ताजा अपडेट

थारु लोक संस्क्रीतिमा माघी पर्व

          |   40 Views   |   Published Date : 15th January 2018 |

लेख : दिप्तिशिखा चौधरी थारुहरुका लागि माघ महिना  महिनामात्र नभएर माघ संक्रान्तिबाट सुरु भई महिनाभर मनाइने एउटा महान् चाड हो । अर्को शब्दमा थारु समुदायका लागि यो आर्थिक वर्ष प्रारम्भ हो ।

स्पष्ट शब्दमा भन्ने हो, भने माघी सामाजिक सद्भाव, मेलमिलाप, मानमर्यादा, सेवा र सत्कारको पर्व हो । यसै पर्वका लागि असोज, कार्तिक महिनामै नजिकैको खोला वा नदीमा बाँध बाँधी विभिन्न वनस्पतिका हाँगा पानीमा राखेर माछाका लागि बासस्थान बनाउने गरिन्छ । जसलाई थारु भाषामा ‘भिउरा डर्ना’ भनिन्छ । त्यसपछि माघ महिना आउन एक महिना अगाडि जाँड रक्सी बनाइन्छ । यसमा अनदी चामलको जाँड झोलको विशेष महत्व हुन्छ ।

यस पर्वका लागि पुस महिनामै दुना टपरी बनाउन ‘नम्हेनी’ मालुकाको पात टिपी ल्याइन्छ । घरमा भएका महिलाहरु फुर्सदको समयमा दुना, टपरी खुटिरहेका देखिन्छन् । चट्नी, तरकारी र रक्सी खानका लागि ‘चिह्री डोनी’ सानो आकारको दुनामा मासु, ‘खाज डोस्टी डोनी’ जाँड ठूलो आकारको दुनो र भात खान टपरी चाहिन्छ । गाउँका ‘गरदु¥या’ घरमूलीहरुले यो पर्व नजिकिनु पहिले नै मटवाँको घरमा भेला भएर ‘कचेरी’ छलफल गर्दछन् ।
यसमा कसले कति मासु खाने, सामाजिक कार्यहरु कसरी गर्ने, परिवारको संरचनालगायत यावत विषयमा छलफल आदि गरिन्छ । पुस महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन हो यस दिनमा थारुहरुले सुँगुर मारेर, माछा मारेर, माछा मासु खाई पर्व मनाउने भएकाले यस दिनलाई थारुहरुले ‘जिटा भर्ना डिन’ भन्दछन् । गाउँका गरदु¥याहरु सुँगुर मारी मासु बाँड्दछन् , भने घरका अन्य सदस्यहरु घरघरबाट एकजुट भएर भिउँरामा माछा मार्न जान्छन् । गृहिनीहरु बिहानैदेखि ढिक्री बनाउन व्यस्त देखिन्छन् ।

वृद्धहरु दुना, टपरी खुट्न व्यस्त हुन्छन् । पराई घर गएकी छोरी÷चेलीलाई सम्झदै कतिले आँशु पनि झार्छन् । ढिक्रीको परिकार धेरै भए पनि माघीमा ‘लठा ढिक्री’ लामो आकारको ढिक्री मात्र बनाइन्छ । बालबालिकाहरु उफ्रिदै रमाइरहेको दृष्यले गाउँ नै रमनिय देखिन्छ ।
दिनभरिको खानाको परिकार बनाउँदाबनाउँदै रात पर्दछ । सबैका घर–घरबाट मिठा–मिठा परिकारको वास्ना आइरहेको हुन्छ । घरका सम्पूर्ण सदस्यहरु ‘वह्री’ बैठक कोठामा गोलबद्ध बसेर विभिन्न परिकारहरु खान सुरु गर्छन् । ‘गरदुरन्या’ घरमूलीको पत्नीले सबैलाई बराबर बाँड्छिन् अनि सबैजना रमाई रमाई खान थाल्छन् । सबैले वर्षभरिको दुःख आजको दिनमा बिर्सन्छन् । सबैको अनुहारमा मन्द मुस्कान देखिन्छ ।
आ–आफ्नो घरमा खानपिई सकेपछि हरेक व्यक्ति एक अर्काको घरमा गई माघी मान्ने क्रम सुरु हुन्छ । यहि अवसरमा वर्षभरिको वैमनश्यता बिर्सन्छन् र मेलमिलापको वातावरण बनाउन सुरु गर्दछन् । जाँड र रक्सीको नसामा लटपटिएको जिव्रोबाट निस्केको अस्पष्ट गीत ‘सखी ए हो ! माघक पिली गुरी जाँर’ गीत सुनिरहूँ जस्तो लाग्छ । वर्षभरिको जीवन संघर्षबाट उन्मुक्तिको अवसर सिद्ध भएको अनुभव गर्दै उनीहरु खानमै ब्यस्त देखिन्छन् । आखाँमा निद्राको साटो आलस्यता देखिन्छ ।
प्रौढ तथा बृद्धबृद्धाहरु “ढुमरु” ध्रुपद गाउँदै गरेको देखिन्छन् । गोलवद्ध भएर मटाँवाको घरमा आगो बालेर आजको दिनदेखि गीत गाउने कार्य आरम्भ हुन्छ । थारु विधान अनुसार थारु शास्त्रीय गीत ढुमरु ‘अट हे लाला रे पुरुवक डेश कुम्हरा वहुट कुम्हरक जाट रहठ रिसाहा’ खानपिनसँगै ढुमरु गाउँदा गाउँदै थारु लोक जीवनको एलार्मले गाउँभरिकालाई उठाउँछ । “कुकुरी काँ” एउटा कुखुरा बोल्ने बित्तिकै गाउँभरिका कुखुराहरु त्यसैगरि बोल्छन् । यससँगै सुरु हुन्छ माघी पर्वको दोस्रो दिन ।
‘ठौं भन ना, ठौं भन ना’ छुन भुल ना, छुन भन ना’ मादल र झ्याली बजाउँदै गाउँका प्रौढ तथा वृद्धहरुको भीड गल्ली गल्लीबाट निस्कन्छ । चिसो मौसममा नुहाउन नजिकैको पधेँरा वा घाटतिर नुहाउन जान्छन् । ‘सखी ए हो ! माघक पिली गुरी जाँर’ अर्थात्ः ए साथी ! माघ पर्वको उल्लासमा मिठो मिठो जाँरको झोल पिएका छौं हामी । यसरी एकजनाले गीतको पंक्ती उठान गर्ने बित्तिकै समूहले पनि छोपी हाल्छन् ।
उफ्रदै गाउँदै पानीघाट पुग्छन्, नुहाउँछन्, द्रब्य दान गरी फर्कन्छन् । बालबालिका, युवायुवतीदेखि प्रौढहरुको पनि बगाल देखिन्छ । हरेक कार्य गर्दा गीत लय हाली हाली गाउँछन् ।
‘बाबाकी सगरवा मुरिया लहान गैनु हाँ,
सखी ए हो ! टोपीया छुटल पानी घाट’
अर्थात् ः बाबा म खोलामा नुहाउन गएँ, तर कुन घाटमा गएँ र मेरो टोपी कहाँ छुट्यो । मैले बिर्से । माघ स्नानपछि घर फर्किन्छन् । छुट्टाछुट्टै ‘ढक्यामा’ हातबाट निर्मित वस्तु राखिएको चामल, उर्दको दाल, नुन, एक–एक पसर निकालेर छुट्टै टपरीमा राख्छन् । जसलाई थाहरुहरु ‘निस्राउ कहर्ना’ भन्दछन् । यो निस्रालाई खिचडी खानका लागि चेलिबेटीलाई दिने प्रचलन छ । त्यसपछि घरको सानो सदस्यले ठूला सदस्यलाई क्रमशः हातमा ढोग गर्दछन् र ठुलाले सानालाई आशिष दिने गर्दछन् ।
त्यसपछि अनदिको रोटी, खिचडी, मासु ढिक्री, जाँडलगायत प्रमुख खाने परिकार बनाई सबैजना मिलेर आगो ताप्दै खान थाल्छन् । जसलाई थारुहरु ‘वासी’ बिहानको नास्ता भन्दछन् । यो चलनले घरपरिवारमा आत्मियता दर्शाउँछ । जुन चलन डङ्गौरा थारुहरुमा पुस्तौँदेखि चलिआएको छ । खाईपिई गर्दागर्दै सूर्यले न्यानो घाम छोड्न थाल्छ त्यसपछि थारुहरु नाँचगान गर्न गाउँको गल्ली गल्लीबाट निस्कन्छन् ।

उनीहरुको उमेर अनुसार आ–आफ्नो समूह हुन्छन् ‘नाँच नाच्ने नचन्या’ नर्तकीले लहंगा, चोल्या, घुम्टो ‘घुर्घुट’ काँधदेखि कम्मरसम्म सट्की पहिरिन्छन् । त्यसैमा थारु भेषभुषा अनुसार श्रृंगार गर्छिन् । मादले पुरुष या त महिलाले कम्मरमा मादल बाँध्छन् । अरुले झ्याली कस्टार बजाउँदै गीत गाउँदै नाँच्न सुरु गर्छन् । प्रत्येक घरमा नाँच्न गएपछि घरमुलीले स्वागतपूर्वक खानेकुरा दिई माघी मनाउँछन् यसरी थारुहरु वर्षभरिको पिरब्यथा बिर्सन्छन्, जसलाई थारुहरु ‘माघ मान्ना’ भन्दछन् ।
माघ महिनाको दोस्रो दिन र माघी पर्वको तेस्रो दिनलाई थारुहरु ‘माघी डेवानी’ भन्दछन् जुन दिन थारु गरदु¥याहरु ‘मठ’ माटोको भाँडामा जाँड, रक्सी, छिट्नीमा तरकारी लिएर बिहानै ‘मटावाँ’ गाउँको मुली मान्छेको घरमा जान्छन् । यस दिनमा बितेको र वर्षको कार्य समीक्षा, भावी कार्य योजना र नयाँ सम्झौता गर्न दिने हो । यसरी गाउँदेखि घर व्यवस्थापनसम्मका सम्पूर्ण विषयमा गहन छलफल गरिन्छ । आजको दिन कसैसँग रिसरागको सम्बन्ध छ भने जाँडको चुस्कीसँगै मेलमिलाप गरी त्यो तिक्ततालाई बिर्सने गरिन्छ ।
माघी पर्वको चौथो दिनलाई ‘जन्नीनक माघ’ महिलाहरुको माघी पर्व भनिन्छ । आजको दिन थारु महिलाहरु पूर्ण रुपमा स्वतन्त्र मानिन्छन् । घरको कामकाज छोडेर घरघर माघी पर्व मनाउँदै जाँड पिउँदै स्वतन्त्रपूर्वक हिड्छन् बोल्छन् । यसरी मानसिक रुपमा रमाउँछन् महिलाहरु । यो पर्वमा आफ्ना छोरी चेलीलाई सम्झन् । विवाहित अथवा जमिन्दारको घरमा काम गर्न बसेकी ‘कम्लहरी’ जो यत्रो ठूलो पर्वमा पनि घर आउन पाएकी छैनिन् । उनीहरुले भनेको वचन मनमा तिखो वाँण रोपेझैँ चसक्क बिझ्छ ।
‘सखी ए हो ! माघक पिलीगुरी जाँर
सेडुंरा ले मङनु वावा सेडुंरा नलेडेल्या रे हाँ
सेडुंरक् कारण वावा छोरीडेवु डेशवा टुहार’
अर्थात् ः ‘बुबा मेरो योवन देखेर तिमीलाई कत्ति पिर लाग्दैन ?
छोरीको राम्रा–राम्रा लुगा लगाउने चाहना होला भनेर ! तिमी मेरो चाहना बुझ्दैनौ भने म घर छोडेर जान्छु ।’
थारु लोक संस्कृतिमा माघी पर्व सम्पूर्ण पीर व्यथा पोख्नेलगायत सामाजिक, आर्थिक रुपमा मेलमिलाप गराउने पर्व हो । यो पर्वले थारुहरुको जीवनको व्यवस्थापन गर्नुका साथै शान्ति र सद्भाव कायम गराउँदछ । जुन भावले समग्र जीवनलाई सरल र सहज बनाइदिन्छ । अन्त्यमा एकपटक ः
‘सखी ए हो ! माघक पिली गुरी जाँर ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१