ताजा अपडेट

श्रम राज्यमन्त्री डिल्ली चौधरीमार्फत् डेनमार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ लिएर फरार

          |   199 Views   |   Published Date : 1st February 2018 |

fa073b385cfcc06575d0eb96f6a1bfdd

दाङ, माघ १८ । घोरही उपमहानगरपालिक (१५, दाङका २७ वर्षीय विशाल बस्नेतले श्रम राज्यमन्त्री डिल्लीराम चौधरीमार्फत डेनमार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ लिएर फरार भएका छन्।

सरकारी कोटामार्फत डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन्। ठगिएका युवक सबै बस्नेतकै छरछिमेक हुन्।

‘श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन्। बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै भरपर्दो सरकारी कागज देखाए। मन्त्री चौधरीसँग आफ्नो निकै नजिकको सम्बन्ध रहेको र मन्त्रीमार्फत डेनमार्क पठाइने जिम्मा लिए,’ पीडित डोजराज कालाथोकीले भने,‘ठगिएपछि बुझ्दा यो विषय मन्त्रीलाई नै थाहा छैन रहेछ। उनीसँग मन्त्रीको कुनै सम्बन्ध नै रहेनछ।’

बस्नेतले घोराहीका २० वर्षीय सुमन वली, तुलसीपुरका २३ वर्षीय घनश्याम विष्ट, ३२ वर्षीय डोजराज कालाथोकी, २० वर्षीय अर्जुन बुढाथोकी, २३ वर्षीय अर्जुन बिक र २८ वर्षीय सूर्य विसीलाई ठगी गरेका छन् । उनीहरुलाई गत पुस २६ गते डेनमार्क जाने उडान छ भन्दै काठमाडौं बोलाएका थिए। ‘हामी घरबाट बिदा भएर काठमाडौं आयौं।

बस्नेतले नै गोंगबु बसपार्कनजिक रहेको बाग्लुङ परिचय गेस्ट हाउसमा लगेर राखे,’ पीडित वलीले भने,‘फिंगरमा समस्या आयो। माघ ५ गते पठाउँछु भन्यो। त्यो दिन नपठाएर ७ गतेको टिकट देखाए। ७ गते विमानस्थल जाने भनेर कान्तिपुर मल अगाडि आएर बिहानदेखि बस्नेतलाई पर्खेर बसिरह्यौं। बिहान ११ः३० बजेसम्म आउँदैछु भन्दै थियो। त्यसपछि उ बेपत्ता भयो।’

बस्नेतले उनीहरुको लागि डेनमार्कको भिसा समेत राहदानीमा लगाइदिएका थिए। ‘भिसा र टिकट दुवै नक्कली रहेछ,’ उनले भने। वैदेशिक रोजगार विभागले व्यक्तिगत रुपमा ठगी गरेको भन्दै पक्राउ पुर्जी र बस्नेतको परिवारको नाममा रहेको जग्गा बेचबिखनमा रोक्काको पत्र जारी गरेको छ। पीडितले पक्राउ पुर्जी प्रहरीलाई बुझाइसकेका छन् ।

‘डेनमार्कको होटलमा महिनामा एक लाख रुपैयाँ तलब पाउने आशामा घरबाट बिदा भएका थियौं’अर्जुन बिकले भने,‘अहिले हातमा पक्राउ पुर्जी बोकेर घर फर्किनुपरेको छ।’

ठगिनेहरु सबै सामान्य आर्थिक अवस्थाका हुन्। ‘सय कडा ५ रुपैयाँ ब्याज दिने हिसाबमा ऋण लिइयो। ऋण कसरी तिर्ने भन्ने तनाबमा छु। घर फर्किने आँट पनि आएको छैन’, बस्नेतकै घर नजिकका डोजराजले भने,‘हामीजस्ता गरिब परिवारलाई किन यसरी ठग्नु पर्‍यो।’ खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१