ताजा अपडेट

छोपी राखेको काठको बाकसको ढोका हटाउँदै भित्र चिहाएकी मात्र के हुन्छिन की बिखेको शव देखेर आँगन मै अचेतमा ढल्न पुग्छिन।

          |   135 Views   |   Published Date : 3rd February 2018 |

दीपक जी.एम. ' आर्जव '' ( कथा : चित्कार )

26551803_828924067292666_1627044921_n

     गरिबीको कारणले कतिपय मानिसहरुले बेलैमा औषधी उपचार न पाएर अकालमै ज्यान गुमाउनु परेको हुन्छ भने कतिपयले अर्काको गुलामी देखि लिएर आत्महत्याको बाटो समेत रोज्नु परेको हामी सबैले देखेको र सुनेको छौ । आफू तथा आफ्नो परिवारको लागी पेट पाल्न को निम्ति स्वदेश मै केही उपाय नलागे पछि विदेशिनु हामी नेपलीहरुको बध्यता हो ।

बिखे को आधा जीवन गरिबीको ओडार मै बितेर गयो।घरमा एउटी बुढी आमा जसलाई दिनरात छोरा बिखेको चिन्ता थियो,छोरा बिहे गर्ने लायकको भईसकेको थियो तर गरिबीको कारणले बुढी आमा आफ्नो छोराको लागी केही पनि गर्न असमर्थ थिइन । सम्पतिको नाममा एउटा सानो झुपडी थियो त्यो पनि साहुको मा बन्धकी थियो ,ऋणले टुप्पी नाघीसकेको हुनाले साहुले दिनरात घर देखि बहिष्कार गर्ने धम्की दिइरहेको थियो ।यही कुराले बुढी आमालाई पीडाले मुटुमा छेस्को बिझाए झै बिझाएको थियो ।

गाउँमा अरुको चाकरी गर्दै बिखे घरको निम्ति दुई-चार पैसा जोडदै थियो ।बुढी आमा पनि सकी नसकी वन देखि दाउरा ल्याई बजारमा बेच्ने गर्थिन ,आमा-छोरा दिनरात एक एक पैसा जोड्न लागि परेका थिए। दिन बित्दै गए । बिखेको बिहे हुन्छ,जस्तो आफ्नो परीवार उस्तै उसकी श्रीमतिको परिवार पनि ।

27658893_845062315678841_449010558_n

गास,बास,कपासको चाजोपांजो जुटाउँदै बिखे श्रीमतीलाई खुसी राख्ने प्रयास गर्दै थियो । आमा लाई टि.बी. रोगले ग्रस्त पारेको हुन्छ,नजिकैको स्वस्थ्य चौकीमा निशुल्क उपचार गराउँदै आमाको लागी तागतिलो खानेकुराहरु जुटाउन तर्फ बिखे दिनरात काम गरिरहेको हुन्छ ।

एकातिर आमाको स्वास्थ्य अर्को तिर साइँली (बिखे की श्रीमति) दुई जिउकी भएकी हुन्छे ।बिखे लाई जीवन धान्न गारो भइसकेको थियो,कसरी गरोस उसले पनि एक्लैले सबथोक,कुनै उपाय नदेखे पछि बिखे विदेश जाने निर्णय लिन्छ। कति पनि ढिला नगरी बिखे साहु बा को मा पुग्छ र खाडी देश जानको निम्ति साहु बा सँग ऋण माग्न थाल्छ ।

”के छ र त सँग बन्धकी राख्नको लागी हँ भन के लिएर आइस ए बिखे.. बिखे केही बोल्दैन र जिब्रो लडबढाउँदै ”साहु बा म सँग केही पनि छैन,म छिटै नै कमाएर तपाई सामु पैसा टक्र्याउँछु,मलाई विश्वास गर्नुस साहु बा”.. बिखे साहु बा तिर हेर्दै बिन्ती बिसाउँछ तर साहु बा भने हुक्का तान्दै केही सोचिरहेका हुन्छन । पर बाट साइँली र आमा लाई आउँदै गरेको बिखेले देख्छ ।

”ए बाबु किन जानु पर्यो तँलाई विदेश..यतै केही गरे हुदैन र..आँखा भरी आँसु ल्याउँदै बिखे बोल्छ ‘ आमा म तिमी अनि साइँलीको लागी भएपनि जानै पर्छ र साइँली अब दुई जिउकी पनि भएकी छे त्यसैले दिनरात यसरी खान लगाउनको लागी कहिले सम्म हामी अर्काको चाकरी गर्ने अनि साहु बा को ऋण पनि त तिर्नु छ अनि तिमी सधै बिरामी भइ राखेकी हुन्छ्यौ,तिम्रो औषधि को लागी एक एक पैसाको हामीलाई अभाव हुन्छ त्यसैले म.जान्छु आमा”.. छोराको मुख देखि निस्केका कारुणिक शब्दले आमाको आँखा रसाउँछ ।

साहु बा बोल्छन ‘ल जा न त जा बिखे म तँलाई ऋण दिन्छु तर के राख्छस..साहु बा को कुरा सुने पछि साइँली आफ्नो घाटीमा लगाएको तिलहरी निकाल्छिन र साहु बा तिर हेर्दै ‘ल लिनुस साहु बा यसैलाई धितो राख्नुस” । साहु बा तिलहरी लिएर भित्र छिर्छन र क्षणभर मै बाहिर निस्किदै ल लेउ पैसा साइँली भन्दै पैसा उनको हातमा राखिदिन्छन।

बिखे निशब्द हुन्छ,घर जाउँ भन्दै सबैजना ओराली लाग्छन । केही दिन पश्चात बिखे घर देखि बिदावारी हुदै खाडी मुलुक जान भनी निस्किन्छ,घरमा रुवाबास हुन्छ।आमा त झन छोरा गएको हेर्न नसकी भित्र कोठामा गई रुन थाल्छिन,साइँलीको पनि अवस्था सारै नाजुक हुन्छ ,पेटमा नानी हुन्छ त्यही माथि। बिखे आँखा भरी आँसु लिई गाडी चढ़छ,हात हल्लाउँदै साइँली सँग बिदाबारी लिन्छ। साइँली रुदै बिखेलाई बिदा गर्छिन ।

खाडी मुलुक पुगेपछि बिखले काम त पाउँछ तर उसलाई घरको यादले दिनरात सताउन थाल्छ। जीवनको सेरोफेरो लाई बिखेले राम्रो सँग बुझेको थियो ,सानै देखि आमाले पेट पाल्नका लागी गरेका दुखहरु बिखेको आँखा अगाडी झलझली आउदथ्यो भने साइँलीको सम्झनाले पिरोलिदै बिखे आफूलाई सम्हाल्न नसकी बेलाबेलमा सुकसुकाउने गर्दथ्यो ।

समय बित्दै जान्छ ।बिखे गएको पनि ६ महिना पुग्छ तर पनि उसले पर्याप्त पैसा कमाएको भने हुदैन। दिनरात कामको चापले गर्दा बिखे कमजोर भएको हुन्छ ,खाना को कुनै ठेगान नभएपछि उसको शरीरले पनि साथ दिन छोड्छ । बिखेले पैसा नपठाए पछि यता साइँली अनि आमाको दुख ले सीमा नाघिसकेको हुन्छ ,”पीडा अनि दुख ले कहिले साथ नछोड्ने भयो” भन्दै साइँली घुक्क घुक्क गर्दै आमा सामु रुन थाल्छिन ।

जीवन भोगाईका गतिविधिहरु सँग खेल्दा खेल्दै शायद अब साइँली अनि आमाको बाच्ने आधार बिखे मात्रै थियो जसको आउने पर्खाइमा उनीहरू दिन गन्दै बसिरहेका थिए । खोक्दै आमा बिडी पिउन थाल्छिन भने साइँली ओछ्यान लगाउँदै बोल्छिन ” आमा ए आमा कति बिडी पिउनु भएको भयो अब त छोड्नुस,खोकीले छोडेको छैन हजुरलाई त्यही माथी औषधि पनि खान छोड्नु भयो ।” मेरो चिन्ता न ले बुहारी दुई दिनको झुल्किने घाम सरी भएको छु,आज हो की भोलि हो कुनै ठेगान छैन मेरो ”मर्नु भन्दा अघि छोराको मुख हेरेर मर्न पाए हुन्थ्यो,खोइ कहिले आउँछ छोरा पनि” ।

आमाले बोलेका शब्दहरुले साइँली मौन हुन्छिन,पेटमा रहेको नासोले सात महिना कटिसकेको हुन्छ। ”अइया अइया गर्दै आमा ओछ्यानमा गइ पल्टिन्छिन । लालटिनको बाती सानो गर्दै साइँली पनि निदाउन खोज्छिन । बिहानै चराहरूको चिरबिर आवाज सँगै साइँली ब्युझीन्छीन अनि गोठ तिर लाग्छिन,बुढी आमा भने आगो फुक्न थाल्छिन। बाहिर आँगनमा कोही गुनगुन गर्दै थियो ,”आमा ए आमा होइन को हुनु हुन्छ भित्र” आँखा मिच्दै बुढी आमा बाहिर आँगनमा निस्किन्छिन ।

आँगनमा गाउँलेहरु लगायत धेरै जनाको भेला भएको हुन्छ ”साहु बा बोल्छन ”यहा राख्नुस अगाडी ” चारजनाले बोकी ल्याएको काठको बाकस आँगनमा राख्दै उनीहरू पछाडि हट्छन। अचम्म मान्दै बुढी आमा बोल्छिन ” के हो यो बाबु,के बोकी ल्यायौ मैले त मेसो नै पाएन ”। साहु बा अप्ठ्यारो मान्दै अगाडी बढ्दै बोली फुटाउँछन ” बिखे काम गर्ने बेलामा माथी दस तला बाट खसेको रे ,अस्पताल लैजादै गर्दा बाटो मै दम तोडेछ। बुढी आमा निमुख हुन्छिन,एकोहोरो काठको बाकस तिर टोलाई रहन्छिन।

साइँली गोठको चहरा बाट सब हेरिरहेकी हुन्छिन, एकाएक चिच्याउँदै ”के भयो ”भनी दौडिदै आँगनमा पाइला टेक्छिन ।गाउँलेहरू मौन भइ उभिरहेका हुन्छन । छोपी राखेको काठको बाकसको ढोका हटाउँदै भित्र चिहाएकी मात्र के हुन्छिन की बिखेको शव देखेर आँगन मै अचेतमा ढल्न पुग्छिन।

साहु बा बुढी आमाको नजिकै पुग्छन र आफूलाई संभाल” ए बिखे की आमा”भनी छुन खोज्दा शरीर निर्जीव सरी भुइँमा लड्छ ।साहु बा अचम्म मान्दै बुढी आमाको नाड़ी छाम्न थाल्छन तर अफसोच उनले प्राण त्यागिसकेकी हुन्छिन। प्रत्येक नेपालीहरुको कथा एक सामान नभएपनि अधिकांश नेपालीहरुको कथा वस्तु उस्तै नै हो।

गरिबीको चपेटाले दिनहूं हाम्रा नेपाली दाजुभाइहरू सपनाको सँसार बुन्दै मुगलान धाउँछन भने आउँदा काठको बाकसमा भित्रिने गर्छन जसको प्रकोपले पूरै परिवारलाई समेत आहुति दिनु परेको हुन्छ। कहिले अनि कसरी निर्मूल तथा निवारण होला हामी नेपलीहरुको कथा व्यथा….के सम्भव छ..!

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१