ताजा अपडेट

सन्तान थरिथरिका

          |   117 Views   |   Published Date : 4th January 2018 |

लेख :चन्द्रराज पन्त  धन द्रव्यका अगाडि महादेवका पनि तीन नेत्र बोल्छन् भन्ने उखान सानो छँदा सुनेको थिए तर त्यसको अर्थ खासै थाहा थिएन । क्रमशः उमेर बढ्दै जाँदा थाहा हुदै पनि गयो ।

धन द्रव्यले त केहीलाई अनैतिकका साथै पतित् पनि बनाउँदो रहेछ भन्ने पनि क्रमशः बुझ्दै गएँ । मानिस परिस्थितिको दास पििन हुन्छ । बाध्यतावश केही लोभ गर्नु स्वभाविक पनि मानिएला । तर पनि नैतिवाण मानिसले लोभ गर्नु उचित होइन । व्यक्ति इमान्दार र नैतिवाण छ भने त्यसलाई लोभ गर्नुपनि पर्दैैन । इमान्दारीता नै उसको ठूलो पूँजी हो । त्यसमा नै उसको भविष्य खुसहाल हुन सक्दछ ।

तर अनैतिक र भ्रष्ट मानिसको इच्छा कहिले पनि पूरा हुन सक्दैन । जति नै उ पूँजीपति हुँदै जाओस् । उभिन्नो भाँडोमा अट्न सक्दैन । त्यसैगरी लोभी पापीहरुको आत्मसन्तुष्टि जति भए पनि सन्तुष्टि मिल्न सक्दैन । किनभने उनीहरुको मानसिकता नै विकारयुक्तका साथै ग्रसित रहेको हुन्छ । अहिलेको समयले हाम्रो समाजलाई नै विकारयुक्त प्रदुषणले छाएको अवस्था जस्तै छ ।

यस्तोमा त केही समय यतादेखि त मुलुककै राजनीतिक क्षेत्रलाई समेत दुषित पार्दै गइरहेको छ । यस्तो अवस्थाले गर्दा राजनैतिक शुद्धता फोहोरी खेलमा परिणत हुँदैछ । मुलुकमा सात दशकलामो बलिदानीपूर्ण संघर्षका कारण वर्तमान उपलब्धी प्राप्त भएको अवस्थामा यसको सुरक्षार्थका साथै सम्द्र्धन र संस्थागत विकासको अपरिहार्यताका बाबजुद अहिलेको राजनीति दिनप्रतिदिन दुगन्धित बन्दैछ ।

यसको एकमात्र कारण केही नेताहरुको मोहमाया जाल, धनद्रव्यप्रति आकर्षित हुँदै भोगविलासी जीवनमा फस्दै जानु नै मुख्य कारण देखिन्छ । सात दशक पार गरेका नेताहरु समेत सत्ता मोहमै डुबिरहनुको मुख्य कारण नै स्वार्थीपना हो । बुढा पुराना नेताहरुबाट नयाँ पुस्तामा सत्ता हस्तान्तरण गर्न अनुक्षिक देखिनु धनद्रव्य कुम्ल्याउने स्वार्थकै कारण होला ।

हैन भने मुलुक जनता र पार्टीको हितमा काम गर्न के झण्डा र डन्डाकै आवश्यकता पर्दछ र ? पदीय जिम्मेवारीबाट मुक्त भएर पनि सम्मानीत जीवन बिताउँदा के फरक पर्ला र ? बरु पदमा रहीरहँदा अपमानको बोझा बढ्दै जाने हुन्छ । यसको उदाहरण अहिले भएको प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारीमा टिकट वितरणमा भएको धनबलको बोलवालाकै अवस्थाले गर्दा दलका प्रमुख केही नेताहरु नै धनद्रव्यमै आशक्ति देखिए ।

दशकौंदेखि पार्टीमा समर्पित रहेका सिद्धान्त निष्ट नैतिकवान इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाई लोभी, स्वार्थी, अबसरवादी धनबहादुरलाई जसरी पार्टीमा हुल्र्दै मोलमोलाइ गर्दै टिकट बेची धनद्रव्य कुम्ल्याउने संस्कृतिले त केही पार्टीका पावरफुल नेताहरुसमेत धनद्रव्यप्रति आशक्त रहेको अवस्थाले इमान्दार नेता, कार्यकर्ताहरुको राजनैतिक भविष्यसमेत अन्धकारमय भइरहने त होइन । किनभने विलासी जीवनमा रमाएका स्वार्थीहरुको उभिन्नो रुपी चित्तको भाँडो कहिले पनि भरिन सक्दैन ।
मानिस एउटा चेतनशील प्राणी हो र नै समय अनुसार चल्नै पर्ने हुन्छ । त्यसका लागि आफ्नो कर्तव्य के हो त्यसमा चुक्नु हुँदैन । सचेत वर्गबाट आफ्ना बाबुआमाप्रति छोराछोरीको कर्तव्य के हो, त्यसैगरी बाबुआमाबाट पनि सन्तानप्रतिको दायित्व बोध हुन जरुरी छ । स्वार्थीपनाले बाबुआमा र छोराछोरीबीचको खाडल झाँगिदै गएमा त्यो दुबैका लागि प्रतिपादक ठहरिन सक्दछ ।

खासगरी धनसम्पत्ति जायजेथा कै विषयमा अहिले हाम्रो पारिवारिक सम्बन्धको संरचना नै खलबलिने अवस्थामा छ । बाबुछोरा, भाइभाइ र आमाछोरीबीच असमझदारी बढ्दैछ । धनसम्पत्ति एउटा साधन मात्र हो । त्यसको आवश्यकता कहाँ पर्दछ, कुन बेला पर्न सक्दछ, कसलाई पर्छ, त्यसैका लागि सञ्चित धनसम्पत्तिको आवश्यकता पर्ने हो ।

तर पनि अनावश्यक रुपमा धनसम्पत्तिका लागि आफ्नो नैतिकता नै गुमाउनाले असमझदारी बढ्दछ । खासगरी छोराछोरीहरुले बाबुआमाप्रतिको कर्तव्य ख्याल गर्नुपर्ने हुन्छ । तर केही पढेलेखेक धनाढ्य छोराबुहारी भनाउदाहरुले समेत बाबुआमाप्रतिको जिम्मेवारीको ख्यालै नगर्नु खाली सम्पत्तिमा मात्र आँखा लगाउनु मौका पारी सबै सम्पत्ति आफ्नो कब्जामा लिई सडक छाप बनाउनुले सामाजिक रुपमै कलंकित हुनु हो ।

त्यसैगरी बाबुआमाले पनि पुरानो मानसिकता त्याग्नु पर्ने हुन्छ । हाम्रो पालामा यस्तो उस्तो थियो, दुःख गरका थियौं भन्दै विगतलाई कोट्याउनु भन्दा समय सापेक्ष आफू पनि मानसिक रुपमा परिवर्तित हुनै पर्नेहुन्छ । यो समयको माग पनि हो । अबको पीढि व्यस्त जीवनचर्याको ख्याल गर्न सकेमा पनि समझदारी बढ्दै जान्छ । पारिवारिक कलहको मुख्य जड नै धनसम्पत्ति देखेको छ ।

यसका लागि आवश्यकता अनुसारको व्यवस्थाप भए परिवारबीच सद्भाव, सामन्जस्यता झनै मजबुद हुनेछ हैन भने समयको चक्रले आफूलाई पनि भविष्यमा आफ्ना सन्ततीले पनि आफूलाई बाबुआमाकै अवस्थामा नपु¥याउलान् भन्न सकिदैन । आफूलाई पनि सडक छापकै अवस्था आउन नदिनेतर्फ सचेत भई आफूले गर्नुपर्ने कर्तव्यको पालना गर्नुपर्ने नै हुन्छ । धनद्रव्यका अगाडि महादेवको जस्तो नियतिलाई अब असफल पार्नु नै श्रेयकर हुनेछ ।
वर्तमानमा मुलुकको राजनैतिक अवस्थाका साथै आफ्नो हक अधिकारका लागि अधिकांश नेपाली जनताको चेतना स्तर बढ्दो छ । यो सन्तोषको विषय पनि हो । तर सन्तोष मात्र त मुर्दा शान्ति जस्तै हो । जबसम्म विपन्न वर्गको आर्थिक र शैक्षिक प्रगति हुन सक्दैन तबसम्म मुलुकको राजनीतिले स्थायित्व पाउँदैन ।

साथै समाजमा विभेद कायम रहन्छ । त्यसका लािग विपन्न वर्गको उत्थानका लागि शिक्षा, स्वास्थ, रोजगारीका अवसर पाउनु पर्ने हुुन्छ । त्यसमा जनचेतना जागृतको आवश्यक पर्दछ । तर विडम्बना अस्थिर राजनीतिका कारण यस विषयमा राज्य नै मुखदर्शक कै अवस्थामा छ । लक्षित वर्गका लागि विभिन्न शिर्षकहरुमा त सरकारले वर्षेनी ठूलै धनराशी खर्चिएको छ । तर उपलब्धीको रिजल्ट त सन्तोषजनक छैन । गत हप्ता केही संस्थाहरु पुरस्कृत पनि भए ।

तर पुरस्कृत गर्ने संस्थाले पुरस्कृत भएका संस्थाहरुको नाममा होइन कामको आधारमा पुरस्कृत गर्न सकेको भए सुनमा सुगन्ध थपिने थियो कि ? तर सरकारी कार्यशैलीका आधार जस्तै रह्यो । धनद्रव्यका अगाडि महादेवका तीन नेत्रकै अनुशरण त्यहाँ पनि देखियो ।
सन्तान थरिथरिका जस्तै हाम्रो समाजमा निस्वार्थ सेवा गर्नेहरुको पनि कमी छैन । तर स्वार्थीहरुको भिडमा निस्वार्थीहरुको बोली नै हराउँदै जाने रहेछ । सामाजिक उत्थानका लागि समाजसेवीहरुले ठूला ठूला धनराशीसमेत दान गरेका छन् । अघिल्लो वर्ष भरतपुर अवस्थित पद्मोदय विद्यालयलाई केही दानवीरहरुले मनग्य दान गरे । त्यसमा उनीहरुको कुनै स्वार्थ छैन ।

खाली शैक्षिक प्रगतिकै लागि पवित्र उद्देश्य राखेर दान दिइएका होलान् । भरतपुरको विद्यालयलाई त एउटा उदाहरणकौ रुपमा मात्र लिएको हो । विद्यालयलगायत अनेकौं संघ संस्थाहरुमा दाङ जिल्लामा मात्र वर्षेनी ठूलै धनराशी सहयोग प्राप्त हुने गरेको छ भने सरकारी तथा गैरसरकारी संस्थाहरुबाट आउने सहयोग अपारदर्शी देखिएको छ भने दानवीरहरुबाट प्राप्त हुने रकममा पारदर्शीता छ ।

दान दिने दाताहरुले कुन प्रयोजनका लागि दान दिएका हुन् त्यसमा नै उनीहरुको प्रगतिका लागि स्वार्थ होला भनि सामाजिक पहिचानका लागि पनि उनीहरुको इच्छालाई अस्वाभाविक मान्न सकिदैन । समाजमा यस्ता केही दानवीरहरु पनि छन् उनीहरुले आफ्नो नाम गोप्य नै राख्न चाहन्छन् । उनलाई आफ्नो पहिचान भन्दा पनि संस्थाका विकासप्रति नै बढी आशक्त रहेको पाइन्छ ।

उदाहरणका लागि पुरानो विषय भए तापनि घोराहीमा रहेको हिन्दू विद्यापिठ विद्यालय करोडौंको लागतमा निर्मित भवनमा दंगालीहरुको एक पैसा पनि समावेस भएको छैन । न त विद्यार्थीको फिस त्यसमा लगाइएको पनि छैन । स्वदेशी विदेशी दाताहरुको गोप्य दानबाट विद्यालय भवन निर्माण भएको हो । त्यस्तै घोराहीको श्रृडी साई मन्दिरमा पनि गोप्य दानमार्फत मन्दिर, धर्मशालाहरु बनेका छन् ।

त्यस्तै त्यस्तै प्रक्रियाबाट घोराहीमै अवस्थित ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयको भवनले पनि ऐतिहाहिसकता कायम गरेको छ । ओम शान्तिका नामले परिचित संस्थालाई त अघिल्लो साल एकजना दाताले त पाँच, छ करोडको घरजग्गा नै ठम्माइदिए ।

तर उनी औपचारक रुपमा परिचित हुन चाहेनन् । हुन त संस्था को नेतृत्व गर्ने व्यक्तिको कार्यकौशलता पनि भर पर्ने हुन्छ तर पनि गोप्य दान दिनेहरुको छाती फराकिलै भएको कारण उनीहरुको स्वार्थीरुपी उभिन्नो भाँडो भरियोस् या नभरियोस् केही फरक पर्ने रहेनछ । त्यस्ता दानवीरहरुका अगाड त महादेवका तीन नेत्रसमेत मुर्झाएको हुनुपर्दछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१