राजधानीको चचा संगै आकासियो जग्गाको मुल्य
दाङ, पौष ४ । दाङ ५ नं. प्रदेशको राजधानी बन्ने चर्चा चुलिएसँगै जग्गाको मूल्य आकासिएको छ । निर्वाचन अघिसम्म तीन गुणा कम मूल्यमा लैजान आग्रह गर्दा पनि बिक्रि नहुने जग्गा आज तेब्बर बढी मुल्यमा धमाधम बिक्रि हुन थालेका छन् ।
प्रदेश राजधानीको पहिलो बैठक बस्ने भनि चर्चा पाएको बेलझुण्डी क्षेत्रमा जग्गाको कारोबार ह्वात्तै बढेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर निवासी ३५ वर्षीय यज्ञबहादुर वलीले चलनचल्तीको भन्दा तेब्बर बढी मूल्य पाएपछि हालसालै साढे तीन कठ्ठा जग्गा बिक्रि गरेको बताए । प्रतिकठ्ठा दश लाखका दरले आफूले साढे तीन कठ्ठा जग्गा बिक्रि गरेको वलीले बताए । ‘चुनाव अघि मेरो जग्गा तीन लाख रुँपैंया प्रति कठ्ठाका दरले लैजाउभन्दा कसैले किनेनन्, तर आज त्यही जग्गा प्रतिकठ्ठा दशलाखको दरले बिक्रि भयो,’ उनले भने ।
वलीले साढे तीन कठ्ठाको तीन लाख बैनासमेत बुझिसकेको जानकारी दिए । ‘घरमै आएर जग्गा बेच्नुहोस् भनेर धेरै कर गरेपछि आइतबार बेलुका साढे ६ बजेतिर बैना बुझेको हुँ,’ वलीले भने । उनको जग्गा बेलझुण्डीदेखि झन्डै डेढदेखि दुई किलो मिटरको उत्तर तर्फ थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ झिङ्नी निवासी डिल्लीबहादुर डाँगीले पनि हालसालै आफ्नो ६ कठ्ठा विक्रि गरेका छन् ।
निर्वाचन अघि तीन चार लाख रुपैंया कठ्ठामा बिक्रि नभएको जग्गा डाँगीले पनि प्रति कठ्ठा १४ लाखका दरले विक्रि गरे। जग्गा विक्रि गरेपछि डाँगीले पनि बैना बाफतको रकम बुझिसकेको बताए । डाँगीले ६ कठ्ठा जग्गा बेचेका छन् । तर, कसैले पनि पुरा रकम भने पाएका छैनन्। हतारमा जग्गा किन्न आउनेहरुले जति हुन्छ रकम दिएर केही दिनमै सबै रकम दिने र जग्गा पास गर्ने सर्तमा बैना दिएको वलीले जानकारी दिए ।
यज्ञबहादुर वलीका अनुसार राजधानी बन्ने चर्चासँगै उनलाई तुलसीपुर र घोराही क्षेत्रका जग्गा दलालीको फोन धेरै आउन थालेको छ । ‘एकै कठ्ठा भए पनि हुन्छ, बाटो नभएको भित्री जग्गा भए पनि हुन्छ, तर मलाई पनि जग्गा खोजि दिनुर्पयो भन्ने फोन आउँछ,’ वलीले भने, ‘बरु राजमार्गमा गाडी कम गुड्दा हुन आज हाम्रा घर आँगणमा जग्गा किन्न आउनेहरुका मोटर गाडी धेरै आउन थालेका छन् ।’
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आर्युवेद क्याम्पस बेलझुण्डीसँगै भेडा बाख्रा चराउँदै गरेका ७० वर्षीय बासुदेब चौधरीले पनि त्यस्तै मत राखे। ‘राजधानी बन्ने चर्चा चलेपछि जग्गा बेच्नुहुन्छ ? भनि सोध्न आउनेहरु बढेका छन्,’–चौधरीले आशंका गर्दै भने ‘राजधानी बन्ने न बन्ने केहो त्यो भने दैब जानुन् ।’
साँझ बिहान रेडियो सुन्दा दाङ प्रदेश राजधानी बन्ने समाचार आफूले सुन्दै आएको उनले बताए । त्यसैगरी आयुर्वेद क्याम्पससँगै साँध जोडिएको बेलझुण्डी रंगशाला प्रवेशद्धारमा चिया गफमा पनि जग्गा दलालीको विगविगी बढेको कुरा चल्दै थियो ।
तुलसीपुर उपमहानगपालिका १८ स्यानी गाउँ निवासी ५४ वर्षीय दलबहादुर बस्नेतले चमत्कारिक रुपमा जग्गाको मूल्य आकासिएको भन्दै आस्चर्य व्यक्त गरे। ‘हावा जस्तै हल्ला व्याप्त भएको छ र त्यही हावामा जग्गाको मूल्य बतासिएको छ,’ बस्नेतले भने ।
उनले आफ्नो जग्गाको वरिपरी नेपाल संस्कृत विश्वविद्यालयको जग्गा भएको हुँदा हालसम्म त्यसले उचित मूल्य नपाएको र अब राजधानी बन्ने हल्लापछि जग्गाको मूल्य बढेको हुँदा विकासको लागि विश्वविद्यालय भन्दा राजधानी आउन आफूले आवश्यक ठानेको तर्क गरे ।
त्यस्तै उनले जग्गा दलालीहरुले जति नै प्रलोभन र करकाप गरे पनि आफूले जग्गा विक्रि नगर्ने कुरा बाँडे । ‘म मात्रै होइन, मेरो गाउँका कसैले पनि सायद जग्गा तत्काल बेच्ने मनस्थितिमा छैनन्, त्यसैले जग्गा दलाली त्यो बुझेर आसपासका गाउँमा पुगेको छन्,’ बस्नेतले भने ।


Leave a comment