राजधानी गुम्ने चिन्तामा दंगालीहरु
दाङ, पौष ४ । करिव दश वर्ष लामो समय देखिको निरन्तर आन्दोलन गर्दै दाङलाई राजधानी बनाउन लविङ गर्दै आईरहेका दंगालीहरु यतिबेला संशकित र त्रसित छन् । सरकारबाट बाहिरिनु अगाडी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दाङलाई भन्दा पनि बुटवललाई अस्थायी मुकाम तोक्ने पहल गरीरहेको भन्दै दंगालीहरु चिन्तीत अबस्थामा छन ।
राजधानीको अस्थायी मुकाम तोक्ने विषयमा सम्भाब्यता अध्ययन गर्न आएको क्षेत्रीय प्रशासकको टोलीले बुटवललाई उचित देखेको खबर केहि दिनदेखि संसार माध्यममा आएपछि दंगालीहरु सचेत देखिएका छन । जस्का कारण नागरिक समाज दाङले तुलसीपुरमा गत १ गते दवावमुलक र्याली समेत निकालेको छ । प्रदेश सांसद अमरबहादुर डाँगीले दाङ राजधानी बन्नेमा शंका गर्न आबस्यक नरहेको बताउनुभयो । दाङको सम्भावनालाई सबै दल, सबै नेताहरुले मुल्यांकन गर्दै आएको भन्दै आफु दाङ राजधानी तोकिनेमा ढुक्क रहेको बताउनुभयो ।
राजनितीक दलहरुले राजधानी बन्नेमा कुनै शंका नगर्न आग्रह गरेको भए पनि जनताहरुमा भने विस्वास छैन । ‘अहिले आन्दोलनको माध्यमबाट भन्दा पनि समन्वयको माध्यमबाट अगाडी बढ्नुपर्ने बेला आएको छ । अस्तीको दवाव कार्यक्रम पनि मलाई धेरै फोन आएको छ ।’ नागरिक समाजका संयोजक टीकाराम रेग्मीले भन्नुभयो, ‘यहा दवावका कार्यक्रम हुँदा अन्य क्षेत्रहरुमा पनि दवावका कार्यक्रमहरु हुन सक्ने र यो विषयले झन जटिल मोड लिन सक्ने भएकाले अब समन्वय र सहकार्य गरेर यो विषयलाई टुंगोमा पुर्याउनु पर्ने मैले देखेको छु ।’ दाङ प्रादेशिक राजधानी सरोकार समितिको संयोजक रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघले गरेको छलफल कार्यक्रममा रेग्मीले राजनितीक दलहरुले गम्भीर भएर यो विषयलाई सोच्न आग्रह गर्नुभयो ।
तर राजनितीक दलहरुले भने आफुहरु प्रति कुनै किसिमको शंका नगर्न आग्रह गरेका छन । नेकपा एमाले दाङका पुर्वअध्यक्ष लक्ष्मण आचार्यले प्रादेशिक राजधानी दाङ देखि बाहिर जाने विषयमा कुनै पनि प्रकारले सहमती हुन नसक्ने बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला सचिब शंकर प्रसाद डाँगीले पनि नेपाली काँग्रेसमाथी शंका नगर्न आग्रह गर्दै पार्टीले दाङलाई नै राजधानी तोक्ने बताउनुभयो । दाङलाई राजधानीको रुपमा विकास गर्नका लागि नेपाली काँग्रेसले लगानी गर्दै आईरहेको उल्लेख गर्दै सचिव डाँगीले दाङमा राजधानी तोक्ने विषयमा कसैले पनि शंका नगर्न आग्रह गर्नुभयो ।
उता नेकपा माओबादी केन्द्रका नेता विश्वराज आचार्यले अहिलेको सरकारले दाङ बाहिर राजधानी तोके त्यसको सम्पुर्ण जिम्मेवारी काँग्रेसले लिनु पर्ने र नयाँ सरकारले बाहिर तोके त्यसको जिम्मेवारी पनि उसैले लिन सक्नु पर्ने बताउनुभयो । अहिलेको सरकारले दाङ बाहिर राजधानी तोक्ने विषयमा आफ्ना पार्टीका मन्त्रीहरुले नोट अफ डिसेन्ट लेख्ने उहाको भनाई थियो ।
हरेक आधारमा दाङ प्रदेश राजधानी बनाउन उपयुक्त हुँदा हुँदै पनि पँहुच र पावरको आधारमा बंग्याउनु घातक हुने निजि क्षेत्रका निकायहरुले बताएका छन । दाङ जिल्ला उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले दाङको आन्तरिक लुछाचुडीका कारण राजधानी गुम्न नहुने बताउनुभयो । ईतिहासमा धेरै सम्भावनाहरु घोराही, तुलसीपुर र लमहीमा तान्ने नाममा फुस्कीएको चर्चा गर्दै श्रेष्ठले यो राजधानीको विषय कुनै पनि हालतमा गुम्न नहुने बताउनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावतले उच्छृङखल र उत्ताउलो पारामा सडक तताएर यो विषयले टुंगो नपाउने बताउनुभयो । त्यसको लागि राजधानी दलहरुले समन्वयको आधारबाट अगाडी बढ्न आबस्यक रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष विमल रिजालले पनि आफु दाङ राजधानी तोकिनेमा विस्वस्त रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले पनि दंगालीहरुले लामो समय देखि आफ्नो जिल्लाको सम्भाव्यता पहिचान गर्दै राजधानीको रुपमा विकास गर्ने विषयमा आवाज उठाएको बताउनुभयो । अन्य जिल्लाहरुलाई विभिन्न समयमा दाङले सहयोग गर्दै आएको भन्दै प्रियासनले यस पटक दांङलाई राजधानी बनाउन सम्पुर्ण जिल्लाले सहयोग गर्नु पर्ने बताउनुभयो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले पछिल्लो समय बजारमा आएका चर्चा र भ्रमहरुलाई चिर्दै राजधानी दाङ बनाउन कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो । सरकारलाई आन्दोलन मार्फत दवाव दिनु भन्दा पनि शान्तिपुर्ण रुपमा समन्वय गरी अगाडी बढ्ने निर्णय भएको बताउनुभयो ।



Leave a comment