ताजा अपडेट

मालागेडीबाट जीवन धान्दै किसानहरु

          |   110 Views   |   Published Date : 14th February 2018 |

malagedi-660x330

टीका बस्नेत दाङ, फागुन  । दाङको बिजौरी(९ छिल्लीकोटका परवीर पुनको जीवन धान्ने गतिलो माध्यम मालागेडी अर्थात् सुगन्ध कोकीला बनेको छ । विश्वमै लोपोन्मुख जडिबुटीका रुपमा लिइने मालागेडी खेतीबाटै पुनको ५ जनाको पारिवार पालिदै आएको छ ।


धान, गहुँ, मकैलगायतका बालीको उब्जनी नहुँदा पारिवारिक गर्जो टार्न मुस्किल भइरहेको समयमा मालागेडीको आम्दानीले पुनले साँझ बिहानको गर्जो टार्नुका साथै छोराछोरीलाई गतिलो शिक्षा दिई रहनुभएको छ । आफूले उच्च शिक्षा आर्जन गर्न नपाएकोमा दुःख लाग्ने गरेको भन्दै पुनले छोराछोरीलाई उच्च शिक्षा आर्जन गराउने आफ्नो ईच्छा मालागेडीले पुरा गरिदिएको बताउनुहुन्छ ।


‘मालागेडीले पाँचजनाको परिवार पालिरहेको छु । अन्य बालीको राम्रो उत्पादन नहुँदा परिवार पाल्न गाह्रो हुन्थ्यो । तर, पछिल्ला केही वर्षहरुमा पारिवारिक लालनपालनमा सहज भइरहेको छ’, पुनले भन्नुभयो, ‘मालागेडीको आम्दानीले छोरालाई घोराहीमा ईलेक्टिूक इञ्जिनियरिङ र दुई छोरीलाई तुलसीपुरस्थित हाम्रो पहुँच बोर्डिङ स्कुलमा पढाइरहेको छु ।’ हरेक वर्ष १०÷१२ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको भन्दै पुनले यस वर्ष ७० हजारको मालागेडी बिक्रि गरेको बताउनुभयो ।
त्यस्तै छिल्लीकोटका पूर्णबहादुर पुनकोे पारिवार धान्ने माध्यम मालागेडी बनेको छ । हरेकवर्ष १४÷१५ क्विन्टलको हाराहारीमा मालगेडी बिक्री गर्ने पुनले मालागेडीबाटै परिवार पाल्दै आउनुभएको छ । उहाँले मालागेडी बेचेर यसवर्ष ९० हजार आम्दानी गरेको बताउनुभयो । त्यस्तै छिल्लीकोटकै ओमप्रकाश पुनले मालागेडीबाट आएको आम्दानीबाटै २ छोरी र १ छोरालाई गतिलो शिक्षा प्रदान गर्दै आउनुभएको छ । छोराछोरीको शिक्षाका साथै पुनको ७ जनाको परिवार पाल्ने माध्यम मालागेडी बनेको छ ।
परवीर, पूर्णबहादुर र ओमप्रकाश उदाहरण मात्रै हुनुहुन्छ, छिल्लीकोटका १ सय ५ घरपरिवार पाल्ने माध्यम मालागेडी नै बनेको छ । छिल्लीकोटबासीहरु मालागेडी खेतीबाटै पारिवारिक गर्जो टार्दै आएका छन् । अन्य बालीको उत्पादन न्यून हुने छिल्लीकोटबासीहरु मालागेडी खेतीलाई मुख्य पेशा बनाउँदै आएका छन् ।

उनीहरुले मालागेडीलाई आफू र सन्तानका आवश्यकता पुरा गर्ने माध्यम बनाउँदै आएका छन् । उनीहरु भन्छन्, ‘भौगोलिक बिकटता भएको छिल्लीकोटमा पाइने मालागेडीले हामीलाई बचाइरहेको छ । यसैबाट हामीले सन्तानहरुलाई शिक्षा आर्जन गराइरहेका छौं ।’
मालागेडी उत्पादनका लागि उपयुक्त मानिएको छिल्लीकोटका बासिन्दाहरुले २०६३ सालमा ‘सुगन्ध कोकीला संरक्षण समिति’ निर्माण गरेर मालागेडीको प्रचारप्रसार गर्दै आइरहेका छन् । समितिका संयोजक परवीर पुनले कृषकहरुलाई एकीकृत गरेर मालागेडी खेतीलाई व्यवस्थित बनाउँदै गइरहेको बताउनुभयो । ‘मालागेडी खेतीलाई व्यवस्थित बनाउन हामीले २०६३ सालमा समिति गठन गरेका थियौं ।

समिति गठन गरेपछि मालागेडीको बिक्रिबितरण गर्न सजिलो भइरहेको छ’, समितिका संयोजक पुनले भन्नुभयो । जिल्लाको घोराही, र पर्सेनीमा मालागेडीको बिक्रि गर्दै आएको भन्दै संयोजक पुनले भन्नुभयो, ‘मालागेडीको मूल्य बढ्नुको साटो हरेक वर्ष घट्दै गइरहेको छ । अत्यन्तै दुःख गरेर तयार गरेको मालागेडीले मूल्य नपाउँदा कृषकहरु निरास हुँदै गएका छौं ।’
मूल्य बृद्धि हुँदा किसानहरु हर्षित
मालागेडीले मूल्य नपाउँदा निरास भएका किसानहरु यसवर्ष भने हर्षित भएका छन् । २०४२ सालसम्म प्रतिक्विन्टल १५ हजारमा बिक्री हुँदै आएको मालागेडी ३ दशकपछि मूल्य बढ्नुको साटो ९÷१० हजार प्रतिक्विन्टलमा मात्रै बिक्रि हुँदा किसानहरु निरास बन्दै गइरहेका थिए ।

यसवर्ष मालागेडीको मूल्य बृद्धि भएर १६ हजार पुगेपछि किसानहरु हर्षित भएका छन् । सरकारले कच्चा पदार्थ बाहिर लैजान रोक लगाएका कारण मालागेडीले मूल्य नपाएको कृषकहरुको भनाइ छ । २०४२÷०४३ सालपूर्व अन्य मुलुकमा निर्यात हुने हुँदा मालागेडीले राम्रो मूल्य पाउने गरेको भन्दै कृषकहरुले उपयुक्त मूल्य प्रदान गर्न कृषकहरुले अनुरोध गरेका छन् ।
के हो मालगेडी ?
मालागेडी बहुउपयोगी जडिबुटी हो । बिश्वबाटै लोपोन्मुख अवस्थामा रहेको जडिबुटी महाभारत पर्वतको काखमा रहेको छिल्लीकोटका साथै रोल्पाको डुब्रिङ गाविस वडानम्वर(६ का गोदे, रिचेलयातका स्थानमा पाइने जानकारहरु बताउँछन् ।

५÷६ फिट अग्लो हुने मालागेडीको रुख चैत्र बैशाख महिनामा फुल्ने गर्दछ र असोज कार्तिकसम्म यसको फल पाकेपछि यसलाई सुकाएर बिक्रि गर्ने गरिन्छ । जसबाट सुगन्धित तेल बनाउने गरिन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१