ताजा अपडेट

डा. गोविन्द केसी प्रहरी हिरासतमा, ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइने

          |   115 Views   |   Published Date : 9th January 2018 |

1253654231DKC-(1)

काठमाडौं । मेडिकल शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसी अदालतको अवहेलनामा पक्राउ परेका छन् । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै अनशन थालेका केसीलाई बेलुका प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको हो ।

अनशनमा रहेका केसीलाई पक्राउ गरी राति नै हिरासतमा राखिएको छ । उनलाई अहिले बिहान ९ बजेपछि सर्वोच्च अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सर्वोच्चको आदेशअनुसार पक्राउ गरिएको बताएको छ ।

प्रहरी वृत्तमै अनशन बसे डा.केसी

पक्राउ परेका डा. गोविन्द केसी प्रहरी वृत्तमै अनशनमा बसेका छन् । सिंहदरबार प्रहरी वृत्तमा राखिएका केसी अनशनमा बसेको प्रहरीले जानकारी दिएको छ ।

डा. केसीलाई बेलुका अस्पतालबाट पक्राउ गरिएको थियो । सर्वोच्च अदालतले मंगलबार बिहान केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि केसीलाई अनशनस्थलमै पुगेर पक्राउ गरिएको थियो ।

केसीले त्यसअघि बाह्रखरीसँग कुरा गर्दै जहाँ लगेर राखे पनि आफू अनशनमै बस्ने बताएका थिए ।

सर्वोच्च अदालतले डा. शशी शर्मालाई डीनमा पुनर्वहाली गर्न आदेश जारी गरेको भोलिपल्ट सोमबार डा. केसीले पत्रकार सम्मेलन गरेर प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका थिए ।

त्यसलगत्तै सर्वोच्च अदालतले अनशनमा बसेका केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलको प्रतिवेदकमा गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाले अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको थियो ।

न्यायाधीश  डम्बर बहादुर शाहीको इजलासले गोविन्द केसीलाई अदालतमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका नाममा निर्देशन जारी गरेको छ ।
केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको छ ।

डा. केसी भन्छन्– सर्वोच्चको इज्जत गर्छु, भ्रष्टको मानहानी हुँदैन 

डा. गोविन्द केसीले सर्वोच्च अदालतको आफूले सधैं इज्जत गर्ने बताउँदै मानै नहुने न्यायाधीशको मानहानी नहुने बताएका छन् ।

सर्वोच्चको आदेशपछि बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै डा. केसीले भने, “मैले कहिले पनि अदालतको मानहानी गरेको छैन । सर्वोच्चको जहिले पनि इज्जत गर्छु । तर जसको मान हुँदैन । त्यसको मानहानी पनि हुँदैन । न्यायलाई बेच्नेहरुलाई मान गर्नुपर्छ भन्ने छैन । स्वच्छ न्यायाधीशमाथि मेरो जहिले पनि सम्मान छ ।”

उनले पक्राउ गरिए आफूलाई जहाँ लगे पनि अनशन नछाड्ने बताए । “म १३ पटकसम्म ज्यान हत्केलमा राखेर अनशनमा बसेको हुँ,” केसीले भने, “अहिले पनि मलाई तर्साउन खोजिएको हो भने म तर्सिनेवाला छैन ।”

 

 

 

 

 

 

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१