ताजा अपडेट

भकारीमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि बिस्तार हुँदै

          |   181 Views   |   Published Date : 28th January 2018 |

aduwa-1-660x330

सल्यान, माघ  । अदुवा भण्डारणको उचित तरिका अपनाउन नसक्दा २० प्रतिशतसम्म भण्डारण क्षती हुने भएकाले किसानहरुले नयाँ प्रविधिमार्फत् बिउ भण्डारण गर्न थालेका छन् । नेपालको एक मात्र अदुवा वाली अनुसन्धान कार्यक्रमले विकास गरेको भकारी भण्डारण प्रविधि अनुसरण गरेर किसानहरुले अदुवाको बिउ भण्डारण गर्न थालेका हुन् ।

पुरानो तरिका अथवा खाडलमा अदुवा भण्डारण गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्ने जस्ता समस्या आउने भएकाले अदुवा भण्डारणको नयाँ प्रविधि ‘काँचो इटाको भकारी भण्डारण’ विकास गरिएको अदुवा वाली अनुसन्धान कार्यक्रमले जानकारी दिएको छ ।

सल्यानको कपुरकोटमा अवस्थित यस कार्यक्रमका वाली रोग वैज्ञानिक प्रमोद वाग्लेले ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न जाने हुँदा सुरक्षित भण्डारण आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले भकारी भण्डारण प्रविधि विकास गरेर कृषि विकास मन्त्रालय, किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी मानिएको छ ।’ यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारण भन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन । ‘यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इटा प्रयोग गर्नुपर्छ,’ वैज्ञानिक वाग्लेले थप्नुभयो, ‘इटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकता अनुसारको भकारीको आकार निर्माण गर्नपर्छ ।’
सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने बताइएको छ । कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लाष्टिकले छोप्नुपर्ने बताउनुभयो । भकारी आवश्यकता अनुसार सानो या ठूलो बनाउन सकिने शर्माले बताउनुभयो । यस प्रविधि अपनाएर मंसिरदेखि चैत्र, बैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उहाँको भनाइ छ ।
यो प्रविधि आफूहरु किसानहरु कहाँ प्रत्येक वर्ष गएर जानकारी गराउने, त्यहिँ बसेर भकारी निर्माण गरिदिने गरेको वाली रोग बैज्ञानिक वाग्लेले बताउनुभयो । उहाँका अनुसार सल्यानलगायत पाल्पा, इलाम, डोटी, कैलालीलगायतका जिल्लाका किसानहरुले भकारी भण्डारण प्रविधि अवलम्बन गर्दै गएका छन् । छानो भएको ठाउँ वा घरभित्र भकारी निर्माण गर्नुपर्ने वाग्लेले बताउनुभयो । यस प्रविधिलाई अदुवा वाली अनुसन्धान कार्यक्रमले विक्रम संवत् २०७१ सालदेखि व्यापक रुपमा विस्तार गर्न थालेको हो ।
यो प्रविधिअन्तर्गत भकारी निर्माण गर्न सुरुमा किसानलाई झण्जटिलो देखिए पनि नोक्सान कम हुने भएकाले पछि फाइदा पुग्ने वाग्लेको भनाइ छ । बिउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बिउको गुणस्तरता घट्न गई दरिलो र पुष्ट विरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकहरुको भनाइ छ । समुद्री सतहदेखि १४८० मिटर अग्लो स्थानमा रहेको अदुवा वाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परिक्षणको नतिजा अनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो ।

र उसले यस प्रविधिलाई अनुशरण गर्न किसानहरु र प्रविधि विस्तारमा सहयोग गर्न विभिन्न किसानका लागि काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालय, संस्थाहरुलाई आग्रह पनि गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१