शान्ति निकेतनका विद्यार्थीकोे वेलकम घोराही कार्यक्रम: ( दश वर्षभित्र धारपानीलाई देशकै पर्यटनको गन्तव्य बनाइने)
पाण्डवेश्वर मन्दिरको अवस्था बुझ्न पुगेका शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थीहरुसँग कुराकानी गर्दै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले १० वर्षभित्र धारपानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनासहित काम भइरहेको जानकारी दिनुभयो । ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशनअन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रम लिएर पुगेका विद्यार्थीहरुसँग सचिव आचार्यले ७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरको विकासमा लागिपरेको बताउनुभयो ।
सरकारी निकायबाट २० करोड र दाताहरुबाट ५० करोड संकलन गरेर पूर्वाधार निर्माण गर्ने आचार्यको भनाई थियो । मन्दिर परिसरमा हालै १०८ शिवलिङ्ग, १०८ गौमुखे ढुंगेधारा, १ हजार ८ जोडा बरपिपल र ओम कुण्ड निर्माण गरिसकेको भन्दै आचार्यले हरेक महिना नयाँ संरचना निर्माण गर्दै लैजाने बताउनुभयो ।
‘मुख्य मन्दिरको २ हजार ६ सय मिटरको उचाइमा रहेको भग्नावशेष मन्दिरलाई जीर्णोद्वार गर्नुका साथै उक्त मन्दिर परिसरमा ३१ क्विन्टलको घण्ट राख्ने, मन्दिरमा पुग्न ४ हजार ९ सय ६३ खुटकिलाको भ¥याङ बनाउने गुरुयोजना निर्माण गरेका छौं’, सचिव आचार्यले भन्नुभयो, ‘यी कार्यका लागि दाताहरुको सहयोग रहने छ । ५० करोड खर्च अनुमान गरेका यी पूर्वाधार निर्माणका लागि सबै दाताहरुलाई सहयोगको अपील गरेका छौं ।’
सरकारी सहयोग भन्दा पनि दाताहरुको सहयोगबाट बढी पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको भन्दै सचिव आचार्यले सरकारी निकायको सहयोगमा २० करोड संकलन गर्ने र २० विगाहमा ताल, १५ विगाहमा संरचनाबिहीन पार्क र भ्यूटावर निर्माण गर्ने गुरुयोजना बनाएको बताउनुभयो ।
नेपालका पौराणीक र ऐतिहासिक मन्दिरमध्येमा लिइने पाण्डवेश्वर मन्दिरका लागि के–के चुनौती छन् ? भन्ने विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै सचिव आचार्यले भन्नुभयो, ‘सबै भन्दा मुख्य चुनौती जनचेतनाको अभावलाई लिएका छौं । मन्दिर परिसरलाई सफा राख्न धेरै चुनौति थपिएको छ । दैनिक १ हजार ५ सयको हारहारीमा आउने पर्यटकहरुले फोहोर गरिदिनाले यसको सफाई र संरक्षणमा चुनौति छ । त्यस्तै आर्थिक अभाव, जनशक्तिको अभाव पनि हाम्रा लागि चुनौतिका रुपमा रहेका छन् ।’
त्यस्तै विद्यार्थीहरुले आइतबार गोरक्ष रत्ननाथ मन्दिर चौघेराको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । विद्यार्थीहरुले मन्दिरको ऐतिहासिक अवस्था, वर्तमान अवस्था र यसका चुनौतिका विषयमा जानकारी लिएको आई.एस.ए. कोर्डिनेटर सुनिल गौतमले जानकारी दिनुभयो । मन्दिरको जानकारी लिन पुगेका विद्यार्थीहरुसँग कुरा गर्दै मन्दिर सञ्चालक समितिले ५ विगाह क्षेत्रफलमा मन्दिर फैलिएको, १ हजार २ सय ९५ विगाह जग्गा रत्ननाथ गुटी नाममा भए पनि हाल २ सय विगाह मात्रै जग्गा गुठीसँग रहेको र सबै जग्गा किरानसँग रैकरमा रहँदा आर्थिक अभाव भएको जनाएको छ ।
पौराणीक मन्दिरहरुको जीर्णाद्वार गर्नुपर्ने भन्दै समितिले आर्थिक अभावमा उक्त कार्य हुन नसकेको जनाएको छ । बिक्रमाब्दे ८०९ मा स्थापना भएको रत्ननाथ मन्दिरमा हाल २२ जना योगी रहेको भन्दै समितिले आर्थिक अभावमा यसको विकास गर्न नसकेको जनाएको छ ।
कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशनअन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रमका लागि दाङका धारपानी, गोरक्ष रत्ननाथ, अम्विकेश्वरी मन्दिर र बाह्रकुने दहलाई छनौट गरेको भन्दै आई.एस.ए. कोर्डिनेटर गौतमले सबै क्षेत्रको जानकारी संकलन गरी सम्बन्धित निकायलाई बुझाइने बताउनुभयो ।
विद्यार्थीहरुलाई सिर्जनशील बनाउन विद्यालयले यस खालका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले जानकारी दिनुभयो ।


Leave a comment