ताजा अपडेट

किन सन्तुष्ट हुँदैनन् सेवाग्राही

          |   273 Views   |   Published Date : 8th September 2016 |

Karmachari

नवीन अभिलाषी, दाङ भदौ २३ । जिल्ला कृषि विकास कार्यालय दाङले आर्थिक वर्ष २०७२÷०७३ मा कृषि प्रसारका लागि गरेको खर्चको बारेमा पत्रकार धनिराम शर्माले लिखित सुचना माग गर्नुभयो । असार ३१ गते पहिलो पटक माग गरेर सुचना नपाए पछि दोस्रो पटक फेरि साउन १२ गते लिखित रुपमा सुचना माग गर्नुभयो ।

सुचना पाउनुको सट्टा पत्रकार शर्माले सुचना माग गर्नुको स्पष्टिकरण दिनुप¥यो । जिल्ला कृषि विकास अधिकृतले नै किन सुचना माग गर्नु परेको ? माग गर्न कस्ले पठाएको ? सुचना लगेर के गर्ने हो ? जस्ता प्रश्नहरु गरेर सुचना नदिएको पत्रकार शर्माले बताउनुभयो । कार्यालयका सुचना अधिकृतले प्रमुख जिल्ला अधिकारीको तोक विना कुनै पनि सुचना दिन नमिल्ने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी समक्ष यो मुद्धा पुग्यो । पत्रकार शर्माले योजनाको आर्थिक हिसाबको श्रेस्ता माग गरेकाले नदिइएको भन्ने कृषि विकास अधिकृतको स्पष्टिकरणपछि यो विषय बन्द नै भयो । करिव एकवर्ष पहिले प्याव्सनका अध्यक्ष यादव गिरीले पनि जिल्ला शिक्षा कार्यालय दाङमा सुचना माग गर्दै लिखित निवेदन दिनुभएको थियो । जिल्लाका वैध अवैध विद्यालयहरुको बारेमा गिरीले शिक्षा कार्यालयसँग सुचना माग गर्नुभएको थियो । नयाँ विद्यालय सञ्चालनका लागि अनुमति प्राप्त गरेका विद्यालयहरुको तथ्यांक माग गरे पनि अहिलेसम्म पनि अध्यक्ष गिरीले प्राप्त गर्नुभएको छैन ।

यी घटना उदाहरण मात्र हुन् । सुचनाको हकका विषयमा दाङका केही सरकारी कर्मचारीहरुले सेवाग्राही माथि देखाएको यो व्यवहार हो । जिम्मेवार निकायका व्यक्तिहरुले समेत माग गरे बमोजिमका सुचना प्राप्त गर्न सकेको देखिदैन । दैनिक रुपमा सयौंको संख्यामा भिड लाग्ने सरकारी निकायहरुमा कर्मचारीहरुले सेवाग्राही मैत्री व्यवहार देखाउन नसकेको आरोप लाग्दै भएको छ । जनताको सेवा गर्नका लागि खटिएका निजामति कर्मचारीहरुले एकातर्फ आफ्नै अधिकारको वकालत गरिरहदा उनीहरुको कामप्रति जनता सन्तुष्ट बन्न सकेका छैनन् । अदक्ष कर्मचारीबाटै जनताले समस्या भोग्नु परेको बताउनुहुन्छ–नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त । ‘सेवाग्राहीहरु सन्तुष्ट र खुसी हुन नसक्नुको कारण कर्मचारीहरु अदक्ष हुनु, प्रक्रियामा झुलाउनु र सेवा भाव भन्दा पनि हाकिम प्रवृत्ती छ ।’

सचिव पन्तले भन्नुभयो, ‘समय अनुसार आफूलाई बदल्न नसक्नु, लोकतन्त्रप्रति जिम्मेवार नहुनुले पनि कर्मचारीहरुले सेवाग्राहीलाई खुसी बनाउन सकेको देखिदैन ।’ एकदुई जना कर्मचारीहरुको कारणले सिंगो पेसामा नै असर पुगेको मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा बताउनु हुन्छ । ‘सबै कर्मचारी त्यस्ता छैनन्, केहि कर्मचारीले समस्या बनाएको देखिन्छ’, संयोजक शर्माले भन्नुभयो, ‘निजामती कर्मचारी भनेको स्थानीय सरकारको प्रतिनिधि हो उसले आफूलाई जनताको सेवक ठानेर काम ग¥यो भने जनता खुसी हुन्छन् । तर, आफूलाई मालिक ठानेर काम गर्ने प्रवृत्तीले प्रशासकिय क्षेत्रमा समस्या छ ।’ कतिपय प्रक्रिया नबुझेर सेवाग्राही आफैले दुःख पाइएको छ, भने कतिपय कर्मचारीहरुले सहज प्रक्रिया हुँदाहुँदै पनि अफ्ठेरो प्रक्रियामा लग्ने गरेको पाइएको शर्माले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने सेवाग्राहीहरुलाई दुःख दिने मनसाय सरकारको नभएको बताउनुहुन्छ । जतिसक्दो छिटो छरितो सेवासुविधा दिने उद्देश्यले सरकारले प्रशासनिक सुधार गर्दै आएको उहाँको भनाइ छ । ‘जनअपेक्षा अनुरुप कुनै काम तत्कालै नहुन पनि सक्छ । तर, छिटोछरितो काम गर्नका लागि योजना, नीति र कार्यक्रमहरु सरकारले ल्याएको छ’, प्रमुख जिल्ला अधिकारी काफ्ले भन्नुभयो, ‘हामीहरु कानुनको कार्यान्वयनका लागि खटिने कर्मचारीहरु हौं । कानुनको कार्यान्वयन गर्नको लागि त्यसले प्रक्रिया खोजिहाल्छ ।’ कानुनले प्रक्रिया खोज्ने भएकाले सेवाग्राहीहरुले अलि झञ्जटिलो मान्ने गरेको प्रमुख जिल्ला अधिकारी काफ्ले बताउनुहुन्छ । प्रक्रियामा पनि धेरै ठाउँहरु सुधार गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले सुधार गर्नुपर्ने ठाउँमा सरकारले सुधार गर्दै गइरहेको बताउनुभयो ।

सेवा प्रभावकारी बनाउने
बुधबार परेको निजामति कर्मचारी दिवस जिल्लाका निजामति कर्मचारीले मनाएका छन् । ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने मुल नाराका साथ दिवसको अवसरमा कर्मचारीले प्रभातफेरी र छलफल गरेर मनाएका छन् । बुधबार बिहान घोराहीको ट्राफिक चोकबाट सुरुभएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको सभाहलमा पुगेर छलफलमा परिणत भएको थियो ।

दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षता एवं दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको प्रमुख आतिथ्यता एवं अर्का न्यायाधीश चुरामन खड्काको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने कर्मचारी संगठनका प्रतिनिधिहरुले सरकारी सेवालाई समयसापेक्ष बनाउँदै लैजाने प्रतिबद्धता गरेका थिए । जनताको कामलाई केन्द्रमा राखेर आफूहरुले सेवालाई छिटो छरितो बनाउन प्रतिबद्ध भएको बताउनुभएको थियो । निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष दलबहादुर बस्नेतले आफूहरु सेवाग्राहीको काममा जिम्मेवार रहेको भन्दै आफूहरुलाई प्रोत्साहनको आवश्यता भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष शेरबहादुर केसी, नेपाल निजामती कर्मचारी युनियन संघका अनन्तबहादुर डाँगी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष यम बुढालगायतकाले निजामती कर्मचारी देशको स्थायी सरकार भएकाले उनीहरुले सेवाग्राही मैत्री व्यवहार र सहज प्रक्रियाबाट कार्य सञ्चालन गर्नुपर्ने विचार राख्नुभएको थियो । महिला तथा बालबालिका कार्यालयका महिला विकास निरिक्षक मोती बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज शर्माले गर्नुभएको थियो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामति सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिव ८३ हजार निजामति कर्मचारी कार्यरत छन् ।

वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति दाङले दिवसको अवसरमा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा पद्मोदय पव्लीक उच्चमावि भरतपुरकी छात्रा रीना निरौला प्रथम, दाङ भ्याली उच्चमाविका छात्र अनिल पौडेल द्वितीय,

सिद्धार्थ एकेडेमीकी छात्रा ऋचा बुढाथोकी तृतीय र दीपशिखा उच्चमाविका नवीन जीएम सान्त्वना हुनुभएको छ ।
विद्यार्थीहरुले निजामति कर्मचारीहरुको अवस्था, उनीहरुको सेवा गर्ने समयको व्यवहार, कर्मचारीहरुको कारण देशमा भएको सकारात्मक तथा नकारात्मक व्यवहारलगायका विषयमा बोलेका थिए ।

आयोजक संस्थाका अध्यक्ष विकास गौतमको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य शान्तिकुमार रेग्मीको प्रमुख आतिथ्यता र नेकपा एमाले पेशागत ईञ्चार्ज श्यामकुमार आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न निकायका व्यक्तिहरुले आआफ्नो भनाइ राखेका थिए । नेपाल नर्सिङ संघका अध्यक्ष विमला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव बासुदेव गौतमले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१