ताजा अपडेट

‘अब युवाहरुको सपना पुरा हुन्छ’–पोख्रेल

          |   27 Views   |   Published Date : 13th November 2017 |

shankar

नवीन अभिलाषी दाङ, कार्तिक २७ । विभिन्न पार्टीहरु परित्याग गरेर सैयौं युवाहरु सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव छोडेर सैयौँ युवाहरु सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । केहि समय पहिले विप्लव नेतृत्वको नेकपा छोडेर तटस्थ रहदै आएका ज्वाला खतिवडासहितका युवाहरुको पहलमा ती युवाहरु एमाले प्रवेश गरेका हुन् ।

युवाहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा दाङ क्षेत्रनम्वर २ प्रदेश निर्वाचन क्षेत्र १ का उम्मेदवार शंकर पोख्रेलले पार्टी प्रवेश गराउनु भएको हो । ज्वाला खतिवडासहित ती युवाहरुलाई नेता पोख्रेल र एमाले केन्द्रीय सदस्य सुजिता शाक्यलगायतका नेताहरुले अविर र फूल मालासहित पार्टीमा स्वागत गर्नुभएको थियो । युवाहरुको बृहत भेलालाई घोराहीमा सम्बोधन गर्दै नेता पोख्रेलले सैयांै वर्षदेखिको युवाहरुको सपना अब पुरा हुने दिन आएको बताउनुभयो । अहिलेसम्म राजनीतिक दलहरु अधिकारका लागि लडाई गरेको भन्दै अब कम्युनिष्टहरुको सरकारपछि नेपालका युवाहरुले देशमै काम गरेर समृद्धिका लागि सहयोग गर्ने धारणा बताउनुभयो । ‘यहाँको खेती प्रणाली अहिलेसम्म परम्परागत रुपमै चलिरहेको छ । कृषिमा आधुनिकीकरण, प्रविधिहरुको प्रयोग, कृषिमै दक्ष जनशक्तिको संलग्तामा युवाहरुको भुमिका जोडिन्छ । त्यो हामीले निर्माण गर्न चाहन्छौं’, नेता पोख्रेलले भन्नुभयो, ‘प्रदेश नम्वर पाँचका कुनै पनि युवा विदेश गएर काम गर्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिलेको निर्वाचनमा बाम गठबन्धनले बहुमतका साथ जित्न आवश्यक छ ।’

आफू प्रदेशनम्वर ५ को मुख्यमन्त्रीका रुपमा आइसकेपछि पाँच वर्षभित्र कुनै पनि युवा रोजीरोटीका लागि विदेश जानुपर्ने बाध्यता हटेर जाने उहाँको भनाई छ । उहाँले पाँच वर्षभित्रै देशमा रोजगारी सिर्जना गरेर विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । अहिलेसम्म युवाहरुलाई राजनीतिक भर्याङका रुपमा मात्र प्रयोग गरिएको भन्दै उहाँले अब युवाहरु नेतृत्वमा आउन आवश्यक रहेको बताउनुभयो ।
निर्वाचन परिचालन कमिटी घोराही उपमहानगरपालिका वडानम्वर १५ का संयोजक बुद्धि पौडेलको अध्यक्षतामा तथा नेता शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठले गर्नुभएको थियो ।

यसैबीच पोख्रेलले पाँचनम्वर प्रदेशको विकासका लागि दाङकै नीति र नेतृत्वले अगुवाई गर्ने बताउनुभएको थियो । घोराहीको रतनपुर टोल विकास संस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले पाँचनम्वर प्रदेशको नेतृत्व गर्ने अवसर दाङले पाएको भन्दै यसको सदुपयोग गर्नतर्फ सम्पूर्ण जिल्लाबासी लाग्नुपर्ने बताउनुभयो ।

संस्थाका जेष्ठ नागरिक रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएको पोख्रेलले दाङको समृद्धिका लागि दाङको एकता आवश्यक रहेको बताउनुभयो । जिल्लाबासीले पार्टीगत राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने अवस्था आएको भन्दै पोख्रेलले भन्नुभयो, ‘मुलुकको राष्ट्रिय राजनीतिमा पहुँच नपुग्दा दाङले विगतदेखि नै धेरै अवसर गुमाएको छ । यस पटक राष्ट्रिय राजनीतिलाई हाँक्नसक्ने र जिल्लाको भविष्य कोर्नसक्ने बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरा र शंकर पोख्रेललाई विजयी बनाउनुहोस् । हामी जिल्लाको समृद्धिको रोडम्यापसहित निर्वाचनमा होमिएका छौं ।’ दाङ विभिन्न सम्भावना बोकेको जिल्ला भएको भन्दै पोख्रेलले सही नीति र सक्षम नेतृत्वका कारण दाङ पछाडि परेको बताउनुभयो । कार्यक्रममा बाम गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन