ताजा अपडेट

म जांदै छु अब कहिल्यै नफर्किने गरी…यो देशको जिम्मा तिमीलाई भयो…

          |   366 Views   |   Published Date : 6th January 2018 |

दीपक जी.एम.''आर्जव ''/  कथा : " राष्ट्रप्रेमी "

dee

  देशलाई माया नगर्ने कमै होलान तर पनि देशलाई खोक्रो बनाउँदै गरेका भ्रष्टाचारीहरु प्रति को बोल्ने भन्ने प्रश्न भने सबैको मनमा आउन सक्छ।कसले गर्छ भनेर चुपचाप बस्नु भन्दा शुरुवात हामी आफैले गरे शायद केही मात्रामा सहज हुने थियो ।

चोकमा एकजना मनुवा बोल्दै ” म एक सच्चा नेपाली हुं जसले आफ्नो प्राण दिएर भएर पनि यो देशको रक्षा गर्ने छ ,सक्छौ भने मेरो देशमा आँखा गाडेर त हेर ”। अचम्म लाग्यो मलाई त्यो मनुवाले बोलेका कुराहरु सुनेर र साथै छाती चौडा पनि भयो देश प्रति माया देखेर । ऊ हाथमा झण्डा बोकी रिसले हेर्दै थियो वरिपरि हिड्ने बटुवाहरुलाई देखेर अनि घरी झण्डा तिर घरी बाटोमा घुर्दै आफैमा भुनभुनाउदै थियो ।

म उसलाई तल देखि माथी सम्म नियाल्न थाले ‘ जो हेर्दै घिनलाग्दो फोहोरी,कपाल पनि बर्षौ देखि नकोरेको जस्तो अनि त्यही माथी डूंगडूंग गन्हाउने फाटेको च्यातिएका लुगा लगाएको । म सोचमा तल्लिन थिए की एक्कासी त्यस मनुवाको आवाजले मलाई झस्काई दियो ” मलाई माया छ मेरो देशको,के तँलाई छ हँ..! हाहाहाहा गर्दै त्यो मनुवा मेरो नजिकै बाट खित्का छोड्दै अगाडी बढ्छ ।

बाटोमा मानिसहरु उसलाई देखेर डराउँदै थिए भने कोही अचम्मका साथ उसलाई आँखा तर्दै थिए । म बडो चासो लिएर ऊ गएको हेरिरहे । खोइ के भयो मलाई उसको हरेक क्रियाकलाप मेरो दिमागमा भुमरी सरी नाच्न थाल्यो । एकाएक मोबाइल को घण्टीले म झसँग भए ” हेलो म आउँदै छु,बाटो मै छु लल आइहाले ‘।

दिमागमा नानाथरीका कुराहरु सोच्दै म अफिस पुगे जहा अविनाश मलाई कुरेर बसेको थियो ” मीटिंग शुरु भैसक्यो कहा हराको यार तँ,ल हिडँ छिटो भित्र सबैजना तँलाई नै कुरेर बसेका छन ” सोरी यार ढिला भयो ल जाउँ ‘। आज हाम्रो मीटिंग गाउँगाउँमा गएर उच्च शिक्षा तथा चेलीबेटी बेचबिखन लाई कसरी रोक्ने भन्ने बारे गाउँलेहरूमा यो सम्बन्धी ज्ञान दिनु थियो ।क्षणभर मै मीटिंग सिद्धियो,म र अविनाश कोठामा पुग्यौ अनि समान प्याकिँग गरेर मोटरसाइकिल स्टार्ट गरी अभियान तर्फ लाग्यौ ।

थानकोटमा गाडी इन्ट्री गर्दै अगाडी बढ्ने क्रममा मेरो नजर त्यही मनुवा माथी पर्यो,बाइक रोक्दै म ऊ तिर हेर्न थाले ।अविनाशले ‘ के भयो भनी सोध्यो । म मौन रहे। बाटो बाट केही पत्रिका उठाउँदै त्यो मनुवा जोड जोडले पढ्न थाल्यो ” तीनदिन देखि सप्तहरीमा बन्दले जनजीवन प्रभावित,प्रहरीको गोली बाट दुईजना निर्दोषको मृत्यु ”पढ्दै त्यो मनुवा नजिकैमा रहेको आर्मीको गाडी तिर हेर्न थाल्छ । सैनिकहरु भलाकुसारी गर्दै थिए र त्यो हेर्दै त्यो मनुवा एकदमै शान्त भई टोलाइरहन्छ।

” ल जाउँ हिडँ के हेर्दै बसेको त्यस्तो बहुला लाई…बाइक स्टार्ट गर्दै हामी गन्तव्य तिर लाग्यौ । केही समय पस्चात हामी मलेखु पुग्यौ र खाना खान थाल्यौ खाने क्रममा एक्कासी बाहिर बाट हल्ला आयो,के रहेछ भनी म बाहिर निस्किए ।मानिसहरुको घुइँचोले बाटोमा हल्ला प्रष्टै सुनिदै थियो ” उठा उठा छिटो..यता बाट तानौ अलिक छिटो गरौ बगालौ ” म नजिकै पुगे, गाडी दुर्घटना भएको रहेछ,कसरी भयो भनी बुझ्न खोज्दा गाडीले ओभरटेक गर्न लाग्दा बाटो सांघुरो भएकोले गाडी सँग मोटरसाइकिल ठोकिएर दुर्घटना भएको रहेछ ।

बाइक चालक सिकिस्त भएको हुनाले तुरुन्तै अर्को गाडीमा हालेर कठमाण्डौ तिर दौडाउँछन । अन्यलाई सामान्य चोटपटक लागेको रहेछ ।अविनाश बोल्छ ” अव्यवस्थित सडकले वर्षभरीमा धेरै दुर्घटनाहरु भईरहेका हुन्छन। सडक निर्माणका लागी करौडौ बजेट छुट्याइएको हुन्छ तर पनि भ्रस्टाचार को प्रकोपले हाम्रो देश नेपाल ढाकिएको हुनाले हामी केही पनि गर्न असमर्थ छौ ”।

हामी पुनह गन्तव्य तिर लाग्यौ। केही समयको अन्तराल पछि हामी पोखरा पुग्यौ,पोखरको अस्त व्यस्त सडक लाई चिर्दै हामी स्यांग्जा वालिंग तिर लाग्यौ।बाटो भरिका रमणीय दृश्यहरु को मज्जा लिदै हामी बेलका झिसमिसे अँध्यारोमा वालिंग पुग्यौ र एउटा होटलमा कोठा लियौ । सुत्ने तरखर गर्दै हामी ओछ्यानमा पल्टियौ,भोली देखि गाउँको अवलोकन गर्नु पर्ने थियो ।

भोलिपल्ट हामी गाउँ तिर निस्कियौ र घर घर पुगेर गाउँलेहरुलाई उच्च शिक्षा र चेलीबेटी बेचबिखन बारे ज्ञान दिन थाल्यौ । यसै क्रममा अगाडी बढ्दै जादा हाम्रो नजर एउटा सानो झुपडीमा पर्यो ।सांझको समय थियो । हामी त्यस घर तर्फ पाइला चाल्यौ जहा बाहिर पेटीमा बर्ष ७,८ की नानीले सानो दुधे बालकलाई खेलाईरहेकी थिई।

त्यतिकैमा भित्र बाट कुनै महिलाको आवाज गुन्जियो ”के के नै गर्छु देशको लागी भनेर भर्ती भयो अनि गोली खाएर अहिले खुट्टा काम नलाग्ने भएको छ,यही दिन देखाउनको लागी हामीलाई जिउँदै राखेको हो तिमीले…घरमा एक दाना चामल छैन अब यिनी पिउसाहरुलाई के खुवाउ म” हरिगति पारेर छोड्यौ होइन तिमीले” भर्ती न हौ भन्दा मानेनौ..मेरो बुवाले खोजेको जागिर तिम्रा लागी श्राप झै भयो ”अझ ससुरालीको एकपैसा खान्न कुनै उपकार लिन्न भनेर ठूलो बन्यौ..अहिले घर न घाटको बनाएर छोड्यौ ”।

जवाफमा कुनै पुरुष बोल्दै ” पख न पख कति कराउन सकेको होला यो आइमाई ,सरकारले केही न केही त गर्ला नी हामी पीडितहरु लाई..प्रजातन्त्र आइसक्यो देशमा थाहा छैन र तँलाई” ।”महिला रिसाउँदै भाडा फालेको प्रष्टै सुनिन्छ ” अझ लाज शर्म छैन तिमीलाई, तिमीले के के गरेनौ यो देशको लागी तर तिम्रो सरकारले के दियो र तिमीलाई..होइन किन आफ्नो मनलाई झुटो आश्वाशन दिन्छौ..किन मानदैनौ की भ्रष्टाचारले अब तिम्रो यो सरकार तिमी जस्तैं अपांग भइसक्यो भनेर..” भित्र एक्कासी सुनसान हुन जान्छ र क्षणभर मै पुरुषको रुवाइले कोठा नै थर्किन्छ।

त्यो सब सुनेर मलाई अचम्म लाग्यो । त्यस मनुवाको देशप्रतिको माया र देश सँग कुनै गुनासो नदेख्दा मन देखि नै एउटा बिगुल बज्यो तर बिचरा यस्ता कतिपय बीर नेपालीहरुको देशभक्ति र ज्यानको बाजी थापेर लडेर भएका शहिदहरु प्रति मनै देखि गर्वका साथै सलाम गर्न मन लाग्यो जसले मेरो मनमा देश प्रतिको माया अझै गाढा हुदै गयो । अविनाश मौन थियो,मैले जाउँ भन्दा अविनाश बाट कुनै प्रतिकृया नआउँदा मैले अलिक जोडले अविनाश भनी सम्बोधन गरे जसले उसको एकाग्रता भँग भयो ।

म तिर हेर्दै ल जाउँ भन्यो, म उसको आँखामा आँसु प्रष्टै देख्दै थिए तर मैले उसलाई कुनै प्रश्न गरेन। हामी क्षणभर मै होटल तिर लाग्यौ । खाना खाएर ओछ्ययानमा पल्टियौ तर निद्राले साथ नै दिएन,दिमागमा ती आवाजले डेरा जमाएर बसेको थियो जसले सोच्नु पर्ने बाध्यता गराएको थियो । भोलिपल्ट गाउँका हरेक क्रियाकलापको अवलोकन बटुल्दै हामी काठमण्डौ तिर प्रस्थान गर्यौ ।

बाटोभरि हिजो त्यो सानो झुपडी भित्रका आवाज मेरो कानमा गुञ्जिरहयो । केही समयको दुरी पार गर्दै हामी थानकोट हुदै राजधानी छिर्यौ,मौसमले पानी पर्नेको संकेत दिदै थियो । गफ गर्दै हामी अगाडी बढ्यौ,अगाडी बढ्ने क्रममा एकाएक अविनाशले ब्रेक लगायो,मैले के भयो भनी सोध्दा उसले अगाडी भीड तिर औला तेर्छायो ।अगाडी पूरा जाम थियो,मानिसहरुको घुइँचोले के भएको भनी थाहा भएन ,म बाइक बाट ओर्लिए र के भएको भनी सोध्दा गाडीले मान्छे हानेको भनेर भीड बाट जवाफ आयो।

भीडलाई चिर्दै घटनास्थलमा पुगे,कोही रक्ताम्य भई लडेको रहेछ । को रहेछ भनी नजिकै झुकेर हेर्दा त्यही मनुवा रहेछ जसलाई सबैले बहुलाको नाम दिएका थिए, हातमा नेपालको फर्फराउँदो झण्डा थियो। ” ऐया ऐया गर्दै त्यस मनुवाले म तर्फ हेर्दै बोल्यो ” म जादै छु नफर्किने गरी….. अब यो देशको जिम्मा तिमीलाई भयो ” यति भन्दै उसले प्राण त्याग्यो । आँखाबाट आँसु पुछ्दै मैले मातृभूमि झण्डाले नै उसको लाश माथी दोसल्ला सरी ओढाई दिए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१