ताजा अपडेट

बाम गठबन्धनका प्रतिबद्धता
‘कोइलाबास नाका सुचारु गराउनेदेखि देउखुरीलाई कृषि हवका रुपमा विकास गर्ने प्रतिवद्धता’

          |   13 Views   |   Published Date : 13th November 2017 |

दाङ, कार्तिक २७ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्रनम्वर १ मा बाम गठबन्धनले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ । आइतबारसम्म दुवै पार्टीका आन्तरिक प्रशिक्षण समाप्त गरी गठबन्धनले मंगलबारबाट सो क्षेत्रका विभिन्न स्थानमा चुनावी सभा गरेको छ ।

यसैक्रममा सोमबार गढवा र सिसहनियामा चुनावी सभा सम्पन्न भएका छन् । दुवै सभामा बोल्दै गठबन्धनका उम्मेदवारहरुले अबको ५ वर्ष देउखुरीका लागि स्वर्णिम युगका रुपमा विकास हुने बताएका छन् । गढवामा आयोजीत सभालाई सम्बोधन गर्दै क्षेत्रनम्वर १ को प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले देउखुरीलाई कृषि हवका रुपमा विकास गरिने बताउनुभएको छ । कुनै समय दाङको मुख्य क्षेत्रका रुपमा रहेको देउखुरीलाई पुनः अब्बल क्षेत्रका रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

‘कुनै समय देशकै प्रमुख नाकाका रुपमा कोइलाबास नाका रहेको थियो । हाल विभिन्न कारणले नाका सुचारु हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन जितेको केही समयभित्रै कोइलाबास भन्सारलाई सुचारु गरेर पुनः यहाँको आर्थिक चहलपहलमा तीब्रता ल्याउनेछौं ।’ त्यस्तै क्षेत्रनम्वर १ (१) प्रदेश सभाका उम्मेदवार इन्द्रजित चौधरीले कोइलाबास नाका सुचारु गरेर देउखुरी क्षेत्रमा आयातमुखी नभई निर्यातमुखी विकास गरिने बताउनुभयो । ‘देउखुरी आफैमा कृषिका लागि उर्वर भुमिका रुपमा रहेको थियो । विगतमा कोइलाबास नाकाबाट नुन आयात गरिन्थ्यो’, उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन जीते पहिलेजस्तो आयातमुखी नभई देउखुरी क्षेत्रमा हुने उत्पादनलाई निर्यात गर्ने खालको आर्थिक प्रणाली स्थापित गर्नेछौं । जसबाट हजारौंलाई रोजगारी प्राप्त हुनेछ ।’

कार्यक्रम समानुपातिकतर्फकी उम्मेदवार दामा शर्मा, बिरेन्द्र चौधरी, गङ्गा चौधरी, सीता यादवलगायतले बोल्नुभएको थियो । गढवामा आयोजित कार्यक्रमको सञ्चालन नेकपा एमाले गढवा गाउँपालिकाका सचिव शिवराज पन्थीले गर्नुभएको थियो, भने निर्वाचन परिचालन समिति गढवा गाउँपालिका वडानम्वर ६ का संयोजक वीरबहादुर ओलीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै राप्ती गाउँपालिकाको सिसहनियामा सम्पन्न कार्यक्रमको अध्यक्षता राप्ती गाउँपालिका वडानम्वर ५ का संयोजक ओमनाथ पाण्डे तथा सञ्चालन निर्वाचन परिचालन समितिका उपसंयोजक प्रमिता चौधरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन