नारायणगढ–मुग्लिन सडकमा दिउँसै सवारी रोकिने
चितवन : रातको समयमा सवारी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा खासै प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसै सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बिहीबार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसो काममा प्रगति हुने भन्दै बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने बताइएको छ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो खोलिएपनि पुनः काम गरिँदै आएको छ । दिउँसो नरोकिउन्जेल रातमै सवारी रोकेर काम गरिने समेत बताइएको छ । बैठकले आयोजनालाई तीन दिनभित्र कार्ययोजना पेश गर्न समेत भनेको छ । हाल सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ जनाइएको छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भएको र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाको भनाइ छ । रासस Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed