइन्छ । वयस्क भएपछि विजोड वर्षमै बरसँग विवाह गराइन्छ ।
बेलसँग विवाह भएका महिलाले श्रीमानको मृत्युपछि पनि सिन्दुर लगाउन वाधा नपर्ने मान्यता नेवारी संस्कृतिमा रहेको छ । यो समुदायमा पछिल्लो समय सामुहिकरुपमा बेल विवाह गर्ने प्रचलन बढेको छ । बेल विवाहपछि घर–परिवार र आफन्तले छोरी–चेलीलाई उपहार दिने चलन पनि छ ।
अन्नपुर्णबाट



Leave a comment