ताजा अपडेट

चुनिए राष्ट्रिय सभा सदस्य

          |   91 Views   |   Published Date : 8th February 2018 |

alection

नवीन अभिलाषी दाङ, माघ । प्रदेशनम्वर पाँचबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । बुधबार भएको निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका रहेका छन् ।


नेकपा एमालेबाट एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी हुनुभयो, भने अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवरले विजय प्राप्त गरेको रावलले जानकारी दिनुभयो ।


एमालेबाट रुपन्देहीका खिमलाल भट्टराईले ३ हजार ६ मतभार प्राप्त गरेर विजयी हुनुभएको हो, भने कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १८ मतभार रहेको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्काको मतभार २ हजार २ सय ८० र रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।
दलित कोटातर्फ नवलपरासीका रामखलन चमार हरिजनले ५ हजार ५ सय ८ मतभार ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ, भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका बाँके निवासी मैकुलाल वाल्मीकिको २ हजार ३ सय ७० मतभार मात्रै प्राप्त गर्नुभयो । अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवरले मतभार ५ हजार ३ सय ४० मतआएको भार प्राप्त गर्नुभयो, भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुकुम पूर्वका लुटबहादुर खत्रीको मतभार भने २ हजार ५ सय २० मात्रै आयो ।
एकल संक्रमणिय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तीनै जना उम्मेदवारहरुले एकल संक्रमणिय निर्वाचन प्रणालीअन्तर्गत ल्याउनुपर्ने मतभार भन्दा बढी मत प्राप्त गरेपछि उहाँहरु विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाबाट दाङका रश्मीराज नेपाली पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँले १ सय ३८ मतभार मात्र प्राप्त गर्नुभयो ।
दुई अनुपस्थित
दाङमा भएको प्रदेश नं. पाँचको निर्वाचनमा ३ सय ३ जनाले मतदान गरेका छन् । प्रदेशनम्वर ५ मा ३ सय ५ जना मतदातामध्ये ३ सय ३ जनाले मतदान गरेका हुन् । मतदानमा दुई जनाले सहभागी भएनन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् । प्रदेशसभाका ५५ पुरुष र ३१ महिला गरी ८६ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका १ सय १६ पुरुष र १ सय १ महिला गरी २ सय १७ ले मतदान गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । यस प्रदेशबाट निर्वाचित हुने महिला सदस्यहरु एमालेकी कोमल ओली, मिना बुढा र नेपाली कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित हुनुभएको हो ।
उत्साहजनक मतदान
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्र्तगत दाङमा भएको प्रदेश नं. ५ को निर्वाचन शान्तिपुर्ण र उत्साहजनक रुपमा भएको छ । देशका सात प्रदेशमध्ये ६ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको हो । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

६ वटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, प्रदेश नं १ को विराटनगरस्थित विरेन्द्रसभा गृहमा, प्रदेश नं ३ को ललितपुर महानगरपालिका–४ को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान भएको थियो ।
प्रदेश नम्वर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्वर ६ को सुर्खेत जिल्लाको वीरेन्द्र नगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेशनम्वर ७ मा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवन केन्द्रमा मतदान भएको हो ।
आज प्रमाण पत्र बितरण
राष्ट्रिय सभा सदस्यमा निर्वाचितहरुलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहिबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमै प्रमाणपत्र वितरण गर्ने बताएको छ । निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई विजयी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा उपस्थितिका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१