ताजा अपडेट

दि ट्रेजेडी अफ रामचन्द्र पौडेल

          |   115 Views   |   Published Date : 25th December 2017 |

लेख झलक सुवेदी   पहिले नै पाठकलाई प्रस्ट पारौँ, यो लेख रामचन्द्र पौडेलको राजनीतिक अबिच्युरीचाहिँ होइन । माधव नेपालले ०६४ को निर्वाचनमा दुई ठाउँमा पराजय व्यहोरे । लगत्तै पार्टी महासचिवबाट पनि राजीनामा गरेपछि उनको राजनीतिक अबिच्युरी लेखिएको थियो । तर, १५ महिना बित्दानबित्दा उनै माधव नेपाल चोरबाटोबाट देशका प्रधानमन्त्री नै भएर आए । त्यसपछि मलाई कुनै जिउँदो राजनीतिज्ञको राजनीतिक अबिच्युरी लेख्न डर लाग्छ)


नेपालका राजनीतिक दलहरूमा कुनै कार्यकारी अधिकार कम भएको तर देखाउनलाई ठूलो हैसियतको देखाउनुपर्ने व्यक्तिलाई व्यवस्थापन गर्न एउटा पद सिर्जना गर्ने चलन छ— वरिष्ठ नेता । त्यस्तो अभ्यास यता एमालेमा पनि छ । पार्टीको दैनिक राजनीतिमा कुनै निर्णायक हैसियत प्रदर्शन गर्न नपाए पनि माधव नेपाल र झलनाथ खनालहरू वरिष्ठ नेता कहलिन्छन् । कांग्रेसले त गणेशमान सिंहकै समयदेखि यस्तो अभ्यास गर्दै आएको हो ।


यस्तो अभ्यासको पछिल्लो चरणमा सभापति निर्वाचनमा पराजित भएपछि रामचन्द्र पौडेल पनि परेका छन् । उनलाई सबै कांग्रेसी र सञ्चार माध्यमले वरिष्ठ नेता भन्छन् । कांग्रेसको विधानमै यस्तो व्यवस्था छ कि कांग्रेसीहरू सान्त्वनास्वरूप रामचन्द्रलाई यो पदवी दिइरहेका छन् भन्नेचाहिँ यो पंक्तिकारलाई थाहा भएन ।

जे होस्, उनी वरिष्ठ नेताकै रूपमा चिनिन्छन् र कहिलेकाहीँ सामाजिक सञ्जालमा आफैँले आफैँलाई वरिष्ठ नेता भनिरहेका पनि भेटिन्छन् । उनै रामचन्द्र पौडेल गत सोमबार तनहुँको व्यास नगरपालिकाको खहरेमा पुगेर आफ्ना मतदातासमक्ष रोएछन् । मत दिए पनि नदिए पनि मतदातालाई धन्यवाद दिन पुगेका पौडेलसमक्ष मतदाताले आँसु खसालेर सहानुभूति दिएछन् । जनताका आँखामा आँसु देखपछि भावविह्वल हुँदै रामचन्द्रले पनि आँसु बगाएछन् । रामचन्द्र रोएछन्, यो नै समाचार हो । यो समाचारपछि अलिकति यी नेताको दुःखान्तबारे चर्चा गर्नु सामयिक नै हुनेछ ।
तनहुँको सामान्य परिवारमा जन्मेका रामचन्द्र पौडेल पोखराको संस्कृत पाठशालामा पढ्दै गर्दा वामपन्थी विद्यार्थी संगठनप्रति आकर्षित भएर राजनीतिमा लागेका थिए । उनीसँग मैले ०५९ तिर लामो कुरा गरेको थिएँ । अनेविफेको सम्मेलनमा भाग लिन आउँदा दामोदरशमशेरको दरबारमा कार्यक्रम हुन लागेपछि मैले बहिष्कार गरेँ भन्थे । यी नेतासँग मैले दुईपटक अन्तर्वार्ता गरेँ । पहिलो कुनै दिन प्रयोग होला । अर्कोचाहिँ दिल्लीबाट निस्कने एउटा म्यागजिनका लागि थियो, पूर्ण बस्नेतसँगै उनको घरमा पुगेर ०६४ साउनमा लिएको । माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव माधव नेपालको अन्तर्वार्ता डिकोड गरेर सकेको थिएँ ।

यिनको गर्दै थिएँ, अचानक कम्मरको मासु च्यातिएकाले १० दिनजति उठ्न सकिनँ । उता पत्रिकाको डेडलाइन सकियो । यिनको अन्तर्वार्ता पठाउन सकिएन । दरबारियासँग वामपन्थीको उठबस देखेर कांग्रेसतिर लागेको बताउँथे । तर, जब कांग्रेसमा लागे, तहिलेदेखि निरन्तर कांग्रेसकै राजनीतिमा छन् । एक दशकभन्दा बढी समय जेल पनि बसे । पेसेवर राजनीतिमा सामेल भए । ०४० को वरपर पुग्दा कांग्रेसका दोस्रो पुस्ताका अगुवा नेता भइसकेका थिए यिनी ।
मैले राजनीतिप्रति चासो राख्दा गण्डकीका कांग्रेसबाट सुनिने एउटा नाम यिनको पनि थियो । उनले राजनीतिका क्रममा साधारण पहिरनमा एउटा झोला बोकेर संगठन गर्दै हिँड्दाको बिम्बको चर्चा कसै मेरो मनमा पनि उनिएका छन् । यिनले खासगरी तनहुँ र लमजुङका कांग्रेसको राजनीतिक बिरासत थामेका थिए । २००७ सालवरपरको राणाविरोधी क्रान्तिमा श्रीभद्र शर्माले त्यस भेगको नेतृत्व गरेका थिए ।

श्रीभद्र र उमाभद्र खनाल, गोवर्धन पोखरेललगायत नरङ्गातिरका जुल्फे ठिटाहरू (यी जुल्फे नरङ्गे ठिटामध्येका एकजनालाई मैले ०३७ माघमा नरङ्गाबेंसीमा भेटेको थिएँ र उनबाट धेरै कुरा सुन्न पाएको थिएँ० पुलिमराङका बखानसिंह गुरुङ) जसका छोरा धर्मध्वज २००७ सालमा बन्दिपुर आक्रमणका क्रममा सहिद भएका थिए, लमजुङ चिसंकुका श्रीप्रसाद घिमिरे तथा दुराडाँडाका श्रीकान्त अधिकारीहरू त्यस भेगका कांग्रेसका अगुवा थिए ।

यीमध्येका खनाल दाजुभाइको राजनीति पञ्चायत प्रवेश गरेर राजाको विश्वास आर्जन गर्न खोज्दाखोज्दै सकियो । श्रीकान्त अधिकारी पञ्चायत नै प्रवेश गरे र एकपटक रापंस पनि भए । बखानसिंह गुरुङ ०३८ सालमा पर्शुनारायण चौधरीसँगै पञ्चायत प्रवेश गरे र गद्दार अठतीसे समूहका रूपमा चिनिए । अरू जो थिए, तिनीहरू राजनीतिक संघर्षकै क्रममा बिते । एकप्रकारले सबैको राजनीति दुःखान्तमा सकियो । गोवर्धनका छोराहरू कृष्णचन्द्र नेपाली र रामचन्द्र पोखरेलले भने अझै कांग्रेस राजनीति गरिरहेकै छन् ।
यो पुस्तापछिको तनहुँको कांग्रेस राजनीति धान्नेहरूमध्येका अगुवाचाहिँ रामचन्द्र हुन् । गोविन्दराज जोशीलगायत धेरैले काम गरेका र शक्तिमा पुगेका भए पनि राजनीतिक रूपमा चाहिँ रामचन्द्र पौडेल नै त्यताका शीर्ष नेता बन्न सके । त्यस भेगमा उनको समयका अरू कांग्रेस नेताको पनि एक प्रकारको दुःखान्त नै भएको मान्नुपर्छ । तनहुँका गोविन्दराज जोशी र अम्मरराज कैनी, गोर्खाका चिरञ्जीवी वाग्ले र कास्कीका तारानाथ रानाभाटहरू राजनीतिका किनारामा बसेर अरूले गरेको सत्ताभोग हेरिरहेका छन् ।

०४८ पछि कुनै समय थियो, कांग्रेसीहरू रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवालाई मिलाएर आरएसएस भन्थे, जसलाई दोस्रो पुस्तामा कांग्रेस हाँक्ने नेताका रूपमा गनिन्थ्यो । तर, सत्ता राजनीतिमा अनेक पक्षले काम गर्छन् । ०४८ मा गिरिजा मन्त्रिमण्डलमा गृहमन्त्री भएपछि देउवा सधैँ शक्तिमा रहे । कोइराला परिवारलाई चुनौती दिएर पनि प्रधानमन्त्री बने, पार्टी विभाजन गरेर पनि प्रधानमन्त्री बने, पार्टी एक बनाएर पनि सभापति र प्रधानमन्त्री बने । शैलजा आफ्नै आकांक्षा र अहम्को रागले पिल्सिँदै सीमान्तीकरणमा धकेलिइन् र असमयमै बितिन् । पार्टीमा वरिष्ठ नेता कहलिँदा पनि रामचन्द्र पौडेल भने न कांग्रेसको ‘फस्र्ट म्यान’ हुन सके, न देशको प्रधानमन्त्री नै बन्न पाए ।
गिरिजाप्रसादसँग कुरो नमिलेर पार्टी फुटाउन हिँडेका पौडेल अन्तिम समयमा कांग्रेस बचाउन भन्दै शेरबहादुरलाई धोका दिएर पार्टीमै फर्किए । पार्टीमा त्यसअघि नै गिरिजाप्रसादलाई प्रधानमन्त्रीबाट हटाउने दरबारिया षड्यन्त्रमा जानी–नजानी फसेर उपप्रधानमन्त्रीबाट राजीनामा दिएका उनलाई गिरिजाले कहिल्यै उपल्लो तहको विश्वास गरेनन् ।

माधव नेपालले राजीनामा दिएर खाली भएको प्रधानमन्त्री पदमा निर्वा्चित हुन १७ पटक उम्मेदवार भएर पराजित भएका यिनलाई जब कांग्रेसले साँच्चै प्रधानमन्त्री पाउने अवस्था आयो, अनि उम्मेदवार नै बनाइएन । आफूलाई उदारवादी समाजवादका प्रवक्ता ठान्ने यिनले ०४७ यताका कुनै पनि कांग्रेस सरकारको आर्थिक सामाजिक नीति तय गर्ने ठाउँमा हस्तक्षेप गर्न सकेनन् ।

यद्यपि पहिलेका निर्वाचनमा यिनकै नेतृत्वमा घोषणापत्र तयार हुन्थे । न समाजवाद भन्न छाड्ने, न समाजवाद लागू गर्न सक्ने, एक प्रकारका रुन्चे राजनीतिक अभिव्यक्तिले यिनको आफ्नै उचाइ घटायो । यिनी जहिले पनि पदले कांग्रेसको माथिल्लो तहमा रहने तर व्यवहारले ‘आउटसाइडर’ बनिरहने अचम्मको स्थितिमा बाँचे । कसैको पनि किचन क्याबिनेटमा परेनन् ।
सुशील कोइरालाको निधनपछिको कांग्रेस महाधिवेशनमा सभापतिमा उठ्दा पनि यिनको उचाइ कमजोर देखियो । कतिसम्म भने सभापतिमा उठ्दा पनि उनको समूह पौडेल समूह नभएर कोइराला खेमाकै नामले चिनियो । स्वाभाविक थियो, सत्ता राजनीतिमा बढी गनगने भूमिकामा देखिने यिनले देउवाका दाउपेच चिर्न सकेनन्, सभापतिमा पराजित भए । ०४८ सालदेखि निर्वाचन जित्दै आएका यिनलाई यसपटक आफ्नै मतदाताले पत्याएनन् । वाम गठबन्धनबाट उम्मेदवार भएका राष्ट्रिय राजनीतिमा कुनै परिचय नभएका व्यक्तिले यी वरिष्ठ नेतालाई पराजित गरिदिए । त्यति मात्र होइन, पहिलोपटक आफ्नो परम्परागत प्रभाव क्षेत्र तनहुँ, लमजुङ, स्याङजा, कास्कीमा कांग्रेस नराम्रोसँग पछारियो । तनहुँमा कुनै पनि सिट कांग्रेसको हातमा परेन । उनी अहिले ७४ वर्ष भइसकेका छन् । अब अर्को निर्वाचन पाँच वर्षपछि हुनेछ । त्यतिवेलासम्म यिनको राजनीतिक जीवन ज्युनीमा बस्नेतिर धकेलिनेछ । सम्भवतः आगामी कांग्रेस महाधिवेशनमा यिनले कुनै बलियो समर्थनसहित सभापतिमा उठ्ने अवसर पनि पाउनेछैनन् । स्वाभाविक छ, हेर्दाहेर्दै आफ्नै परिचय र बिरासतको संकटमा पुगेको कुनै सक्रिय नेताले यस्तो वेला आँसु बगाउनेबाहेक केही गर्न सक्दैन । फरक यति हो, अरू घरभित्र बसेर रोए, पौडेल सार्वजनिक स्थानमा ।
उनी राजनीतिमा निरन्तर लागिरहे, एउटा व्यक्तिले गर्न सक्ने धेरै हदसम्मको त्याग पनि गरे । लगातार सत्तारुढ दलको नेता पनि बनिरहे । एकपटक सभामुख, केही पटक उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्रालय सम्हाले, पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति पनि भए । शक्ति अभ्यास गरे र निजी पारिवारिक जीवनलाई सहज बनाए ।

तर, पार्टी र देशमा कुनै अलग छाप छाड्न सकेनन् । यसपटक निर्वाचन जितेर प्रधानमन्त्री बन्ने अन्तिम आशमा रहेका उनको सपना निर्वाचन परिणामले हुरीले धुलो उडाएझैँ उडाइदियो । खहरेका मतदातासमक्ष उनले आउने दिनमा जनताको सेवामा लागिरहने भनेर वचन दिएछन् । तर, २६ वर्षसम्म अवसर पाएको, सत्तामा रहेको र निर्वाचित भएको व्यक्तिले चुनाव हारेपछि भनेका यस्ता कुराको के अर्थ रहन्छ भन्ने मतदातालाई पनि थाहा छ ।

अवसर पाउँदा यसै दम्भ पालेर बिताएका समयप्रतिको अपशोचबाहेक यसले के नै व्यक्त गर्छ र ?
राजनीतिका उच्चस्तरीय मञ्चमा रामचन्द्र जहिले पनि संख्याका अर्थमा मात्र उपस्थित देखिन्छन् । उनी जहिले–जहिले उच्चस्तरीय वार्तामा पुग्छन्, तहिले–तहिले अरू कसैका छायाभन्दा बढी लाग्दैनन् । उनको आफ्नै कुनै अलग व्यक्तित्व देखिन्न । जहिले पनि नियतिका दासजस्ता देखिने उनको दुःखान्तको अन्तर्नि्हित कारण पनि सायद यही होला ।(नयाँ पत्रिका दैनिकबाट

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१