ताजा अपडेट

बदला र हठवादी चिन्तनले दुर्गती निम्त्याउँछ

          |   129 Views   |   Published Date : 10th February 2018 |

नारायणप्रसाद श्रेष्ठ

Narayan-Parshad-Shrestha

बदलाको भावना जहाँ हुन्छ, त्यहाँ मानिसको विचार र भावनामा हिँसात्मक प्रवृत्ति जागृत हुन जान्छ । मानिसले आफूले आफैलाई सम्यमित र धैर्य बनाउन सक्दैन । उसको स्वभावमा क्रूरता आइरहन्छ ।

आफ्नो र पराईको विचार सलबलाउन थाल्दछ । तेरो र मेरो स्वार्थ परक विचार प्रधानभएर आचरण र व्यवहार प्रष्टिन थाल्दछ । आफ्नो र विरानो मानषिकताले उसलाई जकड्याउँछ । रगतको नातासमेत टाढा हुन पुग्दछ । थोरै प्राप्तीको लागि धेरै गुमाएको उसले पत्तै पाउँदैन । किनकी उसको दिमागभित्र केवल स्वार्थपरक भूत सवार भैरहेको हुन्छ ।

कसरी आफ्ना भावना र विचारले उसलाई कमजोर गराई आफ्नो स्वार्थ लिने हो त्यो मात्र उसको सोँच हुन पुग्छ । जतिसुकै ग्यानी र बिद्धान भएपनि उसले आर्जन गरेको ज्ञान, सीप र कौशल निहीत स्वार्थभित्र सलबलाउन थाल्दछ । राम्रो, नराम्रो उसबाट सोँचिदैन । नत पछि यसले ल्याउने परिणामतर्फ नै उसको चिन्तन् बढ्न सक्छ ।

उसको ग्यान, बुद्धि र बिबेकमा बदलाको भावनाले ताला लगाउन पुग्दछ । साँचो के हो ? झुठ के हो ? उसको चिन्तनको विषय बन्दैन । आफैबाट निर्माण भएको समाजमा पर्ने असरबारे उ अनभिज्ञ बन्न पुग्दछ । लोभलालच र अभिमानले मत्ताह साढे झैं, उसको स्वभाव र चरित्र बन्न थाल्दछ । विषय वासनामा निर्लिप्त भई मानव आचारण समेत नगरी कर्मप्रधान सेवामूखी जीवन चरित्र भन्दा बासनालाई प्राथमिकता दिई आफूलाई प्रदर्शन गरेको अवस्था हुन्छ ।

जीवनमा आईपर्ने जतिपनि समस्याका कारणहरु छन्, ती सबै हाम्रै गलत चिन्तन्को कारणले भएको हो भन्ने समेत उसलाई बोध नभएको स्थिति रहन्छ । उ केवल देखेको बस्तु र प्राप्तिनै सत्य हो भन्ने मान्यतामा आफूलाई समर्पण गरिरहेको अवस्था हुन्छ । यसले एकातिर उसको इन्द्रिय, उसको बसदेखि बाहिर गएको हुन्छ भने अर्कोतिर मानसिक तनाले ऊ सधै उत्तारचढावमा रहि रहन्छ । यसले बस्तुनिष्ठ मानषिक आचरण बढ्न गई, काम, क्रोध, लोभ, मोह र अंहकाररुपी जालोमा उ बिस्तारै फस्दै जान्छ र अन्तमा जीवनदेखि हार खाई आफूलाई पतित र एक्लोपन महसुस गर्न पुग्दछ ।
यसरी बद्लाको भावनामा डुबेको मानषिकताले राम्रो, नराम्रो, कुनैको प्रवाह नगरि, केवल प्रतिशोधको भावनाले उ छटपटाई रहन्छ । बुद्धि र बिबेक शून्य विचारहरु प्रदर्शन गरी मानिष पसुवत व्यवहार गर्न पुग्दछ । यो किन भइरहेको छ, कँही उसकै कारणले वातावरणमा असहजता आएको त होइन, उसैको कारणले सामाजिक बिकृति त बढेको होइन ? त्यस तर्फ मानवीय चिन्तन् बढ्न सक्दैन ।

उ केवल रिस र बदलालाई बढावा दिइरहन्छ । तसर्थ यस्तो अवस्थामा गलत सोँच बृद्धि हुन नदिन समयमै बिचार र भावनामा सुद्धता ल्याउने अवस्थामा आफूलाई पु¥याउनु पर्दछ । सदसंग गर्न जरुरी हुन्छ । ज्ञान र विवेकलाई सही मार्गमा लैजाने, औचित्यपूर्ण व्यवहार गर्ने, गराउने तर्फ सामाजिक आदर्शताको समीप पुग्ने कोशिश गर्नु पर्दछ । झुठलाई साँचो र साँचोलाई झुठ के कसरी भइरहेको छ ? यो बनाउने तत्व के हो? त्यस कुराको समयमै हेक्का राखी परिकृश्त समाजको आदर्शता के रहेछ त्यो बुझ्न जरुरी हुन्छ ।

हामीलाई हाम्रो मोह र लोभले त यस्तो गरेको होइन ? लोभ मोहले ल्याएको प्रदुषणले विचारमा अशुद्धतात आएको होइन ? यस कुराको निकै गम्भीर रुपले चिन्तन गर्नुपर्दछ । दूध पोखियो भागमा भन्ने चरित्र हामी किन अपनाउन सकेनौं ? दूध (न त बाच्छाको मुखमा न त गाइको थुनामा) यस्तो हुनुको मुख्य कारण के हो ? यस विषय तिर मानिसको ध्यान जान जरुरी छ । हामी चाहन्छौं, हामी सबै कुराले पारंगत हुन सक्छौं । सृष्टिको इतिहासमा रचिएको मानव अस्तित्व आफैमा श्रेष्ठ छ भन्ने भावना राखी आफूलाई प्रस्तुत गर्ने कुरामा पनि हामी प्रतिबद्ध छौं।

तर मानव सृष्टिको सर्वोत्कृष्ट रचनाले गर्नुपर्ने कर्म र दायित्व के हामीले गर्न सफल भयौ ? कही हामीले आफ्नो दायित्व बिर्सिएको त छैनौं ? कतै आफैलाई कर्तव्यच्यूत त बनाएका छैनौं । यसतर्फ हाम्रो ध्यान नगइरहेको अवस्था छ । हाम्रो ध्यान केवल समाजलाई असर पु¥याउने राजनीतिक दाउँपेच मात्र तिर चिन्तन बढि रहेको छ । हामी किन धैर्य भएर आफूलाई प्रस्तुत गरिरहेका छैनौं । तसर्थ हामीभित्र उत्पन्न भएका यस्ता गलत सोँच र चिन्तनको कारक आफ्नै विवेक भएको बुझि पर्ख र हेर अनि अघि बढ भनि धैर्य गर्न सिक्नु पर्दछ ।
कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक क्षेत्र किन नहोस्, यी सबै मानवले आफ्नो जीवन निर्वाहको लागि बनाइएका आधार भएकोले यसलाई सोही नजरले हेरि, बुझि दायित्वबोध गर्नु पर्दछ । यदि दायित्वलाई नै धराप पर्ने गरी मानिसको विचार सलबलायो भने यसले दुरगति बाहेक अरु निम्त्याउन सक्दैन । यो सबैले बुझ्न जरुरी हुन्छ ।

त्यसको लागि कुनै पनि कार्य गर्दा समय र परिस्थितिलाई ख्याल गरेर अनावश्यक विबादित कुरा भन्दा यथार्थ सत्यलाई आत्मसात गर्न सक्नुपर्छ । बच्चा जन्माउँदाको समस्या भन्दा त्यस बच्चालाई हुर्काउन, बढाउन र त्यसको पूर्वाधार विकास गर्न जति मेहनत गर्नु पर्दछ, कठिन यात्रामा हिँड्नु पर्दछ । त्यस कुराको पहिले नै हेक्का राखी अघि बढ्नु पर्दछ ।

यसलाई यसरी नै अफ्ठ्यारो पार्छु, सेखी झार्छु भन्ने गलत मानसिकता बढाईयो भने यसले निश्चय पनि दुरगर्ती ल्याउँछ र पछि पछुताउनुपर्छ । यो सबैले बुझि राख्नु पर्दछ । विवेक शून्य भएर यदि मेरो बाख्राको बाह्र धार्नी भन्ने हठबादी चिन्तन् गरियो भने तत्कालको लागि केही नहुन सक्छ । तर यसको भविष्य अन्धकार हुन्छ, यो सत्य सबैले बुझ्नु पर्दछ ।

अर्को कुरा हठबादी चिन्तन् र बदलाको भावले गरिने जति पनि कर्म हुन्छन् ती सबै प्रतिशोधको कारण उत्पन्न भएका विचार भएकाले यस तर्फ मानव सोँच बढि जिम्मेवार भएर प्रस्तुत हुनु पर्दछ । हठबादी चिन्तन्, कहिल्यै पनि सकात्मक हुँदैन । यो केवल अरुप्रतिको इश्र्या र डाहाको कारणले उत्पन्न हुने चिन्तन् भएकाले यस तर्फ मानिसको सोँच बृद्धि हुन जरुरीछ । त्यसैले कुनै पनि घटना घट्ने पूर्व यसले के कस्तो परिणाम ल्याउँछ, त्यसको हेक्का राख्न जरुरी हुन्छ ।
अहिले नेपालको राजनीतिक परिदृश्य यसरी नै विकसित भइरहेको छ । यसले राष्ट्रले चाहेको प्रजातन्त्रको संघीयता माथि प्रश्न उठ्ने अवस्था देखिदैछ । प्रतिशोधको भावनाले राष्ट्रिय राजनीतिक फेरि तरङ्गिने त होइन ? फेरि राष्ट्रिय स्वाभिमान र अखण्डतामा प्रश्न चिन्ह उठ्ने त होइन ? राजनीतिक प्रतिशोधको कारण तराई र पहाड बीचको समझदारी शत्रुतातर्फ इंगित हुने त होइन ? यो विषय निकै गम्भीर भएर सलबलाएको छ । नेतृत्व तहको असमझदारी र हाडबिनाको मासु जिब्रोबाट लरबरिएको बोलीले कतै अराजकताको अवस्था सिर्जर्ना भइरहेको त छैन ? यस तर्फ सबै चनाखो भएर बुझ्नु परेको छ ।

नेतृत्वको असक्षमताले मुलुकमा भर्खरै मौलाउन थालेको संघीय संरचनाको पहिलो गाँसमा ढुंगा पर्नु निश्चयपनि अवसगुन हो । थोरै स्वार्थले निम्त्याएको प्रदेशको राजनीतिले क्रमशः धर्म, संस्कृति र संस्कारमा असमझदारी बढ्न गई सिंगो मुलुक यसको शिकार होला नहोला ? भाई फुट गवार लुटे भन्ने उखाख चरितार्थ होला नहोला ? मधेशको आगो ननिभ्दै प्रदेशमा सल्किएको आगो, पछि जाति र धर्म र संस्कृतितर्फ सल्कियो भने त्यसले ल्याउने परिणामको भागीदार के सबै हुन नपर्ला ?

त्यसैले राजनीतिक अंहकारले निम्तिएको वर्तमान राजनीतिक नौटंकी तत्काल समाधान गर्नेतर्फ सबैको ध्यान पुग्न जरुरी छ । जनताको इच्छा र आकंक्षा अनुसार सन्तुलित दृष्टिले नेतृत्वले सम्बोधन गर्न जरुरी छ । बुढि मरी भनि होइन, काल पल्कियो भन्ने उखान चरितार्थ हुनु राम्रो सन्देश होइन ।

त्यसैले एकले अर्कालाई क्षणिक स्वर्थको कारण सक्याउँछु भन्ने अहंकार युक्त हठबदी चिन्तनले आफैलाई समाप्त गर्न सक्छ भन्ने बुझि समस्या खडा गर्ने होइन, समाधानको विकल्प खोजी अघि बढ्नु जरुरी छ । वर्तमान यही खाजि रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१