ताजा अपडेट

साच्चै अनौठो छ यो प्रेम भन्ने चिज पनि

          |   129 Views   |   Published Date : 14th February 2018 |

लक्ष्मण शर्मा

laxman-ss-660x330

February 14 – अर्थात भ्यालेन्टाइन डे हरेक प्रेमी प्रेमीकाको विशेष दिन, पश्चिमा मुलुकहरुमा विशेष गरेर मनाइने यस दिन अहिले संसारभर मनाउन थालिएको छ । हुन त मया भन्ने कुरा कुनै एक दिनको लागि विशेष नभएर हरेक दिन हुने गर्दछ ।

यो त भावनाको उत्कृष्ट रुप हो । यो हरेक उमेर समूहमा, हरेक उमेर समूहका एउटै वा फरक फरक व्यक्तिहरु बीच हुने गर्दछ तर यो दिनलाई विशेष गरेर प्रेमी प्रेमीकाहरुले मनाउने गर्दछन् । प्रत्येक प्रेमी प्रेमीका वा श्रीमान श्रीमतीहरु कुनै विशेष ठाउँमा गई विशेष प्रकारले आफ्ना भावनाहरु साटासाट गर्ने गर्दछन् । संसारमा मयालाई लिएर थुप्रै उपन्यासहरु लेखिएका छन् । धेरै फिल्म र गीतहरु बनेका छन् ।

धेरै भौतिक संरचनाहरु निर्माण गरिएका छन् । थुप्रै इतिहासहरु फेरिएका छन्, मेटिएका छन् । त्यसैले त मया विशेष हुने गर्दछ । मयालाई कसरी ग्रहण गर्ने वा व्यक्त गर्ने भन्ने कुरा व्यक्तिको स्वभावमा भर पर्छ । यो नितान्त व्यक्तिगत मनोभावनाको विषय हो । साँचो मया त हृदयले महसुस गर्न सक्ने हुनुपर्दछ । हृदयको हृदयसँगको संवाद नै मया हो, यो एउटा खास अनुभूती हो ।

आजभोलिका युवा पुस्ताहरु बीच देखावटी मयाको प्रचलन बढ्दो छ । मया जस्तो पवित्र चिजलाई धनसम्पत्ति सँग दाजेर हप्ता वा महिना पिच्छे प्रेमी प्रेमीका फेर्र्दै हिड्ने प्रचलनले गर्दा विकृति ल्याइएको छ । यसको पवित्रतामाथि आघात पुगेको छ । हो, जिवन सञ्चालनको लागि धनसम्पत्ति आवश्यक छ । मानिस भौतिकवादी भएको हुँदा उसको सुख र सुविधाको लागि पनि धनसम्पत्ति आनिवार्य आवश्यक छ । हरेक मानिसले आफ्नो जीवनमा सेफ ल्यान्डिङ्ग चाहन्छ । आफ्नो प्रेमी वा प्रेमीकाले आफुलाई खुशीसाथ राखोस्, सुखसाथ राखोस् भन्ने चाहन्छ । भावनामा बगेर दुई दिनको लागि प्रेम गर्नुभन्दा पहिला धेरै कुरा सोच्न आवश्यक छ । आफ्नो हैसिएत र क्षमता अनुसार प्रेमी वा प्रेमीका छानेर मया लगाउँदा मयाको पवित्रतामाथि आँच आउने थिएन ।

यद्यपि मया एउटा भावनाद्धारा गरिने विशेष अनुभुति हो । यो जसलाई, जतिबेला, जो सँग पनि हुन सक्दछ । एकोहोरो मया जसले जसलाई गर्दा पनि हुन्छ । हरेकलाई आफ्नो भावनाको अनुभुतीमा रमाउने स्वतन्त्रता छ तर मयालाई दिर्घकालसम्म टिकाइराख्न आफ्नो प्रेमी प्रेमीकाको व्यक्तिगत स्वतन् त्रतालाई सम्मान गर्दै उसको लक्ष्य र चाहनालाई पुरा गर्न सक्ने खुबी आफुसँग हुनुपर्दछ । जीवन भावना सँगसँगै व्यवहारिकतामा पनि चल्छ भन्ने यथार्थतालाई हामीले मनन् गर्नुपर्दछ ।

प्रेम र विवाह नितान्त फरक कुरा हुन् । विवाहको सम्बन्ध निजी सम्पत्तिसँग जोडिएको हुन्छ । विवाह त एउटा सम्झौता हो । त्यसैले हरेक प्रेमी र प्रेमीकाले विवाह नै गर्छन् भन्ने छैन । जो यो सम्झौतामा बाँधिन चाहन्छ, ति बीचमा मात्र विवाह हुन्छ । प्रेमी प्रेमीकाले एकअर्कालाई राम्रो सँग बुझिसकेपछि जब जीवन सँगै बिताउन सक्छौँ भन्ने विश्वास शृजना हुन्छ, तब विवाह हुन्छ । हरेक प्रेमी प्रेमीकाले आफ्नो प्रेमी प्रेमीका सँग भरसक विवाह नै गर्न चाहन्छन् ।

जो जीवनमा धेरै स्वतन्त्रता चाहन्छ र समाजको बन्धनमा बाँधिन रहर गर्दैन् ति बीचमा विवाह नहुन सक्छ । यो प्रेमी प्रेमीकाको व्यक्तिगत रुचि र चाहनाको विषय हो । संसारमा यस्ता उदाहरण धेरै छन् । फिल्म क्षेत्रमा प्रियंका र आयुष्मान, राजनीति क्षेत्रमा बाबुराम र हिसीला, खेल क्षेत्रमा दिपक र कविता, धार्मिक क्षेत्रमा असीम र दिपाञ्जली आदि इत्यादि ।

प्रेममा मान्छेलाई व्यक्तिका खास गुणहरुले आर्कषित गर्दछ । कसैलाई आर्कषक जीउडाल र सुन्दर अनुहारले, कसैलाई बौद्धिक क्षमताले, कसैलाई राम्रो बानी व्यवहारले, कसैलाई व्यक्तित्वले त कसैलाई मिठो बोली, सकारात्मक सोच र नशालु नजरले आर्कषित गर्दछ । व्यक्तिले आफ्नो स्वभाव र आचरण अनुसार गुणहरुको छनोट गर्दछ ।

जब कसैको कसैसँग प्रेम हुन्छ त्यहाँ सुन्दर सपनाहरुको परिकल्पना हुन्छ । स–सना कुराहरुमा पनि खुशी मिल्दछ । जीवन जिउने चाहना बढ्छ । केही गरी देखाउने प्रेरणा मिल्छ । जसरी शुरुवातमा पढेको क, ख, ग, घ र ब्, द्य, ऋ, म् अनि परिवारमा पहिले सिकेको संस्कार विर्सन सकिदैन त्यसरी नै पहिलो प्रेम विर्सन सकिदैन । आर्कषक जिउडाल, अद्भुत शारिरीक संरचना, सुनौलो चेहेरा, सु–संस्कारीक र सकारात्मक सोचकी धनी उनलाई म हमेसा नायिका नम्रता श्रेष्ठ जस्तो देख्दछु र छिन् पनि त्यस्तै । उनी मान्छे मात्र राम्रो होइन्, सोच पनि त्यतिकै राम्रो छ ।

उनीसँग मेरो परिचयको शृङ्खला त्यति लामो छैन यद्यपि उनी मलाई हमेसा आर्कषित लाग्छिन् र लागि रहने छिन् । उनी प्रति मेरो मनमा उच्च आदरभाव र सम्मान छ । कुनै यस्तो दिन थिएन, जहाँ उनको प्रोफाइल खोलेर त्यहाँ भएका फोटा नहेरेको होस् वा उनको फोटामा लाइक र कमेन्ट नगरेको होस् । उनले कतिबेला नयाँ फोटाहरु वा स्टाटस्हरु हाल्छिन् होला भन्ने खुलदुली लाग्दथ्यो । आजभोलि फेसबुक बन्द सँगै यी कामहरु पनि बन्द भएका छन् तर उनको याद दिलाइरहने म्यासेज र फोटाहरुले आज पनि मेरो मोबाइल भरिपूर्ण छ ।

हेलो हजुर म ……. भनेको उनको त्यो कर्णप्रिय बोली मेरो मनमा गुन्जिरहन्छ । जब हरेक साँझ उनलाई सम्झन्छु मेरो मन शान्ति र आनन्दले भरिपूर्ण हुन्छ । नबोलाउँदा पनि बारम्बार आइरहने उनका यादहरु र बिन्ती गरी बोलाउँदा पनि नबोल्ने उनका ति तस्बीरहरु, साच्चै अनौठो छ यो प्रेम भन्ने चिज पनि ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१