ताजा अपडेट

एउटै सिक्काको दुई पाटा जस्तैको अवस्था छ

          |   109 Views   |   Published Date : 28th December 2017 |

लेख चन्द्रंराज पन्त गत हप्ता घोराही उपमहानगरपालिकाको सभा हलमा एउटा सार्वजनिक कार्यक्रमको आयोजना भएको थियो । आयोजकले राम्रै मेहनतका साथ सम्बन्धित पक्षकालाई ठूलै संख्यामा जुटाएका रहेछन् ।

मलाई पनि फोनमार्फत आग्रह गरिएको थियो, ११ बजेको समय दिएका थिए । म ११ः३० मा घरबाट निस्किए । छिमेकका एक जना बुज्रुकसँगको सल्लाह अनुसार उहाँका घरमा पनि कार्यक्रममा जानका लागि सम्झाएँ ।

उहाँले नेपाली टाइम त हो, म आधा घण्टा पछि आउँछु है तिमी जाँदै गर भन्नुभयो । म त्यहाँबाट हिँडे । पहिला त म नै आधा घण्टा लेट गरे, पडौसी पुनः आधा घण्टा लेट गर्ने मनसाय बुँझे । मेरो मनमा अनेकौ प्रश्नहरु तेर्छिन लागे ।

हामी कति लापरबाह, समयको महत्वलाई ख्याल नगर्ने । दोषी आफै तर नेपाली टाइम भन्ने हाम्रो कस्तो मानसिकता । मनमा अनेकौ कुराहरु खेल्दै गए । नगरपालिका आत्तिदै पुँगे । तर प्रमुख अतिथि नआइसकेको हुँदा कार्यक्रम सुरु भएको थिएन । कस्ता प्रमुख अतिथि हुन्, टाइममै आउन नसक्ने भएपछि किन आतिथ्यता स्वीकार्नुपर्ने ।

उनको मात्र टाइमको ख्याल गर्नुपर्ने । कार्यक्रममा उपस्थित अरुहरुको के टाइमको महत्व नै हुँदैन त । कति टाढा टाढाबाट पनि आएका हुन्छन् । उनीहरुको पनि विवशताको ख्याल हुनुपर्ने । प्रमुख अतिथि महोदयलाई ११ बजे भनेको कार्यक्रम १ बजेतिर सुरु भयो ।

हल भरी भराउका साथै व्यवस्थित पनि थियो । काम विशेषले बाहिर जानुपर्ने भन्दै विशिष्ट अतिथिहरु शुरुमै मन्तव्य राख्दै बाहिरिदै गए । बोल्ने वत्ताहरुको सूची लामै देखेको थिए तर दुईघण्टा लेट हुँदा आयोजकले आधा घण्टा घटाउन बाध्य भएका थिए । प्रायः वत्ताहरु आफ्ना कुरा राख्दै बाहिरिने क्रम पनि जारी थियो ।

केही वक्ताले विषयवस्तु अनुरुप राम्रै ओजनदार मन्तव्य पनि राखे भने केहीले अर्थ न वर्थका विषयहरु उठाई उत्ताउलोपना पनि देखाए । दुई घण्टा लेट भएको हुँदा कार्यक्रममा सहभागीहरु आत्तिदै पाट्टिने अवस्थाले गर्दा पनि कार्यक्रमको उद्देश्यप्रति गम्भीरता देखिएन । आयोजकले औपचारिकता निभाउनुको विकल्प नै थिएन ।

प्रमुख अतिथि, विशिष्ट अतिथिको लापरबाही अर्थात समयको ख्याल नगरिँदा कार्यक्रमले सार्थकता नपाएको अवस्था जस्तै रह्यो । कार्यक्रम समयमा सञ्चान हुन नसके त्यसले अरुको समय पनि व्यवस्थापन गर्न अप्ठ्यारो पर्दछ भन्ने ख्याल कम्तीमा पनि प्रमुख अतिथिले बुझ्नु पर्ने हो ।
एक दशक पहिले तुलसीपुर उद्योग वाणिज्य संघको साधारण सभाको निम्तो आए अनुसार सहभागी हुन पुगे । ११ बजेदेखि शुरु हुने पत्र थियो, तर प्रमुख अतिथि २ बजे मात्र आए । त्यसबेलाको राजनैतिक अवस्था र दलहरुका कारण सर्वसाधारणसमेत अलग अलग कित्तामा बाँडिएका थिए ।

प्रमुख अतिथि मन्त्री महोदय जुन पार्टीका थिए त्यस पार्टीका कार्यकर्ता र शुभचिन्तकहरु (व्यापारीहरुसमेत) ठूलै संख्यामा उपस्थित थियो । तर फरक विचार राख्नेहरु भने नगन्ने रुपमा मात्र रहेको आभाष मैले पाएँ । २ बजे मन्त्रीजी लावालस्करका साथ आए । पानसमा बत्ती बाले । आयोजकले स्वागत भाषण नगर्दै मन्त्रीका कार्यकर्ताहरुले उद्घोषकलाई ढिलो भएको चिट ठम्याईहाले ।

आयोजक उ.वा.संघले महासचिवको वार्षिक प्रतिवेदनसम्म पढेर सुनाउने कोशिस त ग¥यो तर मन्त्री हतारिएको हुँदा मन्तव्यका लागि माइक दिन उद्घोषक बाध्य भए । मन्त्रीले धेरै जसो समय राजनीतिक भाषणमै खर्चिए । प्रतिपक्षको आलोचना गरे । अनि उ.वा.संघको प्रसंशा गर्दै म आजै काठमाडौं जानुछ । नेपालगञ्ज गएर प्लेन चढ्नु छ भन्दै मन्तव्य समाप्त गरे ।

प्रमुख अतिथिलाई विदा गर्न आयोजक बाध्य भयो । मन्त्री बाहिरिदा अधिकांश सहभागीहरुसमेत हलदेखि बाहिरिए । सवाल पहिले खचाखत थियो । तर जसै मन्त्री बाहिरिए सभाहल सुनसान जस्तै भयो । किनभने मन्त्री जुन पार्टी थिए सोही पार्टीका कार्यकर्ताको त्यहाँ ठू्लै संख्या थियो । मन्त्री बाहिरिएपछि सभाहलमा सुन्यता छाउँदै गरेको अनुभव गदै म फर्किए ।

मनमनै मैले आयोजकको अकर्मन्यताकै कारण पूरै कार्यक्रम उद्देश्य अनुसार सफल नभए जस्तो लाग्यो । प्रमुख अतिथिको समय नै थिएन भने उनलाई नै ल्याउनु थिएन । अतिथिले पनि समय नभए स्वीकार्नै नपर्ने । उ.वा.संघ जस्तो महत्वपूर्ण ओजनदार संस्थामा कम्तीमा पनि डेढ दुई घण्टा टाइम दिनुपर्ने होइन र ?
समयको चक्र, पनि विचित्र, ठीक एक वर्षपछि, दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारण सभा, यो पंक्तिकार अध्यक्ष, प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कुश कुमार जोशी, समय विहान ११ बजेदेखि, प्रमुख अतिथिको आगमन दिउँसो ३ बजे मात्र, सभा हलमा आधा जति मात्र सहभागी ता बचेको, प्रमुख अतिथिलाई आशन ग्रहण, स्वागत मन्तव्य, प्रमुख अतिथिबाट पानसमा बत्ती बाली सभा उद्घाटन, क्यामेराहरु प्रमुख अतिथितर्फ सोझिदै, फोटो खिच्नेहरुको समूह झुम्मिदै, टाँसिएर फोटो खिच्नेहरु तछाड मछाड को अवस्था मात्र रह्यो ।

कार्यक्रमर्ला राजनीतिक दल, नागरिक समाजलगायत विभिन्न संघ संस्थाहरुबाट शुभकामनाका सार्थै सुझाबहरु दिने लिनेको पालो समाप्त हुनै लाग्दा धन्य प्रमुख अतिथिको आगमन भएको हुँदा उहाँको पालो आइसकेको थियो तर अधिकांश अतिथिहरु बाहिरिसकेको अवस्था रह्यो ।

औपचारिकता त जसरी तसरी पुरा भयो, तर महासंघका अध्यक्षको ओजनदार मन्तव्य, आर्थिक विकास, समृद्ध नेपाल निर्माणका लागि व्यवसायीहरुको दायित्व, राजनैतिक दल सरकारबीच व्यवसायीहरुको सम्बन्ध, व्यवसायीहरुका अप्ठ्यारा साथै हकहितका बारेमा आदी धेरै विषय महासंघको धारणाबाट दंगाली राजनैतिककर्मी लगायत सामाजिक संघ संस्थाका प्रमुखहरु बञ्चित नै रहे । यसको मात्र कारण समयमा प्रमुख अतिथि सहभागी नभईदिँदा समयको महत्वको बुझ्न नसक्दा अथवा समय अनुसार आफू नचल्दा गोलमाल जस्तै जस्तै भयो ।
बगेको खोला र बितेको समय कहिले पनि फर्कन सक्दैन । समयलाई म्यानेज गर्न सकेमा महत्वपूर्ण ऐतिहासिक उपलब्धता हासिल हुन्छ भने समयको बेपर्वाहले ऐतिहासिकता नै गुम्ने गर्दछ । ०६४ सालमा भएको पहिलो संविधान सभाले संविधान बनाउन सकेन । त्यसको कारण समय सापेक्ष जनभावना अनुसार त्यसबेलाको प्रमुख पार्टी चल्न नसक्नु नै हो । नयाँ पार्टी तर प्रमुख दल भएको हुँदा उसमा दम्भ छचल्किदै जान लाग्यो ।

आखिरमा रित्तिने अवस्थामा पार्टीले ऐतिहासिक संविधान सभालाई नै समाप्त पारिदियो । प्रमुख पार्टीको महत्वाकांक्षी स्वार्थले गर्दा प्रदेशको सीमा बाँडफाँड गर्न नसकेको हुँदा नै राजनैतिक दुर्घटना हुन गयो ।

फलस्वरुप मुलुक दशकौ पछाडि धकेलियो । वर्तमन समयको राजनैतिक अस्थिरता, राजनैतिक दलबीच असमझदारीले गर्दा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भईसकेको अवस्थामा प्रदेश प्रमुखको नियुक्तिलाई लिएर ठूला तीन दलहरुबीच तीव्र रुपमा दुरी बढ्दै छ । यो राम्रो लक्षण होइन । प्रदेश प्रमुखमा आफ्नो मान्छे नियुक्त गर्ने गलत मनसायकै कारण दलहरु टाढिदै छन् ।

संविधानका धाराहरुको अपव्याख्या गर्नु विडम्बना नै हो । संविधान त एउटा सहमतिको दस्तावेज मात्र हो । यसमा ठूला तीन दलहरु सहमतिमा आउनुको विकल्प छैन । खासगरी ०४६ पछिका राजनैतिक घटनाक्रमहरुलाई नियाल्ने हो भने जबजब दलहरु मिलेका छन् ऐतिहासिकता कायम पनि गरेका छन् ।

अहिलेको अवस्था त नेपाली काँग्रेस र बाममोर्चा त एउटै सिक्काका दुई पाटा जस्तैको अवस्था छ । अलग हुन सक्ने अवस्था नै छैन । चाहे त्यो ०४६ को जनआन्दोलन, अथवा ०६२÷६३ को आन्दोलन नै किन नहोस् । संविधान निर्माणका क्रममा होस् दलहरुको एकताकै कारण सम्भव भएको हो ।

अहिले प्रदेश प्रमुख प्रदेशको राजधानी लगायत मुलुकको पुर्नसंरचनामा ठूला तीन दलबीच सहमति नभए मुलुक संघीयतामा जान असम्भव नै छ । त्यस्तो परिस्थितिमा जनताको आक्रोशको ज्वाला थाम्न प्रमुख नेताहरुले सक्नेछैनन् । ०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै हटाए ।

अब असक्षम भनि हटाउने पालो जनताको नै हुनेछ । जनता नै सर्वशक्तिमान छन् भन्ने नेताहरुले बुझ्न अब ढिलो हुँदैछ । यदि समय ढल्कियो भने ०६४ को संविधान सभालाई नै समाप्त गरे सरह संघीयताको अवस्था रहनेछ । प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्न नसक्ने नेताहरु त असक्षम नै ठहरिनेछन् । समयको महत्वलाई आत्मसात गर्न नसके समयले पनि लात लगाउन सक्दछ । समय जति बलवान केही छैन । उ पछाडि फर्कन जान्दै जान्दैन । यदि चेतना भया ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१