ताजा अपडेट

अनि केही नसोची राहुल आमालाई लिएर वृद्धाश्रम पुग्छ…

          |   229 Views   |   Published Date : 13th January 2018 |

दीपक जीएम ,( कथा : रोदनपछिको आसुँ )  आर्जव 

26914345_835043366680736_1513403215_n

  जीवन भोगाइमा कतिपय कुरहरुको मोल हामीलाई पनि थाहा हँुदैन । तर, समयको अनुकूलले एकदिन यस्तो मोडमा ल्याएर उभ्याइदिन्छ कि पछुतोको सँघारमा आफूलाई समर्पित गर्नुपर्ने हुन्छ ।

बन्दनाको विवाह भएको ५ वर्षपछि मात्र सन्तानको सुख उनले प्रप्त गरेकी हुन्छिन् जसस्वरुप उनलाई आफू बाँचेको समाज अनि सर्वश्व आफ्नो सन्तानलाई सुप्म्पेकी हुन्छिन् । बन्दनाका श्रीमान एउटा खुसहाल जीवनयापनका लागि दिनरात कठिन परिश्रम गर्दै अगाडि बढेका हुन्छन् । छोरा राहुलको हेरचाह, पढाई लेखाई, पालन पोषणमा कुनै किसिमको कमी हुन दिएका हँुदैनन् ।


बन्दना त झन् हरपल राहुललाई आफ्नो आँखाको नानी सरी आफूसँगै राखेकी हुन्छिन् । राहुल खुसहाल जीवनको सन्दर्भमा बढ्दै जान्छ । राहुल आमाविना एकछिन पनि बस्न सक्दैनथ्यो । बुबाको छहारीमा राहुलले एउटा अनुशासनको पाठ राम्रोसँग सिकेको थियो । त्यस सानो अनि सुखी परिवारलाई देखेर जो कोही पनि जल्दथे । साँच्ची एउटा उदाहरण नै थिए तिनीहरु समाजका लागि ।
समयसँगै राहुल पनि हुर्कदै जान्छ र लक्का जवान हुन पुग्छ । राहुल आफ्नै कालेजमा पढ्ने ममतासँग प्रेममा परेको हुन्छ । एकअर्कालाई खुबै मन पराउँथे उनीहरू । ममताको घरमा बिहेको चाँजोपाँजो चलिरहेको बेला राहुल ममतालाई भगाई घर लिएर जान्छ । बन्दनाका बुढाबुढी छोराको यस्तो क्रियाकलाप देखेर चकित हुन्छन् । तर, छोराले घरमै ल्याइसकेपछि राहुलको खुसीमा नै आफ्नो खुसी ठान्दै दुवैको बिहे गरिदिन्छन् ।
बिचरी बन्दना कसरी छोराको मन दुखाउन सक्थिन् र । सानैदेखि पुल्पुलाएर पालेकी हुन्छिन्, त्यसैले राहुललाई कुनै किसिमको दुःख दिन चाहदैनथिन । खुसी साथ उनीहरूको प्रेम स्वीकार गर्दै एउटा नयाँ ढंगले जीवनको सुरुवात गर्ने सल्लाह दिन्छन् ।
बन्दना आफ्नो श्रीमानसँग भलाकुसारी गर्ने क्रममा बोल्छिन् ‘ए बुढा समय कति चाँडो बितेछ हगी । हिजोसम्म त सानै देख्ने गर्थेँ । तर, एकाएक ठूलो भएको महसुस गर्दैछु मैले.. !’
राहुल पनि निकै खुसी हुन्छ आमाबुवा आफूप्रतिको सकारात्मक स्वभाव देखेर । तसर्थ ऊ आफ्नो बुबाको काममा मन लगाउन थाल्छ र एउटा सफल व्यापारी बन्न पुग्छ । दिनहरु बित्दै जान्छन् र राहुल बुबा बन्न पुग्छ । घरमा खुसीको पाल छाउँछ । केही दिनको अन्तरालमा एक्कासी राहुलको बुबाको हृदयघात भई मृत्यु हुन्छ । पुरा परिवार शोकमा डुब्न पुग्छ । ‘कसको नजर लाग्यो हाम्रो घरमा भन्दै बन्दना छाती पिटीपिटी रुन थाल्छिन । राहुल सम्झाउँदै आमालाई आफ्नो र नातिको मुहार हेरेर बाँच्नुपर्छ हजुरले र अबका दिनहरुमा साथै जीवनको यात्रामा हामी एकजुट भई अगाडि बढ्नुपर्छ ।
रुँदै छोरा भन्दै बन्दना राहुललाई अँगालो मार्छिन् । यसरी दिनहरु बित्ने क्रममा ममताको स्वभावमा बद्लाव आउन थाल्छ । घरको काममा समय दिन छोड्छिन् र बहिरी संसारमा रमाउन थाल्छिन् । छोरालाई पनि समयको अभाव जनाउँछिन् भने यता बन्दनालाई घरको सम्पूर्ण भार पर्न जान्छ र नाति अभिलाषको स्याहार सुसार, खानपिन पनि बन्दनाले नै गर्न थाल्छिन् ।
राहुल बिहानदेखि बेलुकासम्म व्यापारमै व्यस्त हुने भएकाले घरमा भइरहेको खैलाबैलाको बारेमा उसलाई केही थाहा थिएन । गर्दागर्दा ममता घरमा सासूसँग मुखमुखै लाग्न थाल्छिन् र नानाथरिका वचन लगाउन पनि पछि पर्दैनिन् । बन्दनालाई बुहारीमा आएको बद्लाव र आफूसँगको व्यवहारले पर्नुसम्म पीर परेको थियो । दिनहू घरमा नयाँनयाँ साथीहरु ल्याउँदै बसिब्यालो गर्ने गर्थिन्, भने सासूलाई साथीहरु माझ एउटी कमैयाको परिचय दिएकी थिइन् । तर, पनि बन्दनाले कुनै संकोच नमानी सबैथोक सहँदै थिइन् ।
नाति अभिलाष आफ्नो आमाको नजिक जान पनि अप्ठ्यारो मान्दथ्यो त्यसैले उसका लागि आफ्नो हजुरआमा नै सबैथोक थिइन् । नातिलाई त झन् छोरा भन्दा पनि बढी माया गर्ने गर्थिन् बन्दना साथै कुनै कुराको कमी महसुस नगराउँदै पालनपोषणमा तल्लिन थिइन् ।
छोरा बुहारी आफ्नै दुनियामा रमाउँदा पनि बन्दनालाई कुनै अपसोच थिएन किनकी नातिको मुहारले उनलाई सबथोक भुलाएको थियो । ममता गर्दागर्दै आफ्नी सासूलाई देख्न पनि नरुचाउने भइसकेकी थिई ।

कसरी सासूलाई घरबाट निकाल्ने होला ? भन्दै एकदिन घरमा पैसा हराएको भनेर राहुललाई फोन गर्छिन् । ठूलो रकम हराएको हुनाले राहुल चिन्तित हुन जान्छ र हतारहतार घर पुग्छ अनि पैसा खोज्न थाल्छ । जसस्वरुप ममता खोज्ने बहानामा सासूको कोठाबाट रकम निकाल्दै राहुललाई देखाउँछिन् र राहुललाई आफ्नी आमा बिरुद्ध उभ्याउन सफल हुन्छिन् । बन्दना रुँदै आफूलाई यो बारे केही थाहा नभएको र आफूमाथि बिश्वास गर्न भन्छिन् । तर, ममताले राहुललाई आफ्नो अधिनमा परिसकेकी हुन्छिन्, जसस्वरुप राहुल ममतासँग सल्लाह गर्न थाल्छ र ममताले सासूलाई वृद्धाश्रम लिएर छोड्ने सल्लाह दिन्छिन् अनि केही नसोची राहुल आमालाई लिएर वृद्धाश्रम पुग्छ ।

रुदै आमाले नाति अभिलाषलाई अँगालो हाल्छिन् र छोरालाई यस्तो न गर्न आग्रह गर्छिन् । तर, पनि ममतामयी आमाको मुखबाट निस्केका कारुणिक शब्दहरुले ती कपटी जोडीलाई कुनै फरक पर्दैन र आमालाई त्यही छोडी उनीहरू घर फर्कन्छन् ।
जीवनमा आफूले गरेका सम्झौताहरु बन्दना झलझली सम्झन थाल्छिन्–जुन छोराका लागि आफूले दिनरात मिहिनेत गरी उसको पालनपोषण गरिन नौ महिना पेटमा राखिन् खाई न खाई उसलाई खुवाइन् र यो बुदेशकालमा आफ्नो सहाराको लठ्ठी होला भन्ने सोचिन् आज त्यही छोराले गरेको दुव्र्यवहारले बन्दना साह्रै दुखित भइन् तसर्थ रुदै एकदिन अवश्य छोराले बुझ्ने छ र आमाको कमी महसुस गर्नेछ भन्दै चित्त बुझाउँछिन् । वृद्धाश्रममा त्यसदिनको पर्खाइमा दिन बिताउन थाल्छिन्।
दिन बित्दै जान्छन् । यता राहुललाई आमाको कमी महसुस हुन थाल्छ । घरमा आमाको झल्कोले उसलाई सताइरहेको हुन्छ । घरमा सबथोक अस्तव्यस्त भएको हुन्छ । ममताको स्वभाव राहुलले बिस्तारैबिस्तारै थाहा पाउँदै जान्छ । एकदिन राहुलको दुर्घटना हुन पुग्छ । हस्पिटलमा रक्ताम्य अवस्थामा पुग्छ र उसलाई एउटा किड्नीको आवस्यकता पर्न जान्छ । डाक्टरले चाँडै भन्दा चाँडै ममतालाई किड्नीको व्यवस्था गर्न भन्नु हुन्छ । तर, त्यति छोटो समयम कतैबाट पनि नपाउँदा ममता अति चिन्तित हुन्छिन् । यसरी डाक्टरले ममतालाई आफ्नो किड्नी दिने सल्लाह दिन्छ । तर, ममताले दिन नकार्छिन् । जीवनका घडीहरू कम हुँदै जाँदा एकाएक बन्दना हस्पिटल पुग्छिन् र किड्नी दिन मञ्जुर हुन्छिन् । तर, डक्टरले कमजोरीको कारणले नदिन सुझाव दिन्छ ।
डाक्टरको कुराको बेवास्ता गर्दै अन्त्यमा उनले किड्नी दिन्छिन् । राहुल बाँच्न सफल हुन्छ र ममतालाई अँगालो हाल्छ । तिमी धन्यछौ ममता आज तिमीले गर्दा मैले नयाँ जीवन पाएँ । तर, ममता मौन बस्छिन् । डाक्टरले सबैथोक बताउनुहुन्छ । आमालाई सम्झिदै राहुल रुन थाल्छ अनि आमालाई भेट्न अर्को कोठमा पुग्छ । आमाको पाउ पर्छ र रुदै माफी माग्न थाल्छ । तर, बन्दना अचेत अवस्थामा हुन्छिन् अनि डाक्टरले केही समयपछि मात्र होस आउने जानकारी दिन्छ ।
थाहा नदिएर बन्दना पुनः वृद्धाश्रम पुग्छिन् र राहुलले यो सब थाहा पाएर भागी भागी अत्तालिदै वृद्धाश्रम पुग्छ जहाँ आमा सबै जनलाई छोराको महत्वबारे भनिरहेकी हुन्छिन् । ‘छोरा भनेका हाम्रा लागि एउटा बाँच्ने आधार हुन्, जसको कुनै मोल हँुदैन र उनीहरू विना हामी अधुरा छौं’ बोल्दै जाने क्रममा उनको नजर छोरा राहुलमाथि पर्न जान्छ अनि आँसु छचल्किन्छन् । उनले दौडिदै राहुललाई अँगालो हाल्छिन् ।
राहुल पनि आमा आमा मलाई माफ गरिदिनुस् भन्दै रुन थाल्छ । आमा छोरा निकैबेर रुन्छन् । अनि छोराले आफूसँगै घर जान आग्रह गर्छ । तर, बन्दनाले नकार्दै बाँकी दिनहरुमा जीवनका तीतामीठा पलहरूलाई यही बिताउने जनाउँछिन् । त्यतिकैमा अभिलाष र ममता पनि त्यहाँ आइपुग्छन् । ममता रुँदै बन्दनाको पाउ पर्छिन् र माफी माग्दै अबका दिनहरुमा कुनै किसिमका गल्तीहरू फेरि नदोहरिने बताउँछिन् । अभिलाषले बुबा राहुललाई कोट्याउँदै भन्छ, ‘बुबा बुबा म पनि ठूलो भएपछि तपाई र मामुलाई यही ल्याएर छोड्ने हो ।’
छोराको मुखबाट यस्ता शब्दहरु सुनेर राहुल अनि ममता एकअर्काको मुख ताकाताक गर्न थाल्छन्, भने बन्दना नाति अभिलाषको निर्दोष मुहारलाई नियाल्न थाल्छिन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१