ताजा अपडेट

अविवेकी राजनैतिक चरित्र राष्ट्रलाई घातक हुन्छ

          |   144 Views   |   Published Date : 28th January 2018 |

Narayan-Parshad-Shrestha नेपालीको काम कहिले जाला घाम । यो युक्ति वर्तमान राजर्नतिक धरातलमा लागु भएको अवस्था छ । गर्नुपर्ने काम समयमा नगर्ने समय घर्की सकेपछि यो र त्यो बहानामा यस्तो र उस्तो भन्ने मानसिक रोग नेपाली राजनीतिज्ञको आदर्श बनिसकेको छ ।

जस्तो पछिल्लो उदाहरण प्रदेशको राजधानी र मनोनयन प्रक्रियाले देखाएको छ । प्रदेशको राजधानी समयमै तोकिएको भए अहिले जे जसरी जुन जिल्लामा जे जस्ता आन्दोलनका कार्यक्रम भएका छन् ती सबै केही हुने थिएनन् । राजधानीलाई न त राजनीतिकरण हुन्थ्यो न त राजधानीको विषयलाई लिएर जिल्ला आक्रान्त हुन्थ्यो । यो वास्तवमा राजनैतिक नेतृत्वको असक्षमताको परिणाम हो ।

अर्को कुरा जिम्मेवार नलिएर सधै स्वार्थपूर्ति गर्छु भनि गरिएको कुटिल चाल हो । राष्ट्र र राष्ट्रिय स्वाभिमान बचाउन गरिने राजनैतिक इच्छा शक्ति विपरित नीहित स्वार्थ परिपूर्ति गरी अरुलाई छिट्की हाल्छु भनि गरिएको गलत मानसिकता हो । गलत मानसिकताले उब्जेको विचारले राष्ट्र कहिलै पनि सक्षम हुन सक्दैन । न त यसले राजनैतिक, सामाजिक र आर्थिक क्रान्ति गर्न सम्भव हुन्छ ।

फेरि राजनैतिक समझदारीको नाममा नीहित स्वार्थ पूरा गर्ने उद्देश्य राखी एक अर्कालाई दोषारोपण गर्नु उपर्युक्त कार्य पनि होइन । यसले अदूरदर्शी र असक्षमताको पगरी गुथिन्छ । शक्ति छ भन्दैमा पछिको अवस्था नबुभ्mन्ने गरी राजनैतिक इच्छा जागृती हुन भनेको पाखण्डीपन हो । अर्को शव्दमा भन्ने हो भने यो बौलट्टिपन हो ।

बाँदरले आफ्नो घर पनि बनाउँदै अरुको बनाउन लागेको घर पनि भित्काउँछ भन्ने उखान चरितार्थ गर्नु हो । त्यसैले वर्तमन अवस्थामा जनमत नपाएको सरकारले जुन किसिमले आफूलाई प्रस्तुत गरिरहेको छ, यसले राष्ट्रिय स्वाभिमानमा असर नपु¥याउँला भन्न सकिन्न ।

तसर्थ अझै पनि समय छ यदि समयमा यसलाई निराकरण नगर्ने हो र अहंकार बढ्दै जाने हो भने यसले अरुलाई हैन आफैलाई नोक्सान पु¥याउने हो यो कुरा सबै सचेत राजनीतिज्ञले बुझ्नु पर्दछ । राजनीति राष्ट्रिय स्वाभिमान बचाई समृद्धि नेपालको भविष्य बनाउने कला हो । यसलाई राष्ट्रियतासँग गाँसेर गरिनु पर्दछ ।

हिमाल, पहाड, तराई बीच वैमनस्यता बढाई छिन्न भिन्न गराई मतलब साँध्ने चरित्र राजनैतिक विषय होइन । हुन सक्छ पद र प्रतिष्ठाको छिनाझप्टी गर्दा यस्तो अवस्था नदेखिएला भन्न सकिन्न तर सिंगो मुलुक आक्रान्ति बन्ने चरित्र प्रदर्शन गर्नु भनेको अहंकारयुक्त राजनीतिमा फस्नु हो । अहंकारले कहिलै पनि निस्वार्थलाई अंगाल्न सक्दैन । जब राजनैतिक धरातलमा नैतिकता र निस्वार्थता हुँदैन तबसम्म राष्ट्रले गतिलिन सक्दैन ।

भनिन्छ “बुद्धियस्य बलंम् तस्य निर्वुद्धि से कुतो बलम्” बुद्धि बिनाको बल काम लाग्दैन । पार्टी पुरानो र बलियो छ भन्दैमा पार्टीको सिद्धान्त विपरित राजनैतिक सोच बढाउने हो भने पार्टी विलय हुन सक्दैन यसमाथि प्रश्न उठ्न सक्छ तर व्यक्ति बिलय हुन सक्छ । त्यसैले नेपालको सन्दर्भलाई हेर्ने हो भने यहाँ बुद्धि र विवेक भएका योग्य र सक्षम राजनीतिज्ञ नभएका होइनन् तिनले अब अगुवाई गरी समृद्ध नेपालको भविष्य उज्वल बनाउन अब कम्मर कस्नु पर्ने बेला भएको छ । बिग्रीएकोलाई सपार्दै सच्चा र स्वाभिमानी नेपाली राजनैति इच्छा शक्ति बढाउनु परेको छ ।

नेपालको भविष्य नेपाली स्वयंले बनाउने हो । अरुले दिएको दान र देखाइएको दयाको भरमा राष्ट्रिय राजनीतिले कहिले पनि निश्चित गोरेटो निर्धारण गर्न सक्दैन । काँग्रेसका हस्ती नेताले केही समय अगाडि सार्वजनिक गरेको रेडियो कुराकानीमा कार्यकारी अधिकार सम्पन्न व्यक्तिसँगको वार्तामा भएको कुरा बारे बताउँदै प्रधानमन्त्रीले दाबब खप्न नसकेको खुलासा गर्नुभएको थियो ।

कार्यकारी प्रमुखले कसको दबाब खप्न नसकेर प्रदेशको राजधानी तोकेका हुन् ? के राष्ट्रको सर्वाेच्च निकायमा बस्नेले आसेपासे नेताको दबाब खप्न नसेका हुन् वा के हो ? यसको वास्तविकता खोज्ने नखोज्ने ? जनअभिमतको सम्मान गर्छु र गर्नु पर्छ भनि प्रजातन्त्रको दुहाई दिने नेतृत्वले के प्राजतान्त्रिक संस्कार भन्दा कानुनी अक्षरलाई बढावा दिनु पर्छ भनि दिएको सल्लाह उपयुक्त माने ? वा सत्ता र भत्ता लम्ब्याउने र खाने सोच प्रजातन्त्रको मान्यता हो भनि प्रजातन्त्रको व्याख्या बदल्ने कोसिश गर्न थाले ।

यो आगामी दिनले बताउनेछ । वर्तमान समय प्रदेशको राजधानी सम्बन्धमा जति पनि चर्चा परिचर्चा भएका छन् त्यसले राष्ट्रिय राजनीतिमा कस्तो मोड ल्याउँछ त्यो पर्खनु पर्ने भएको छ । हुन सक्छ हाम्रो विचार शक्ति कमजोर भएर हो वा राजनीतिमा यस्तै गरिनु पर्छ भन्ने राजनीतिक खेलाडीको नीति छ यो कुरा हामीलाई महशुस भएन ।

हामी यति भन्छौ समयमा काम गर्न नसक्ने र विवेक र बुद्धि प्रयोग गर्न नजान्ने जो सुकैले पनि राष्ट्रिय नेतृत्व लिन्छु भन्नु बेकार हो र यस्तालाई नेतृत्व दिनु पनि बेकार छ । प्रदेशको राजधानी हुन त अहिलेसम्म अस्थायी हो फेरि फेर बदल गर्ने अधिकार प्रदेश सभालाई छ भनेर कानुनी आधार देखाइएला । तर कानुनी आधार तयार गर्ने जो मेकानिजम छ यदि त्यसलाई लत्याउँदै जाने चरित्र भयो र जे भयो भइसक्यो अब यसलाई नचलाउँ भन्ने सोच नीतिज्ञमा बढ्यो भने यसले कस्तो राजनैतिक अवस्था सिर्जना हुने हो ?

किनकि हिजो प्रदेशको अस्थायी राजधानी मुकाम तोकिदा न त अन्तर्राष्ट्रिय मापदण्डलाई हेरियो न त हिमाल, पहाड, तराईको अवधारणालाई हेरियो, न त मेकानिजमको सल्लाहलाई मानियो, न त वैज्ञानिक आधारै केही देखाइयो, न त जनअनुमोदित इच्छालाई जागृत गर्न खोजियो केवल राजनैतिक छक्का पंजाको राजनैतिक चरित्र देखाउनु के उपयुक्त थियो र ? यस्तो गर्नु थियो भने निर्वाचन पूर्व नै गरिएको भए यस्ले यस्तो रुप लिने थिएन । विभिन्न जिल्ला आक्रान्त हुने स्थिति आउने थिएन ।

तसर्थ हिजो विवेक गुमाइयो भनेर अब पनि विवेक गुमाउनु हुँदैन । सबै नेतृत्व विवेकशील हुनुपरेको छ । अहिले पनि यहाँ स्वाभिमानी राष्ट्रिय चिन्तन गर्ने थुप्रै युवा नेता र जनशक्ति छन् । नेपाली राजनैतिक क्षितिजमा राम्रा र सक्षम नेतृत्वको अभाव छैन । हुन सक्छ यो सरकारको बाध्यता थियो । बाध्यतावस गर्नै पर्ने भएर गरिएको भनि पन्छिन खोजिएला तर यस्तो गर्दा केवल यस्को आधारलाई पनि लिई दिएको भए केही हुने थियो र ?

हिजो पञ्चायतले डा.हर्क गुरुङ जस्ता विद्वानलगायत कैयौं विशेषज्ञले वर्षौ लगाएर अध्ययन विश्लेषण गरी हिमाल, पहाड, तराई स्वाभिमानी नेपालीको गरिमा बचाउन गरिएको संरचना गलत देखाउन र त्यही संरचना किन राख्ने भनि संरचनाको भूत सवारले यस्तो भएको हो त ? त्यसैले अबका दिन सक्षम र नेतृत्वदायि भूमिकामा पुगेको राजनीतिज्ञहरुले बुद्धि र विवेक प्रयोग गरी प्रादेशिक राजधानीको टुङ्गो लगाउने कुरामा हामी आशा राख्छौं ।

यतिमात्र होइन अहिलेसम्म स्थानीय तहको निर्वाचित जनप्रतिनिधिले लामो समय वेथित हुँदासम्म पनि सिंहदरबारको अधिकार गाउँमा पु¥याउने अधिकार दायित्व महसुश गर्न नपाइरहेको अवस्था छ । संविधानमा लेखिएका बाहेक नीति र नियम बनाउने सरकारको दायित्व अझ पनि अलमलमा छ । यस्तो अवस्था प्रदेशमा पनि नहोला भन्न सकिन्न , त्यसैले त्यस्तो आधार चिर्न हामी सबैमा अनुरोध बिसाउँछौं । लोभले लाभ, लाभले बिलाप भयो भने यसले निश्चय पनि दूरगामी असर नपु¥याउला भन्न सकिन्न ।

इमान्दार कार्यकर्ताको शीर निहुरिने गरी कुनै पनि कार्य गर्न गराउन हुँदैन । यो कुरा नेतृत्वले सोच्नु पर्दछ र दूरदर्शी र राष्ट्रवादी चिन्तक भएर अबका दिनमा आफूलाई प्रदर्शन गर्नु पर्दछ । अन्यथा चोक्टा खान गएको बुढी झोलमा डुबी भन्ने उखान चरितार्थ भयो भने लोकतान्त्रिक संघीय संरचना फेरि पुरानै स्थितितर्फ वा नयाँ परिदृश्यसँगै अगाडि नबढ्ला भन्न सकिदैन ।

अन्यथा लोग्ने स्वास्नीको सम्बन्धमा पनि राजनीति, धारापँधेरामा पानी भर्न जाँदा पनि राजनीति, घरको चुलो चौकादेखि संसदसम्म पनि राजनीति गर्दै अगाडि बढ्दै जाने हो भने स्वासप्रश्वास लिने दिने अवस्थामा पनि शुद्ध र अशुद्ध भनि राजनीतिक सोच बृद्धि भयो भने यसले आफैलाई नाश गर्ने राजनैतिक संस्कार बस्नेछ ।

तसर्थ सरकारात्मक सोच र विवेकशील चिन्तनका साथ नेपाल सबै जात, धर्म, संस्कृति तथा हिमाल, पहाड तराई भएको साझा फूलबारी हो भन्ने मान्यता राखी संघीय संरचनाको अवधारणा अनुसार स्थानीय र पिछडिएको वर्ग र क्षेत्रको समुचित विकास गर्न हामी सबै हातेमालो गरी अघि बढौं । वर्तमान यही खोजिरहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१