ताजा अपडेट

सहिदको वलिदानीको उच्च कदर गरौं

          |   53 Views   |   Published Date : 30th January 2018 |

sahid-1_20140130110843 आज माघ १६ गते, अर्थात सहिद दिवस । देश र जनताको अधिकारका लागि आफ्नो जीवन आहुति दिएका व्यक्तिहरुको सम्मानका लागि राज्यले छुट्टाएको विशेष दिन । यस अवधिमा मुलुकभर विभिन्न कार्यक्रमहरु हुने गर्दछन् ।

सहिद दिवसको सेरोफेरोमा मुलुकभर सप्ताहव्यापि कार्यक्रमहरु समेत गरिन्छ । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । बिक्रम सम्वत् १९९७ सालमा जहानीया राणा शासनका बिरुद्धमा आवाज उठाउँदा ज्यान गुमाएका धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीको स्मरणमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

त्यस्तै पछिल्लो समयमा भएका परिवर्तनकामी आन्दोलनकाक्रममा ज्यान गुमाएका व्यक्तिहरुको स्मरण पनि माघ १६ गते नै गर्ने परिपाटीको सुरुवात गरिएको छ । तर, बिडम्वना नै भन्नुपर्छ, परिवर्तनका लागि ज्यान आहुति दिने सहिदहरुको संख्या बृद्धि भएपनि जनताले चाहे जस्तो समाज निर्माण गर्न सकिएको छैन ।

सहिदको स्मरणमा साताव्यापी कार्यक्रम हुने गर्दछ । सहिद सप्ताह मुलुकमा जारी भएकाले सबै नेताहरुलाई मुलुकको साझा एजेण्डामा उभिनका लागि सहिदहरुको बलिदानीले शक्ति प्रदान गर्नुपर्छ । सहिद भन्नासाथ मुलुकको शिर गर्वले ठाडो हुन्छ ।

यो शब्द सम्मानित शब्द हो । देश र जनताका लागि निःस्वार्थ ज्यानको आहुति दिने व्यक्तिहरु भएकाले पनि सहिदलाई माथिल्लो स्थानमा राखिएको हो । पछिल्लो समयमा आएर सहिद शब्दको व्यापक अपमान गरेको हामीले पाएका छौं । सहिद शब्दलाई हल्कापाराबाट लिने र जस्तोसुकै प्रकृतिमा ज्यान गुमाएकालाई पनि सहिद नै मान्ने खराव परिपाटीको शुरुवात भएको छ ।

यी र यस्तो विडम्वनापूर्ण कार्यलाई त्याग्न सकिएन भने सहिदहरुको अपमान हुनेछ ।
सहिदहरुले कुनै एक दल वा व्यक्ति विशेषका लागि आफ्नो ज्यान गुमाएका होइनन् । सहिदहरुले सिंगो मुलुकको हितका लागि, जनताका लागि र समाज रुपान्तरण, परिवर्तनका लागि ज्यान अर्पण गरेका हुन् ।

सहिदहरुको यस्तो कुर्वानीलाई सिमलको भुवा जस्तै हल्का बनाउने काम गर्न सबैले छाड्नुपर्छ । सहिद दिवसका अबसरमा मुलुकलाई संकटबाट निकास दिने सवालमा सबै दलका नेताहरु गम्भीर बन्न जरुरी छ ।

व्यक्तिवादी चिन्तन, दलगत स्वार्थ, गुटगत स्वार्थलाई त्याग्दै मुलुकको साझा एजेण्डामा उभिन सबै नेताहरुले प्रयत्न गरेमा मुलुक समृद्धिको बाटो तर्फ अगाडि बढ्न सक्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१