१९ वर्षे विद्यार्थीले गोली चलाउँदा अमेरिकाको स्कुलमा १७ जनाको मृत्यु
टेक्सास फागुन ३ | अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ। पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने समयमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्। गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। घाइते भएका दर्जनौं विद्यार्थीलाई अस्पताल लगिएको छ। बन्दुकधारी सोही स्कुलका पुर्व विद्यार्थी १९ वर्षीय निकोलस क्रुज रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन्। स्कुल रहेको ब्रोवार्ड काउन्टीका प्रहरी अधिकारी स्कट इजरायलका अनुसार बन्दुकधारीको साथमा कम्तिमा एउटा राइफल र दर्जनौं म्यागाजिन थिए। बन्दुकधारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बन्दुकधारी क्रुजलाई अनुशासनहिन भएको भन्दै उक्त स्कुलबाट निकालिएको सुरक्षा अधिकारीले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भनेका छन्, ‘अमेरिकाका स्कुलमा विद्यार्थी, शिक्षक वा कसैले पनि असुरक्षा महसुश गर्नु हुँदैन।’ अमेरिकाका स्कुलहरुमा हरेक वर्ष जसो कतै न कतै यस्ता गोलीकाण्डहरु हुँदै आएका छन्। विश्वका अन्य देशमा विरलै यस्ता घटनाहरु हुने भन्दै अमेरिकी सुरक्षा विश्लेषकहरुले फेरि पनि यस्ता घटना रोक्न सरकारले विशेष कदम चाल्नु पर्नेमा जोड दिएका छन्। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed