ताजा अपडेट

नैतिक आचरण, राजनीतिमा कति

          |   100 Views   |   Published Date : 7th January 2018 |

लेख :नारायण श्रेष्ठ

Narayan-Parshad-Shrestha

नेपाल प्राकृतिक सौन्दर्यले भरिएको भू–स्वर्ग हो । यहाँका हिम श्रृंखलादेखि तराईका फाँट आफैमा सौन्दर्यको प्रतिमूर्ति भएर प्रस्तुत भएका छन् । मनै लोभ्याउने लताकुञ्ज बागबगैँचा तथा स्वच्छ र वातावरणमैत्री जीवनशैली एवं आपसी मेलमिलाप र समझदारीको साझा फुलबारी साँच्चिकै अरुका लािग आकर्षणको केन्द्रविन्दु भएको छ ।

यसरी प्राकृतिक मनमोहकताले भरिएको यस भू–स्वर्गमा राजनैतिक स्थिरता र नैतिकतामा आधारित राज नेतृत्व यसले खोजिरहेको अवस्था छ । नीति र नैतिकतामा आधारित आचरण र समर्पण खोजिरहेको छ । भरखर स्थापित हुन लागेको संघीय संरचनासहितको राज्य व्यवस्था अनुकुल सुशासनको प्रत्याभूति यसले खोजिरहेको छ ।

यसरी एकातिर राष्ट्रले यसको स्वाभिमान र सौन्दर्य बचाइराख्न निर्देशन गरिरहेको छ भने अर्को तिर यसलाई मूर्त रुप दिन खोज्ने दलीय नेतृत्व बाटो बिराएको बटुवा झै यता उताका अवस्थामा आफूलाई प्रस्तुत गरिरहेका छन् । संघीय संरचनाको लागि निर्माण गर्नुपर्ने आधारभूत आवश्यकतालाई जनमतको माध्यमबाट मूर्त रुप दिन भरर्खरै सम्पन्न भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पनि यसले गतिलिन नसकिरहेको अवस्था छ ।

संघीय संरचनालाई संस्थागत गर्ने अभियानमा अगाडि बढ्न थालेको राज्यका मर्यादित अंगहरु पनि दुई कित्तामा विभाजित भएको छ । दलीय राजनैतिक सोचले विचार बाझिन गई संवैधानिक आधार धर्मराउन थालेको अवस्था छ । संविधानको अक्षरश व्याख्या गर्ने संवैधानिक अंगसमेत क्षणिक स्वार्थ र प्रपञ्चमा फस्दै जानलागेको अवस्था छ ।

संविधानभन्दा कानून र कानूनभन्दा नियम बलियो हुन्छ भन्ने मान्यता राख्दै संवैधानिक अधिकार र दायित्वलाई पन्छाईरहेको अवस्था छ । राज्यको नीति र व्यवहार पार्टीगत स्वार्थतिर केन्द्रीत भइरहेको छ । आफू बाहेक अरुलाई योग्य नदेख्ने सोच र आचरण नेतृत्वपंक्तिबाट उजागर भइरहेका छन् ।

एकथरी फलाना पार्टीको शक्तिलाई छिन्नभिन्न पार्ने दाउमा शक्तिको घेराभित्र आफूलाई परिचालन गराउने दाउमा लागिरहेका छन् भने अर्को थरी जनमतको आधारमा आफूलाई परिचालन गराउन उद्दत भइरहेका छन् । कोही शत्रुको पेटारो चिरफार गर्न समयलाई आफू अनुकुल व्याख्या र विश्लेषण गरिरहेका छन् । कोही मौकामा चौका हान्नुपर्छ भनि कुरो र कुलोलाई आफू अनुकुल बंग्याउन तल्लिन् छन् ।
नेतृत्वमा बसेका नेतृत्वकर्ता नैतिकतामा भन्दा अहंकार भित्र आपूmलाई प्रस्तुत गरिरहेका छन् । राजनैतिक जीत हारको खेलभत्रि संविधान र नेपालको स्वाभिमालाई विश्व रंगमञ्चमा प्रदर्शन गरिरहेका छन् । भन्दामा यो हाम्रो मौलिक संस्कृति र विचारबाट उत्पादित दस्तावेज हो भनि कुर्लने र आफू अनुुकुल भएन भने विदेशी नीतिमा यस्तो र उस्तो भनि आफूले आफ्नै चरित्रलाई संकुचित विचार भित्र गुम्स्याउन खोज्ने प्रवृत्ति उजागर गरिरहेको अवस्था छ । छाडा र गतिहीन आचरण प्रदर्शन भइरहेको छ ।

राष्ट्रिय राजनीतिलाई निश्चित गति दिनुपर्ने अवस्थामा पद र प्रतिष्ठालाई प्राथमिकता दिई छाडा संस्कारलाई संस्थागत गर्दैछन् । उद्देश्य विहीन गन्तव्यभित्र गुम्सिदै जनताको इच्छा र आकांक्षा विपरित मुते न्यानोको राजनैतिक संस्कार स्थापित गर्दैछन् । राष्ट्रिय स्वाभिमान र अखण्डताप्रति राजनैतिक नेतृत्वपंक्तिबाट खासै चासो देखिएको छैन ।

अन्तर्राष्ट्रिय राजनीतिले कहाँ कसरी कुन फड्को मारिरहेको छ त्यतातिर कसैको ध्यान गएको छैन । केवल शक्ति हत्याउने चालभित्र आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ । त्यति मात्र होइन पद र प्रतिष्ठा नभएर बाँच्न सक्दिन भन्ने मानसिक चरित्र प्रदर्शन भइरहेको छ । हुन सक्छ राजनैतिक उद्देश्य शक्ति र कुर्सी प्राप्तीको लागि होला तर शक्ति हत्याउने नाममा जनअभिमतको कदर नगरी नेपालको मूल कानूनलाई बंग्याउने संस्कार बसाल्न खोज्नु नेपालको लागि राम्रो विषय होइन ।
नेपालको गौरवमय इतिहासमा लेखिएको वीरतापूर्ण साहस र आफै मौलिकपन भित्र हुर्काउन खोजिएको संविधान यो र त्यो बहानामा अरुको पोल्टामा पर्ने गरी नेतृत्वपंक्तिमा राजनैतिक सोच देखिनु आफूले आफूलाई असक्षमताको पगरी गुथ्नु सरह हुन्छ । हिजोसम्म नेपाल र नेपालीको भाग्य निर्माण नेपाली आफैले गर्न सक्छन भनि कोरिएको इतिहासमा नैतिक प्रश्न उठ्ने गरी विदेशी इशारामा आफनो स्वाभिमानलाई गुमाउन खोज्नु कति उपयुक्त होला ? के जनताले यस्तै गर्नुपर्छ भनि जनअभिमत दिएका हुन् र ? पर्ख र हेरको नीति अबलम्बन गर्न नसक्ने राजनैतिक चिन्तन के नेपाली राजनैतिक स्वाभिमान हो ? त्याग र समर्पण भन्ने नारा केवल नारा मात्र हो की ? गणेशमान सिंह प्रधानमन्त्री नभएर पनि सर्वोच्च नेता बन्न सफल भए ।

के पद नै सबै हो र ? जन अभिमततर्फ ध्यान केन्द्रीत नगरी फलाना ठाउँमा यो लेखिएको छ फलानाले यो गर्नुपर्छ भनि व्यक्तिवादी सोच राजनीतिलाई शोभा दिँदैन । नेतामा हुनुपर्ने गुण र ओजलाई आफै घटाउदै लग्दा कसलाई खतरा निम्तिने हो ? यो कुरा किन राजनैतिक चरित्रभित्र प्रदर्शन नभएको होला ?
नेपालको स्वाभिमान र स्वतन्त्रताको लागि समय र परिस्थितिसँगै पौठीजोरी खेल्दै जनताको नेता बनी जनता कै हकहितका लागि समर्पित राजनैतिक सोच के २१औं शताव्दीको माग होइन ? बेमौसमी बाजा बजाउँदै सत्ता मोहलाई पहिलो प्राथमिकता दिई जनअभिमतलाई किन दोस्रो दर्जा ? यदि यस्तै रबैया बढ्दै जाने हो भने नयाँ पुस्ताले कस्तो राजनैतिक संस्कार सिक्लान् ? तसर्थ समय र परिस्थितिलाई आंकलन गरी स्वर्गजस्तो नेपालको र्सौन्दर्यलाई राजनैतिक, सामाजिक र आर्थिक हिसाबले परिपोषित कसरी गर्न सकिन्छ यसतर्फ सबै सचेत नागरिकले आवाज उठाउनु पर्ने बेला आएको छ ।

ज्ञानी र विवेकी जति पटक मरे पनि जन्मिरहन्छ तर अज्ञानी एक पटक मरे कहिलै जन्मदैन यो राजनैतिक चिन्तकले राम्ररी बुझ्नु पर्दछ । गर्छु भनि कुर्लनु र गराउनुमा धेरै फरक पर्दछ ।

परीक्षामा सबै उत्रनु पर्दछ । एक पटकको हारलाई सबै ठान्ने प्रवृत्ति आफैमा गलत धारणा हो । यो राजनीतिमा सुहाउने विषय होइन । त्यसैले नेपालको राजनीतिक क्षितिजमा वर्तमानमा देखिएको राजनैतिक विचलनको कारक तत्व आफै नभई आफूबाट यसको संरक्षण गर्न जरुरी हुन्छ । संयम र धैर्यताको राजनैतिक चरित्र निर्वाह गरी आफूलाई राजनीतिको सच्चा पहरेदार बनाउनु पर्दछ । राजनीति सधै एउटै धारबाट कहिले बग्दैन यो समय र परिस्थिति अनुसार बदलिरहन्छ । बस त्यसलाई पकड्न सक्नुपर्दछ । यो बुद्धिमानी हुन्छ ।
त्यसैले नीति र नैतिकतामा आधारित राजनीति चरित्र सबैमा हुन जरुरी छ । यो समयको माग हो । यसैमा नेपालको छवि उच्च बन्न सम्भव छ । सौन्दर्यले भरिपूर्ण नेपालको गरिमा विश्व सामु उज्वल नक्षत्र भई चम्किरहन्छ ।

राष्ट्रिय राजनीतिमा जनमतलाई लत्याई अन्य विकल्पलाई आधारमानी जसका लाठी उसका भैंस भन्ने उखान चरितार्थ गर्ने हो भने नैतिकतामा प्रश्न उठ्ला नउठ्ला ? दौडको आधारमा लिगलिगकोटको राजा छान्ने युग अब कदापी आउन सक्दैन । साथै पञ्चायती शासन अवस्थामा नागरिक शास्त्र नामक किताबमा उल्लेख भएको बहुदलीय व्यवस्था असफल हुनका कारण खोज भनि गरिने आउट प्रश्न फेरि दोहोरिने स्थिति ल्याउने चरित्र नेतालाई सुहाउँदैन ।

जनमतलाई लत्याउनु भनेको आफ्नै खुट्टामा आफैले बञ्चरो हान्नु हो । तसर्थ लामो संघर्षपछि आएको राजनैतिक परिवर्तन संघीय लोकतान्त्रिक शासन व्यवस्था दरिलो बनाउन नैतिकतामा आधारित चरित्र निर्माण गरी यसलाई संस्थागत गर्न सिकौं यो समयको माग हो आवश्यक पनि छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१