ताजा अपडेट

राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान

          |   59 Views   |   Published Date : 9th February 2018 |

amrosc

दाङ, माघ । प्रदेशनम्वर ५ को राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृत हेमन्त रावलले दाङ देउखुरी जिल्ला अदालत परिसरमा निर्वाचित सबै सदस्यहरुलाई टीका र खादा लगाएर प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँले सबैलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिनुभयो ।


प्रदेश ५ मा एमालेले ४ तथा माओवादी र कांग्रेसले दुई÷दुई सदस्य जितेका छन् । खुलामा विजयी भएका एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायले प्रमाणपत्र ग्रहण गर्नुभयो । महिलामा विजयी एमालेबाट दाङकी कोमल ओली र रोल्पाकी मीना बुढा तथा काँग्रेसबाट दाङकी अनिता देवकोटालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


यसैगरी दलितमा विजयी एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार र अपाङ्ग तथा अल्पसंख्यक कोटामा विजयी माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । निर्वाचित सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निर्वाचन कार्यालय प्रमुख विजयकुमार कार्कीले बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रममा माओवादी नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व अर्थमन्त्री वर्षमान पुन, एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, एमाले ५ नं. प्रदेश संसदीय दलका नेता शंकर पोख्रेल लगायतका नेताहरुको सहभागिता थियो ।
प्रदेश नं. ५ मा १५ मत बदर
बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशनम्वर ५ मा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नो भोट भएका मतपत्रलाई समेत जोडिएको हुँदा बदर मत धेरै देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दलिततर्फ ७, अपाङ्ग अल्पसंख्यकतर्फ ८ गरी १५ वटा मत बदर भएको छ । ‘टिक लगाएर मत सङ्केत गर्नुपर्ने ठाउँमा १, २, ३ लेखिएको भेटियो’ मुख्य निर्वाचन अधिकृत रावलले भन्नुभयो ‘नो भोटवाला मतपत्रलाई पनि बदर मानेका छौ । त्यसैले बदर मतको संख्या बढी देखिएको हो ।’ निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका उमेदवार निर्वाचित भएका हुन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१