ताजा अपडेट

विदेशका विद्यार्थीसँग सिकाई अनुभव साट्दै दाङका विद्यार्थीहरु

          |   78 Views   |   Published Date : 10th February 2018 |

17240619_1881089898823146_1718053492594922246_o-620x330

दाङ, माघ  । दाङको शान्ति निकेतन विद्यालयका विद्यार्थीहरुले मोरक्कोका स्थानीय पर्यटकीय स्थलको बारेमा जानकारी हासिल गरेका छन् ।

मल्टिमिडियाको माध्यमबाट मोरक्कोको ताजारिनिई सिटीस्थित सिद्धि अम्रियु हाई स्कुलका विद्यार्थीहरुसँग सिकाई अनुभव साटासाट गरिरहेका विद्यार्थीहरुले मोरक्कोका स्थानीय पर्यटकीय स्थलहरुको जानकारी हासिल गर्नुका साथै दाङका ऐतिहासिक एवं पर्यटकीय स्थानहरुको जानकारी मोरक्कोका विद्यार्थीहरुलाई गराएका छन् ।


जिल्लाको घोराही–१५ मा रहेको विद्यालयका विद्यार्थीहरुले ‘वेल कम टु घोराही’ कार्यक्रमअन्तर्गत मोरक्को र दाङका स्थानीय पर्यटकीय स्थलको जानकारी आदान प्रदान गरेको विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले ‘लोकल डान्स’, ‘फेवराइट आर्टिस्ट’, ‘प्लाष्टिक बोतलको पुनः प्रयोग’, ‘गड्यौला पालन’, ‘ज्यामितीय आकारहरु’, ‘खाद्य मिसावट’ र ‘वेल कम टु घोराही’ कार्यक्रममार्फत् नेपाल बाहिरका विद्यालयका विद्यार्थीहरुसँग सिकाई अनुभव साटासाट गरिरहेका भन्दै आई.एस.ए.कोर्डिनेटर सुनिल गौतमले यो कार्यक्रमले सिकाई प्रभावकारी भइरहेको जानकारी दिनुभयो ।
व्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड, कनेक्टिङ कलास रुम कार्यक्रमको सहयोगमा मल्टिमिडियाको माध्यमबाट सिकाई अनुभव साटासाट गरिरहेका विद्यार्थीले यस खालको सिकाई जीवन्त हुने प्रतिक्रिया दिएका छन् । शान्ति निकेतन विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा साजना थारु कुमालले अन्य देशको सिकाई अनुभव आफूले पाइरहेको प्रतिक्रिया दिनुभयो ।

‘हाम्रो सिकाई र नेपाल बाहिरको सिकाई अनुभव साटासाट गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं । पुस्तक पढेर हासिल गरेको सिप भन्दा मल्टिमिडियाको माध्यमबाट हासिल गरेको जानकारी सम्झन लायक हुने रैछ’, विद्यार्थी साजनाले भन्नुभयो, ‘कनेक्टिङ क्लास रुम’ कार्यक्रमले हाम्रो सिकाईलाई प्रभावकारी बनाएको महसुस भएको छ ।’
शान्ति निकेतन विद्यालय जस्तै जिल्लाको लिटल एञ्जल विद्यालयले पनि मल्टिमिडियाको माध्यमबाट सिकाई अनुभव साटासाट गरेको छ । श्रीलङ्काको मो. श्री पेमानन्द माध्यमिक विद्यालयसँग सिकाई अनुभव साटासाट गरेको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिनुभयो ।

‘मिटिङ एण्ड ग्रिटिङ’ कार्यक्रममार्फत् श्रीलङ्काका विद्यार्थीसँग सिकाई आदानप्रदान गरेको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो । परम्परागत तरिकाको सिकाई प्रणाली भन्दा फरक तरिकाले विद्यार्थी आफै सक्रिय भएर दुई देशका विद्यार्थी बीचको सिकाई अनुभव साटासाट गर्दा सिकाई प्रभावकारी भइरहेको गिरीको भनाई छ ।
उहाँले श्रीलङ्काकै श्री मावि बन्दरनइके विद्यालयका विद्यार्थीसँग ‘दुई सहरका साथीहरु’ कार्यक्रम सञ्चालन गरेर सिकाई आदानप्रदान गरेको जानकारी दिनुभयो ।
शान्ति निकेतन र लिटल एञ्जल त उदाहरण मात्रै हुन् । साविक मध्यपश्चिम तथा सुदूरपश्चिमका १८ वटा विद्यालयका विद्यार्थीहरुले नेपाल बाहिरका विभिन्न देशका विद्यार्थीसँग मल्टिमिडियाको माध्यमबाट सिकाई अनुभव साटासाट गरिरहेको व्रिटिस काउन्सिलका स्कुल एम्वेष्टर दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेले दाङ ७ वटा, वाँकेको एउटा, सुर्खेतका ३ वटा, कैलालीका ३ वटा, कञ्चनपुरका २ वटा र वर्दियाका २ वटा विद्यालयका विद्यार्थीहरुले नेपाल बाहिरका विभिन्न देशका विद्यार्थीहरुसँग सिकाई अनुभव आदान प्रदान गरिरहेको जानकारी दिनुभयो ।
नेपालका सबैजसो जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको बताउँदै पाण्डेले यो कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थीमा खोजेर पढ्ने बानीको विकास हुनुका साथै आफ्नो क्षमता बृद्धि गर्न विद्यार्थी आफै सक्रिय भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१