ताजा अपडेट

दयाहाङको स्वीकारोक्तिः कमजोर स्क्रिप्ट पन्छाउन नसक्दा फसेँ (झुर पटकथा स्वीकार्दा खस्कँदैछ ख्याति)

          |   178 Views   |   Published Date : 4th January 2018 |

maxresdefault

२० पुस, काठमाडौं । नेपाली चलचित्रमा ‘हिरो’को पुरानो मानक भत्काउँदै जबर्जस्त ‘इन्ट्री’ मारेका दयाहाङ राईमाथि अचेल आरोप लाग्न थालेको छ, ‘उनी फिल्मको ट्रयाकभन्दा आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा छन् ।’

यो आरोपसँग दयाहाङमा नेपाली चलचित्रलाई सही ट्रयाकमा डोर्‍याउने शक्ति भएको विश्वास पनि उत्तिकै देखिन्छ ।

दयाहाङका पछिल्ला चलचित्रहरु केलाउने हो भने अधिकांश उल्लेखनीय छैनन् । ती चलचित्र दर्शकले रुचाएनन्, हलमा चलेनन् । त्यसमा दयाहाङको अभिनय भने जिम्मेवार छैन । हरेक फिल्ममा उनी अब्बल छन् ।

जबर्जस्ती कथा लाद्ने प्रवृत्तिले ‘दयाहाङ’लाई डुबाएको हो । त्यसमाथि उनले सही स्किप्ट छनोट गर्न सकेनन्/जाँगर देखाएनन् । एकपछि अर्को चलचित्रमा व्यस्त हुँदा उनी यान्त्रिक बन्न पुगे ।

निर्देशक तथा चलचित्र समीक्षक नवीन सुब्बा भन्ने गर्छन्, ‘दयाहाङ पनि राजेश हमालकै बाटोमा लागे ।’ अर्थात्, चलचित्रको संख्या बढाउने चक्करमा उनले आफ्नो स्तर गुमाए ।

दयाहाङ नभएको भए

‘दयाहाङ राईजस्तो अभिनेता आधा शताब्दीमा एक पटक मात्र जन्मिन्छ ।’

फिल्मकर्मी नीर शाहले हचुवाका भरमा यसो भनेका होइनन् । दयाहाङमा यस्तो सामथ्र्य छ, जसको नामले दर्शकलाई हलसम्म तान्नसक्छ । रंगकर्मको आलोकमा उभिएका दयाहाङ आफैंमा एक साधक हुन् ।

दयाहाङ नभइदिएको भए नेपाली चलचित्रले काखी च्यापेको पात्र र प्रवृत्तिको धङधङी अझै बाँकी रहनसक्थ्यो । सोभित बस्नेत मार्काको ‘चटके’ फिल्म र त्यसले खडा गर्ने सुकिला-मुकिला ‘हिरो’हरु हिमपातमा टी-सर्ट लगाएर नाचिरहेका हुन्थे वा नयाँ लुगालाई सिलाएर गरिब पात्रको भूमिका निर्वाह गर्दै हुन्थे ।

त्यसो नहुन पनि सक्थ्यो । दयाहाङको पर्दापण हुनु अघिसम्म भने नेपाली चलचित्रमा त्यही प्रवृत्ति जारी थियो ।

पर्दामा अनौठो पात्र

भोजपुरको खावा गाउँबाट लाहुर जान हिँडेका दयाहाङ राजधानीमा कवि बन्ने धुनमा भुलिए । त्यही धुनले उनलाई अभिनयको झंकार दियो ।

जब उनको अभिनय सिल्भर स्त्रिmनमार्फत् प्रकट भयो, दयाहाङले नेपाली चलचित्रलाई हेर्ने र बुझ्ने कोण नै परिवर्तन गरिदिए । हिरो भनेकै खाइलाग्दो, अग्लो, ह्यान्डसम हुनुपर्ने पुरातन मान्यतालाई भत्काउँदै उनी नेपाली चलचित्रमा यसरी स्थापित भए, अरु ‘हिरोहरु’ स्वतः लाखापाखा लागे ।

जबर्जस्ती कथा लाद्ने प्रवृत्तिले दयाहाङलाई डुबाएको हो । उनले सही स्क्रिप्ट छनोट गर्न सकेनन्/जाँगर देखाएनन् । एकपछि अर्को चलचित्रमा व्यस्त हुँदा उनी यान्त्रिक बन्न पुगे ।

‘मेरो एउटा साथी छ’ फिल्ममा दयाहाङले सानो भूमिकामा अभिनय गर्दासम्म चिल्लोचाप्लो हिरोहरुकै हालिमुहाली थियो । चिटिक्क अनुहार र सुकिला गेटअपकै भरमा ‘हिरो’को तक्मा भिरेकाहरु नाचेर वा फाइट खेलेर अढाइ/तीन घण्टा पर्दामा बिताउँथे ।

दर्शकसँग भौतिक दूरी राखेर रेडिमेड ‘स्टारडम’ बनाउने चेष्टा गर्दागर्दै उनीहरु पर्दाबाट अलप भए । यसो हुनुको एउटै कारण हो, दयाहाङजस्ता अभिनयको ताकतमा उभिएका हिरोको उदय ।

 

dayahang-rai

सन् २००६ मा ‘अनागरिक’ खेल्दै गर्दा अथवा त्यसभन्दा अगाडि कवि बन्ने मनोभाव बोकेर शहरका गल्लीमा चक्कर काटिरहेका बेलाका दयाहाङ र आजका दयाहाङ सम्भवतः उस्तै छन् ।

उनको गहकिलो गुण भनेको मिलनसार स्वभाव, शालीन व्यक्तित्व, हार्दिकतापूर्वक व्यवहार हुन् । उनी दर्शक/शुभेच्छुकसँग हात मिलाउँछन् । मुसुक्क हाँस्छन् । कहिलेदेखि चिनेजस्तै गरेर बात मार्छन् । खेतालापातमा भेटिने यारजस्तै आत्मीयता दर्शाउँछन् । करिअरको यो उचाइमा समेत उनले दम्भलाई पैतालामुनि दबाएका छन् । उनी पटक्कै हिरोइजम देखाउँदैनन् ।

फिल्मबाट उनी आकर्षक पारिश्रमिक बुझ्छन् । दर्शकमाझ लोभलाग्दो लोकपि्रयता छ । मल्टिप्लेक्स र शहरका भित्ताहरु उनकै तस्बिरले रंगिएका छन् । तर, उनी सामान्य जीवनयापन गर्छन् । अनामनगरमा भाडाको फ्ल्याटमा बस्छन्, पत्नी, छोरा र भान्जीहरुको साथमा ।

‘भर्खरै घडेरी किनेको छु । विस्तारै बनाउनुपर्ला,’ उनले अन्कनाउँदै जवाफ दिए । हामीले सोधेका थियौं, ‘अब आफ्नै घर कहिले ठड्याउने ?’

दयाहाङ उस्तै परे ट्याम्पु चढ्छन् वा बसमा कोचिन्छन् ।

‘गोठाला-खेताला गरेर हुर्किएको मान्छे, साधारण जीवन नै मनपर्छ,’ उनी भन्छन् ।

खानपान, पहिरन शैली एकदम साधारण छ । साग हालेर पकाइएको सुँगुरको मासु र भात स्वाद मानीमानी खान्छन् । सामान्य पहिरन लगाउँछन् ।

‘मन परेको लुगा फुटपाथबाट पनि उठाइन्छ,’ दयाहाङ भन्छन्, ‘महँगो हुनुपर्छ भन्ने छैन ।’

एउटा फिल्म खेलेको भरमा हिरोइजम देखाउने जमातमा दयाहाङ अपवाद हुन् । ब्लकबस्टर फिल्मको थुप्रो लगाएर पनि उनमा तडकभडक छैन । दयाहाङको यो गुण उनको करिअरको ‘प्लस पोइन्ट’ हो ।

दर्शकको मनोविज्ञान के हुन्छ भने उनीहरु पर्दामा आफूजस्तै पात्र खोज्छन् । शायद दयाहाङमा दर्शकले त्यो अनुभूत गर्न पाउँछन् ।

Kabaddi Nepali Movie 05 -Dayahang Rai

दयाहाङको दम

वर्तमान फिल्म-बजारमा सबैभन्दा बिकाउ नाम हो, दयाहाङ राई । उनको आगमनसँगै नेपाली चलचित्रका पात्र र प्रवृत्ति फेरिए ।

दयाहाङले गर्ने अभिनय, गेटअप र भूमिकाले पनि सिंगो फिल्मलाई बोक्नसक्छ भन्ने आत्मविश्वास नेपाली चलचित्रमा पलायो । यही कारण खस्रो छाला, चिम्सा आँखा र औसत उचाइका दयाहाङ ‘हिरो’ बनेर सिल्भर स्त्रिmनमा उदाए ।

नेपाली फिल्म हाँक्ने उनी यस्तो सारथी बने, जसले फरक दिशा र गति समाते ।

दयाहाङको आगमनपछि नै हो, चलचित्रमा ‘हिरोइजम’को ह्याङओभर सकिएको । एउटा सामान्य पात्रको कथाले पनि फिल्मलाई डोर्‍याउनसक्छ भन्ने स्थापित एवं प्रमाणित गर्न दयाहाङको उपस्थिति अहम् थियो ।

उनको आगमनपछि नै हो, नेपाली फिल्म भन्नसाथ ‘नाक खुम्च्याउने’ पुस्ता हलतिर फर्किएको । ‘दयाहाङ राईको फिल्म लागेको छ’ भन्दै स्कुले विद्यार्थीदेखि तन्नेरीहरु टिकटको लाममा उभिन थाले ।

त्यसअघिको अवस्था कस्तो थियो भने नेपाली फिल्मको लाममा बस्दा दर्शक संकोचले खुम्चिन्थे ।

झट्ट हेर्दा उनी हिरोजस्ता थिएनन्, जो हामीले सोच्ने र बुझ्ने गथ्र्यौं । तर, फिल्ममा उनी यसरी उभिए, त्यसले हाम्रो दृष्टिदोष औंल्याइदियो । पर्दामा उनी हिरो भएनन्, बरु पर्दा बाहिर हिरो भए ।

दयाहाङको करिअरको टर्निङ पोइन्ट हो, चलचित्र ‘लुट’ । तर, लुटका उनी हिरो होइनन् । हिरोको भूमिकालाई जोडदार बनाउँदै उनी ‘गोफ्ले’को रुपमा इन्ट्री हुन्छन् ।

तर, यही सहायक भूमिकाबाट उनले आफूलाई स्थापित गरे । त्यसपछि ‘बधशाला’, ‘साँघुरो’, ‘टलकजंग भर्सेस टुल्के’जस्ता निख्खर स्वादका फिल्ममा उनले भिन्दाभिन्दै भूमिकामा आफूलाई समेटे । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘छड्के’, ‘कर्कश’जस्ता फिल्मले उनको स्टारडम कायम गरिदिए ।

क्रेजको ‘साइड इफेक्ट’

अन्ततः दयाहाङ आफैंमा एउटा ब्रान्ड बने । दयाहाङ भएपछि फिल्म हेरिन्छ भन्ने मनोविज्ञानले निर्मातालाई पच्छ्याउन थाल्यो । फलतः उनीहरु दयाहाङमाथि फिल्म बनाउन थाले ।

फिल्मको कथाले मागेर होइन, मगाइएर दयाहाङलाई हिरो बनाइयो । एकपछि अर्को फिल्ममा उनी छाउन थाले । फिल्म भनेकै दयाहाङको मात्र हो भन्ने आम बुझाइ रह्यो । उनको डिमान्ड चर्को रुपमा बढ्यो । ‘लोफर’, ‘झोले’, ‘सम्बोधन’, ‘फन्को’, ‘घामपानी’, ‘लप्पन छप्पन’, ‘त्यान्द्रो’, ‘लालटिन’जस्ता फिल्ममा दयाहाङलाई घुसाइयो ।

यसको साइड इफेक्ट उनको करिअरमा पर्‍यो । एकपछि अर्को फिल्ममा उस्तै भूमिकामा दोहोरिएका दयाहाङको रस निथ्रिँदै गयो । किनभने, निर्माताले ‘दयाहाङ फेम’ बिक्री गर्ने क्रममा उनलाई जस्ताको तस्तै पेश गर्ने प्रवृत्ति बढ्यो ।

त्यसपछि भने दर्शक दयाहाङ भन्नसाथ आँखा चिम्लेर टिकट काट्नुअघि सर्तक हुन थाले, ‘यसमा पनि नयाँ के होला र ?’

यस्तो लाग्थ्यो, फिल्म दयाहाङकै लागि बनाइएको हो । यसरी दयाहाङलाई मुख्य मेनु बनाएर पस्किने उपक्रम दर्शकलाई बेस्वादको लाग्न थाल्यो । उनका पछिल्ला फिल्महरु एकपछि अर्को चिप्लिँदै गए ।

‘जस्तोपायो त्यस्तो फिल्म खेल्न थालेपछि दयाहाङले दर्शकको अपेक्षा पूरा गर्न सकेनन् नि ?’ हाम्रो प्रश्न ।

‘खै, म हाम्रो फिल्मकर्मीहरुको केही बुझ्दिनँ हौं । एउटा स्क्रिप्ट लिएर आउँछ र फिल्म खोल्नुपर्‍यो भन्छ । सबै स्क्रिप्ट पढ्ने फुर्सद पनि हुँदैन । मन नपरेको स्क्रिप्टमा पनि काम गर्नुपर्ने बाध्यता छ,’ उनी भन्छन् ।

उनका अनुसार धेरै फिल्ममेकर कमजोर स्क्रिप्ट लिएर आउँछन् । त्यसलाई सोझै पन्छाउन सकिँदैन ।

‘खेल्दिनँ भन्न सकिँदैन । अलि पछि विचार गरौंला भनेर टार्ने गर्छु । तर, उनीहरु मलाई नै पर्खेर बस्छन् । एक वर्ष, दुई वर्ष पनि मलाई पर्खन्छन् स्क्रिप्ट सुधारेर आउँछु भन्छन् । तर, जब म उनीहरुका लागि समय निकाल्छु, स्क्रिप्टमा खास सुधार भएको हुँदैन । यसरी फस्ने गरेको छु,’ उनी भन्छन् ।

दयाहाङको स्वभाव नै हो, कुनैपनि कुरालाई सोझै नकार्न नसक्ने । कसैको मन दुःखाउन नचाहने । सबैलाई समान व्यवहार गर्न खोज्ने, सबैप्रति मित्रवत् व्यवहार गर्न खोज्ने । उनको यही गुण नै व्यावसायिक जीवनका लागि बोझिलो बन्ने गरेको छ । अहिलेको अवस्था ठ्याक्कै त्यही हो ।

wwwrr

कुँद्न बाँकी हीरा

करिब १२ वर्षे फिल्मी करिअरमा दयाहाङका बिर्सनलायक फिल्म दर्जन हाराहारीमा छन् । तर, यही अवधीमा उनले यस्ता फिल्म पनि दिएका छन्, जो संग्रहणीय छन् । यसको अर्थ उनी आफैंमा कमजोर भने होइनन् । उनलाई निखार्न, माझ्न सकेको अवस्थामा एकदमै अब्बल अभिनय निकाल्न सकिन्छ ।

कलाकारले आफ्नो पक्षबाट जतिसुकै मेहनत गरे पनि निर्देशन फितलो भयो भने फिल्म पनि कमसल बन्छ । एउटा राम्रो निर्देशकले भने दयाहाङबाट स्तरीय काम लिन सक्छन् । ‘सेतो सूर्य’लाई उदाहरणका रुपमा लिन सकिन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१