ताजा अपडेट

पर्दा पछाडिका… एक्लो बृहस्पती

          |   74 Views   |   Published Date : 1st January 2018 |

रचना: टिका बस्नेत   २०६३ साल बैशाख २६ गते । तत्कालिन जनआन्दोलन चलिरहेको थियो । घोराहीको ट्राफिक चौकस्थित पिपलबोट थियो । त्यहाँ कार्यक्रमको मञ्च बनाइएको थियो । त्यसको अध्यक्षता गर्दै थिए–नारायण गुरु । आन्दोलनमा सहभागी भएका एक लाख पचास हजार मानिसहरुलाई स्वागत गर्दै थिए–चन्द्रराज पन्त ।


आन्दोलनमा सहभागी हुने सबै माओवादी हुन् भनेर आक्रोश पोख्दै थियो दरबारले । त्यसको रिस पोख्दै स्वागत मन्तव्यमार्फत चन्द्रराज पन्तले भनेका थिए, ‘जनताले चाहेको परिवर्तन संस्थागत नभएसम्म म माओवादी नै सही ।’ त्यसपछि दर्शकदीर्घाबाट बजेको गडगडाहट तालीको गुञ्जाहट अहिले पनि पन्तको कानमा छ । त्यसको केहि दिनसम्म जिल्लाको चासो र चर्चाको विषय बनेका थिए–पन्त ।
पेसाले उनी कपडा व्यवसायी । दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्मको पदहरुमा बसेर जिल्लाको व्यवसायीक र व्यापारीकरणका लागि पन्तले खेलेको भुमिकाहरुको अहिले पनि चर्चा हुन्छ । २०५३÷०५४ सालदेखि संघमा छिरेका पन्त अहिले पनि संस्थागत रुपमा व्यवसायीक जीवनका लागि काम गर्छन् ।
२०५९ सालमा गठन भएको नागरिक समाजका सदस्यको रुपमा काम सुरु गरेका पन्तले युद्धका चर्को समयमा माओवादीसँगको वार्ता गर्ने उनी एक सदस्य हुन् । माओवादीको आन्दोलनलाई शान्तिपूर्ण बनाउनका लागि उनले वार्ताको माध्यमबाट सहयोग गरे ।
नेपालमा राणा शासन अन्त्य भएको ३ वर्ष पछि २०१० सालमा जन्मिएका हुन्–पन्त । अहिलेको घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्ने रामपुरको पन्त टोलमा बुबा हुकुमानन्द पन्त र आमा भागिरथा पन्तको कोखबाट उनले जन्म लिएका थिए । ६ वर्षदेखि विद्यालय भर्ना भई ५ कक्षासम्म बुका विद्यालय, ६ देखि ७ कक्षासम्म रामपुर, ८ देखि १० सम्म भरतपुरबाट शिक्षा हासिल गरेका थिए पन्तले ।
२०२५ सालतिर कक्षा ८ मा भर्ना हुन भरतपुर आएका थिए पन्त । उनी आएको १५ दिनपछि तत्कालिन सिडियोले विद्यालयकी बालिकालाई बलात्कार गरेको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । जीवनमा कहिल्यै जिन्दावाद र मुर्दावाद नसुनेका पन्तले पहिलो पटक यस्ता शब्दहरु सुने । शब्दहरु मात्र सुनेनन् विद्यार्थी भनेको ठूला मान्छे रहेछन् भन्ने महसुस पनि भयो । त्यसपछि सुरु भएको थियो उनको राजनैतिक जीवनको सुरुवात ।
भरतपुर विद्यालय । त्यहाँबाट धेरै राजनीति गर्ने व्यक्तिहरुले आफूलाई विकास गराउने ठाउँका रुपमा पाए । तत्कालिन समयमा काँग्रेस र कम्युनिष्टको दुई धार अलग्गै कोरिएको थियो । त्यो शिक्षकमा मात्र थिएन विद्यार्थीहरुमा पनि त्यो रेखा कोरिएको थियो । २०२८ सालतिर त्यहि कोरिएको रेखामा काँग्रेसको पल्लातिर परे–चन्द्रराज । सैद्धान्तिक र बैचारिक आस्था भन्दा पनि जानेर नजानेर उनी काँग्रेसलाई सहयोग गर्न पुगे ।
खुमबहादुर खड्काले भरतपुर विद्यालयको नजिकै रहेको सोतामा चन्द्रराजसहितका केहि साथीहरुलाई प्रशिक्षण गरेका थिए । पञ्चायत विरुद्ध काम गर्ने योजना अनुरुप विद्यालयमा वाल पेन्टिङ र कालो झण्डा गाड्ने जिम्मेवारी पाए । तर, रामपुर गाविस र विद्यालयमा कालो झण्डा त गाडे । तर, वाल पेन्टिङ गर्न सकेनन् ।
राजनीतिमा उनी अगाडि आएर कहिल्यै काम गरेनन् । तर, भित्री रुपमा चन्द्रराज पन्तको घरमा नै काँग्रेसले कार्यालय बनाएर संगठनात्मक काम गर्यो । बलदेव, चैतु, किष्णकिशोर, सहदेवलगायतका नेताहरुले गौतम टोलमा रहेको पन्तको घरमा बैठक बसेर काम गर्थे । पार्टीलाई झण्डा बनाउनका लागि कालो र रातो कपडा दिए, गोप्य सुचना आदानप्रदानका लागि पनि पन्त भरपर्दो माध्यम दिए ।
२०३६ सालको जनमत सग्रहमा बहदलको पक्षमा उनी सक्रिय भएर लागे । २०४६ सालको आन्दोलनमा समेत उनले नेतृत्वमा ठूलो सहयोग गरे । २०६४ सालदेखि निरन्तर नागरिक समाज दाङको सचिवको रुपमा काम गर्दै आएका छन्–पन्त । नागरिकहरुको अगुवाको रुपमा उनी अहिले स्थापित छन् । देशमा भएको साना ठूला परिवर्तनहरुको साक्षी पन्त जिल्लाको विकासका लागि भएका प्रयास र सफल कामहरुको पछाडि उनको पनि हात छ ।
१९ वर्षको उमेरमा विवाह गरेका पन्तको वैवाहिक जीवनको यात्रा ४५ वर्ष पुग्यो । १ छोरा र तीन छोरीलाई जन्म दिएका पन्तले आफ्नै अगाडि कठोर समय पनि भोग्नुभयो । एक मात्र छोराको २०५३ सालमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भयो । छोराबाट जन्मिएको नाति छ ।
जन्मिदा पनि मानिससँग केहि हुँदैन । ऊ केवल एक्लै आउँछ र फर्किने बेला पनि एक्लै एक्लै जान्छ । संसारमा आउनु पनि मानिसहरुको बसमा रहने विषय हैन । जाने बेला पनिको समय पनि मानिसको बसमा हुँदैन । बाहिर चर्चा आउन नचाहने तर समाजको परिवर्तनका लागि पछाडि बसेर ठूला–ठूला कामहरु गरेका छन्–चन्द्रराज पन्तले ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१