ताजा अपडेट

” आफ्नै पोइको हत्यारा यँहा के गर्न आएकी होली “

          |   220 Views   |   Published Date : 23rd December 2017 |

कथा : " बिहे "

25674015_824682717716801_2123937550_n

दीपक जी.एम " आर्जव "     अझै उस्तै लाग्छ ती डांडा-कांडा,भन्ज्यांग,पानी पँधेरो ...जँहा आफ्नो बाल्यकाल बित्यो ।सबैको आँखाको तारा भएकी थिए तर आज त्यही गाउँलेहरुको तिरस्कारको शिकार हुन पुगेकी छु ,खोइ यी गाउँलेहरूले मलाई स्वीकार गर्छन की नाई...! मनमा अनेकौ डर ,शंका-उपशंका लिएर निर्मला चौपाराको एक छेउमा गई टुसुक्क बस्छे ।

बिस्तारै -बिस्तारै उज्यालो हुन थाल्छ ,उज्यालो भए संगै गाउँलेहरुको आवत-जावतको क्रम बढ्दै जान्छ। वन जाने आइमाईहरुको हुल त्यही बाटो जांदै गर्दा निर्मलालाई देख्छन ,त्यतिकैमा हुल बाट एकजना महिलाले प्याच्चै मुख खोल्चिन “छी छी.. कस्ती लाज पचाकी रहेछी आफ्नै पोइको हत्या गरेर पनि अझ के गर्न आएकी होली ,यो त कारगारमा थिई फेरी अचानक आज यति छिट्टै कसरी आईपुगी..”। ” हुलबाट अर्की महिला बोल्दै ” भागेर आए जस्तो छ यो…” भयो भयो केही नबोल यस्तालाई चलाउनु भन्दा नचलाउनै बेस ल हिडँ..” भन्दै एकआपसमा भुनभुनाउदै सबै वन तीर लाग्छन ।

निर्मलाको मन खिन्न हुन पुग्छ, ” यँहा आफ्नो भन्ने त कोई छैनन अब कसरी कुन मुख लिएर म माईत जाउँ, के भनु म कसरी बुवाआमालाई सबथोक बताउँ…उहांहरुको लागी त म मरीसकेको छु…! सानै देखी निर्मला चञ्चले स्वभावकी थिई ,चकचक बानीले घरमा सबैलाई दिक्क बनाएकी थिई । ” ठुलो भएपछि कस्ती हुने हो यो हे भगवान.. भन्दै निर्मलाकी आमा पुर्पुरोमा हात राख्दै पेटीमा बस्नु हुन्छ । उमेर संगै निर्मलाको स्वभावमा बदलाव आउन थाल्छ ,गाउँमा कसैको पनि दुख कष्ट देख्न नसक्ने निर्मला कोही मर्यो भने पनि सार्है रुने गर्थी । छोरीको कलिलो उमेर संगै उसका बानीहरु प्रति आमबुवा निकै भावुक थिए । एकदिन घरमा निर्मलालाई माग्न भनी अर्को गाउँको लठ्ठा जवान केटा आउँछ, बिहेको कुरा चल्छ । तर निर्मलालाई बिहे गर्ने मन नै हुदैंन ” केटा राम्रो छ अझ आर्मीको जागीर पनि रहेछ, त्यसैले यस्तो राम्रो केटा खोजेर पनि पाइन्न नानी केही नसोच हामी तेरा बुवाआमा हौं कहिले पनि तेरो नराम्रो सोच्दैनौं..” बुवाआमाको कुराले निर्मलालाई सोच्न बाध्य बनाउँछ र अन्तमा हुन्छ भनी सहमती जनाउछे ।

छोरीले बिहे गर्न मानेको देखेर बुवाआमा नै खुसी हुन्छन अनि एउटा राम्रो साइत हेरेर बिहे गरिदिन्छन । रुदै रुदै निर्मला घर देखी बिदा हुन्छे र आफ्नो श्रीमान संग एउटा नँया जीवनको शुरुवातको थालनी गर्छे । बिहे लगतै बिदा पनि सकिन्छ र घरमा निर्मलालाई छिट्टै आउने आश्वासन दिंदै रेशम पल्टन तीर लाग्छ ।

रेशम गएपछि निर्मलालाई सुनो लाग्न थाल्छ अनि सुनोपनलाई हटाउन माईततीर लाग्छे,छोरीलाई देखेर आमबुवा खुसी हुन्छन । केही दिनको बसाई पछि निर्मला पुन: घर फर्किन्छिन तर आँगनमा पाइला टेक्न साथ उसको होस ठेकानमा रहँदैन। घरको आँगनमा रेशम अरु कुनै आइमाईको काखमा पल्टिएको हुन्छ , एकाएक निर्मलालाई देखेर रेशम जरयाक-जुरुक उठ्छ ” कतिबेला आईस हँ…घर बस्न मन लाग्दैन नि तँलाई..म जान बितिक्कै माईत दौडीहाल्नु पर्ने तँलाई…त्यति भन्दै रेशमले निर्मलालाई हात हाल्छ..”” अइया नि बाबा मरे भन्दै आफूलाई नकुट्न बिन्ती गर्छे तर रेशम ” जँहा बाट आईस उतै गएर मुन्टे अलच्छिनी भन्दै एकोहोरो पिट्न थाल्छ ।

कुटे लगतै आफूसँग रहेकी महिलालाई लिएर रेशम घर भित्र छिर्छ अनि ढोका लगाउँछ । दिउँस देखी सांझ पर्छ तर निर्मलाका आँखाका आँसुहरु अझै सुकेका हुदैनन,घरको दैलोमा बसेकी निर्मला प्रति त्यो पापी क्रुरको मन पग्लिदैन। जीउभरि चोट नै चोट हुन्छ, दुखाईका कारण निर्मला दैलोमा कतिबेला निदाउन पुग्छिन थाहा पाउँदैनीन । बिहानीको झिसमिसेमा निर्मला ब्युझन पुग्छिन अनि आँगनमा अपरिचित महिललाई बढार्दै गरेको देख्छे ” बहिनी को हो तिमी अनि रेशमले किन त्यति सारो कुट्यो तिमीलाई..? जवाफमा हिजोको कुटाईले जीउ दुखेको कारण बिस्तारै निर्मला बोल्छे ” म उसको श्रीमती हो र हाम्रो केही समय अगाडी नै बिहे भएको हो…।

निर्मलाको कुरा सुनेर ती अपरिचित महिला अचम्म पर्दै बोल्छे ” तर मलाई त आफू विवाहित भएको भन्दै बिहे गरौ भनी पछि परेको थियो र हामी बीच माया बसेको पनि दुई महिना जति भईसक्यो…” । निर्मला रुन थाल्छे ,निर्मला रोएको देखेर ती अपरिचित महिला नरुन आग्रह गर्छिन र सँधैको लागी त्यँहा बाट निस्किन्छिन ।

केहीबेर पछि रेशम घर बाहिर निस्किन्छ अनि यताउता खोज्न थाल्छ तर कतै भेउ नपाए पछि निर्मलातीर आँखा तर्न थाल्छ , ” खोइ कँहा गई ? निर्मलाले सबथोक बताउँछे अनि रिसले होला रेशमले आँखा देख्दैन र कुट्न थाल्छ, कुट्दै जांदा निर्मलाले आफ्नो बचाऊको लागी रेशमलाई हुत्याउँदा एक्कासी ऊ ढुंगामा बजारिन पुग्छ र कहिले नउठ्ने गरी सदाको लागि निदाउन पुग्छ ।

निर्मला आतिदै ‘ए हजुर उठ्नुस न…के भयो भन्दै रुन थाल्छिन । क्षणभरमै गाउँमा हल्ला फैलिन्छ र केही समय पश्चात प्रहरीको एक गस्ती घटनास्थलमा आइपुग्छ अनि निर्मलालाई लिएर जान्छ। जेल चलान हुन पुग्छिन ,करिब पांच वर्ष पछि निर्मलाको राम्रो अनि अनुशासनलाई मध्य नजर गरी उनको अरु सजाय माफ गरिदिन्छ ।

गाउँलेहरुको हेराइले उनी एउटा हत्यारा हुन भन्ने जनाई रहेको थियो भने निर्मलालाई आफूले गरेको गल्ती प्रति कुनै पछुतो थिएन किनकी उसले जानी-जानी गरेकी थिइनँन । म जसरी भएपनि आमाबुवालाई सम्झाउछु भन्दै निर्मला माईत पुग्छे, घरको आँगनमा गुन्द्रीमा बुवालाई हुक्का तान्दै गरेको देख्छे ।

बुवा सामु पुग्छे ,छोरीलाई देखेर एकमन खुसी हुनुहुन्थ्यो भने अर्को मन उसले विगतका दिनमा गरेको अपराध सम्झेर गाली गर्न थाल्नु हुन्छ ” अहिले नै घर देखि निस्किहाल ,तँ जस्तो हत्यारको लागि मेरो घरमा कुनै ठाउँ छैन…” त्यतिकैमा आमाको आगमन हुन्छ । आमा केही बोल्न नपाउँदै निर्मलालाई वृतान्त बताउँछिन जुन कुरा सुनेर आमाबुवाको छोरी प्रति माया लागेर आउँछ ।

आमा रुन थाल्नु हुन्छ भने बुवाका आँखा पनि रसाएका हुन्छन ,आमा संगै निर्मला पनि रुन थाल्छे । केही समय पछि दु:ख-सुखका कुराहरु हुन थाल्छन ,निर्मला आफ्नी आमाको काखमा पल्टिएकी हुन्छे ।

छोरीको टाउको सुम्सुम्यादै आमा बोल्नुहुन्छ ” जे भयो भयो,अब एउटा राम्रो केटा खोजेर तेरो बिहे गरिदिन पाए सन्चो हुन्थ्यो हामी बुढाबुढीलाई…” । आमाको कुरा सुनेर निर्मला जरयाक-जुरुक उठ्छे ” गर्दैन म बिहे सिहे..एउटा बिहेले यँहा सम्म पुर्यायो झन अर्को बिहे गरे भने के हालत हुने हो मेरो…” छोरीको कुरा सुनेर बुवाआमा खित्का छोडी हास्न थाल्छन । अनि आमाले छोरीतीर हेर्दै मन्द मुस्कानमा बोल्नु हुन्छ ” लौ हिडँ नानी भित्र..तँलाई भोक लाग्या होला ” यति भन्दै सबैजना घर भित्र छिर्छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१