ताजा अपडेट

अलपत्र बन्दै दाङका चक्रपथ योजना

          |   225 Views   |   Published Date : 7th September 2016 |

ring road wholeटीका बस्नेत, दाङ भदौ २२ । चक्रपथ निर्माणको योजना अगाडि बढाउँदा हर्षित भएका तुलसीपुरबासीहरु यतिबेला निराश बन्न थालेका छन् । बिगत ६ वर्ष अघि नगरपालिकाका विभिन्न वडाहरुलाई समेटेर निर्माण थालिएको चक्रपथ निर्माण योजना अलपत्र पर्न थालेपछि नगरबासीहरु निराश बन्दै गएका हुन् ।

तुलसीपुर नगरपालिकाले ६ वर्षअघि करीव ३ अर्बको लागतमा चक्रपथ निर्माणको योजना सुरु गरेको थियो । तुलसीपुर–६ राजापुरलाई सुन्य क्षेत्र मानेर वडानम्वर–२ को रक्षाचौर, १० को हेरेबास, डाँडाखुटी, भट्टे, ११ को अश्वारा, बटलपुर, साविक टरिगाउँ गाविसको राइखलियान, तुलसीपुर–६ को गोलौरा, टरिगाउँ गाविसको टरिगाउँ, तुलसीपुर–६ को दक्षिण कपडादेवि, उत्तर कपडादेवि हुँदै राजापुर जोड्ने गरी चक्रपथ निर्माणको योजना अगाडि बढाएको थियो ।

चक्रपथ निर्माणका लागि नगरपालिकाले हालसम्म करिव २५ लाख खर्च गरिसकेको छ । तर, ६ वर्ष बितिसक्दासमेत सीमाङ्कन बाहेक अन्य काम अगाडि बढ्न सकेको छैन । चक्रपथका लागि सीमाङ्कन गरिएको क्षेत्रमा वन क्षेत्र परेकाले निर्माण अगाडि बढाउन समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ । वन क्षेत्रमा बाटो बिस्तार गर्दा नीतिगत समस्या उत्पन्न भएकाले निर्माण रोकिएको भन्दै नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चक्रपथका लागि छुट्याइएको १० लाख रकम फ्रिज भएको जनाएको छ । करिव ४० किलोमिटर रहने अनुमान गरिएको चक्रपथ चारलेनको बनाउने प्रस्ताव तयार पारिएको थियो ।

तङ्ग्रीदै चक्रपथ योजना
चक्रपथ निर्माणको योजना अलपत्र पर्न थालेको समयमा यसको पुनःनिर्माणको प्रयास थालिएको छ । पूर्व नगरप्रमुख ढुण्डिराज लामिछानेको संयोजकत्वमा चक्रपथ व्यवस्थापन समिति गठन गरेर सुस्ताएको चक्रपथ निर्माण योजनालाई अगाडि बढाउने कार्यको थालनी भएको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । नगरबासीहरुको सल्लाह र आवस्यकतालाई मध्यनजर गर्दै समितिले चक्रपथ निर्माण योजना अगाडि बढाएको भन्दै कार्यकारी अधिकृत केसीले समितिले पहिलो चरणमा स्थलगल अनुगमन र डिपिआर निर्माण गरिरहेको जानकारी दिनुभयो ।

यता चक्रपथ व्यवस्थापन समितिका सदस्य–सचिव एवं कार्यालयका ईञ्जिनियर पवनकुमार योगीले भदौ अन्तिमसम्ममा डिपिआर निर्माण कार्य सम्पन्न गरिसक्ने जानकारी दिनुभयो । समितिको स्थलगत अनुगमनका क्रममा नगरबासीहरुबाट आएका सुझावलाई मध्यनजर गरी डिपिआर निर्माण गर्न लागेको भन्दै उहाँले चक्रपथ निर्माणका लागि यसवर्ष २५ लाख बिनियोजन गरिएको बताउनुभयो ।

नगरबासीबाट भित्री र बाहिरी गरी दुई किसिमका चक्रपथ निर्माण गर्ने सुझाव आएको भन्दै उहाँले समितिले बिस्तृत छलफल गरिरहेको बताउनुभयो भयो । नगरपालिकाको क्षेत्र बिस्तार भएको परिस्थितिलाई मध्यनजर गरी चक्रपथ निर्माण गर्ने सुझाव धेरैबाट आएको भन्दै इञ्जिनियर योगीले डिपिआर निर्माणपछि मध्यपश्चिम सडक डिभिजन कार्यालयबाट समेत ८ लाख बजेट बिनियोजन हुने आश्वासन आएको जानकारी दिनुभयो । ‘चक्रपथ निर्माणका लागि नगरपालिका अत्यन्तै सम्वेदनशील भएको छ । चक्रपथ व्यवस्थापन समितिले चक्रपथ निर्माण योजनालाई अगाडि बढाइरहेको छ’, योगीले भन्नुभयो, ‘नगरपालिकाको क्षेत्र बिस्तार भएकाले अघिल्लो सीमाङ्कन भन्दा फरक तरिकाले अगाडि बढ्न धेरैको सुझाव आएको छ ।’

आशंका कायमै
सुस्ताएको चक्रपथको योजनालाई पुनः सुचारु गर्न थाले पनि योजना पूर्ण हुनेमा नगरबासीमा अझै आशंका कायमै रहेको छ । ६ वर्ष पहिले निर्माण थालिएको चक्रपथ अलपत्र परेको समयमा पुनः सुरु गर्ने भन्ने जानकारी पाएका नगरबासीहरु चक्रपथको योजना सम्पन्न हुनेमा अझै बिश्वस्त हुन सकेका छैनन् । चक्रपथ निर्माण अलपत्र पर्नुको मुख्य कारण कार्यकारी अधिकृतको सरुवा नै रहेकाले स्थानीय निर्वाचन नहुँदासम्म चक्रपथ निर्माण योजना सम्पन्न नहुने पातुखोला पश्चिम सरोकार मञ्चका अध्यक्ष केशव सापकोटाले जानकारी दिनुभयो । स्थानीय निर्वाचन नहुँदासम्म ठूला योजना सम्पन्न नहुने दावी गर्दै सापकोटाले स्थानीय निर्वाचनपछि आउने जनप्रतिनिधिले मात्रै चक्रपथको योजना सम्पन्न गर्ने बताउनुभयो ।

भित्री चक्रपथपछि मात्रै बाहिरी चक्रपथ
जनप्रतिनिधिको अभावमा नगरको विकासमा साझेदारी गर्दै आएको तुलसीपुर उद्योग वाणिज्य संघले बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै भित्री र बाहिरी गरी दुई किसिमका चक्रपथ निर्माण गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । साविक तुलसीपुर नगरपालिकाका वडाहरुलाई छुने गरी भित्री चक्रपथ निर्माण गर्नुपर्ने भन्दै संघका अध्यक्ष विमल रिजालले उद्योग कलकारखानाहरुलाई भित्री चक्रपथ बाहिर स्थानान्तरण गर्ने योजना अगाडि सारेको जानकारी दिनुभयो ।

तुलसीपुरलाई ५ नम्वर र ६ नम्वर प्रदेशको व्यापारिक ‘ट्राञ्जिट पोइन्ट’ बनाउने योजना अगाडि सारिएको भन्दै अध्यक्ष रिजालले तुलसीपुरको नगरको बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । तुलसीपुर नगरको बिस्तारित क्षेत्रलाई समेटेर नेपालकै सबैभन्दा लामो चक्रपथ बनाउने दीर्घकालिन योजना अगाडि बढाउन नगरपालिकाद्वारा गठित चक्रपथ व्यवस्थापन समितिलाई सुझाव दिएको अध्यक्ष रिजालको भनाइ छ ।

अदालती आदेशपछि घोराही चक्रपथ अपलत्र
यता नेपालकै सबैभन्दा लामो चक्रपथ बनाउने महत्वाकांक्षासहित निर्माण थालिएको घोराही चक्रपथ निर्माण नहुने लगभग पक्काजस्तै भएको छ । चक्रपथको ट्रयाक खोल्ने काम रोक्न परेको रिटमा पुनरावेदन अदालत तुलसीपुरले स्थानीयको सहमति बिपरित नजान भन्दै आदेश जारी गरेपछि निर्माण सुरु भएको २ वर्षमै चक्रपथ निर्माण योजना अलपत्र परेको थियो । १० अर्ब बढिको लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरु गरिएको योजनामा करीव ५० लाख खर्च भएको र अदालती आदेशपछि उक्त कार्यमा खासै प्रगति नभएको नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन